|

दार्चुला : नेपालको उत्तरपश्चिमी त्रिदेशी सीमा क्षेत्र विभिन्न कारणले पटक पटक चर्चामा आउने गर्दछ। बिवादित लिपुलेक क्षेत्र, कालापानीमा राखिएको भारतीय सैनिक, उत्तरी त्रिदेशीय सीमा क्षेत्र सुरक्षाविहीन हुने मात्रै नभएर गत वर्ष भारतले एकतर्फी रुपमा महाकाली नदीमाथि पुल निर्माण गरेर राष्ट्रिय चर्चामा आएको यो क्षेत्रमा अहिले पनि भारतको स्वार्थमा उपयोग भइरहेको छ।

नेपाल सरकारको स्वीकृत लिएर यो क्षेत्रमा महाकाली नदीमाथि दुई ठाउँमा काठे पुल निर्माण गरेको भारतले व्याँस गाउँपालिका २ को तम्बाकुदेखि थिंभिरको फेदसम्म करिब अढाई किलोमिटर बाटो बनाउँदै छ। आवत-जावतलाई सहज पार्न नेपालहरुलाई समेत सहज हुने भन्दै यो क्षेत्रमा नेपाल सरकारले गत वर्षदेखि नै भारतलाई उक्त क्षेत्रमा दुई ठाउँमा अस्थायी पुल निर्माण गर्ने अनुमति दिएको थियो। दुई ठाउँमा पुल निर्माण गर्ने अनुमति पाएको भारतले दोपाखे क्षेत्रमा पनि पुल निर्माण गरेको छ भने तम्बाकुदेखि थिंभिरको फेदसम्म घोरेटो बाटो निर्माण गर्न लागेको छ। 

यो क्षेत्रमा बाटो निर्माण गर्न भने भारतीय पक्षले नेपाली पक्षसँग अनुमति नलिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभएको छ। भारतले उक्त क्षेत्रमा आवागन गर्न नै पुलको अनुमति मागेकोले बाटो निर्माण गरी आवागन गर्ने कार्यलाई अन्यथा लिनु नपर्ने प्रजिअ आचार्यको भनाई छ। भारतले तीन ठाउँमा पुल र अढाई किलोमिटर घोरोटो बाटो निर्माण गर्दा पनि नेपाली अधिकारीहरू उक्त क्षेत्रसम्म नपुगेको स्थानीय नरेशसिह धामीले बताए। ‘दुम्लिङ प्रहरी चौकीबाट तिहारभन्दा अगाडि एक पटक प्रहरी पुगेका थिए। त्यो बाहेक यो कुनै पनि नेता, कर्मचारी आएका छैनन्’ उनले भने।

उक्त क्षेत्रमा भारततिर घटियाबगर–लखनपुर–लिपुलेक सडक निर्माण कार्य तिब्रताका साथ सञ्चालन भई रहेकोले भारतीय सेना र भारतको उत्तरी क्षेत्रमा रहेका बस्तिसम्म खद्यान्न लगायत अन्य सामग्रीहरु ढुवानी गर्न नेपाली बाटो प्रयोग गरिएको भारतीय लोक निर्माण विभाग पिथौरागढको काम सञ्चालनका लागि उक्त क्षेत्रमा खटिएका निर्माण व्यवसायीका प्रतिनिधि साजन बिष्टले बताए। पुल र बाटो निर्माणको सम्पूर्ण खर्च भारत सरकारले व्यहोरेको बताउँदै भारतीय निर्माण कम्पनीका प्रतिनिधि बिष्ट भारतीय क्षेत्रमा सडक निर्माण सम्पन्न नभएसम्म नेपालको बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहिरहने बताउँछन्।

सयौंलाई रोजगारी दिदैं भारत

उक्त क्षेत्रमा पुल, बाटो, सडक निर्माण गर्न मात्रै होइन, तम्बाकुदेखि थिंभिरको फेदसम्म समान ढुवानी गर्ने कामदारका रुपमा अधिकांश नेपालीहरु नै भेटिन्छन्।
काम खोज्नका लागि बाहिर जानु पर्ने बाध्यता हटेको छ, भारतीय क्षेत्रमा सडक निर्माणको काम रहेसम्म रोजगारी पाइने व्याँस गाउँपालिका ४ सुन्सेराबाट उक्त क्षेत्रमा समान ढुवानी गर्ने कामका लागि पुगेका ३० वर्षीय जनकसिह कुँवरले बताए।

नेपालमा तिन सरकार रहेको जानकारी राख्ने जनक कुनै पनि सरकारले यो क्षेत्रको बाटो निर्माणमा ध्यान नदिएको बताउँछन्। नेपालै नेपाल बाटो बनाउन सकिए अझ बढी रोजगारीको अवसर पाइने बताउने जनक भन्छन् ‘भारतले नै पुल बनाउँछ, भारतले नै बाटो बनाउँछ, नेपाल सरकारले केही गरेको छैन।’ तम्बाकु क्षेत्रमा राखिएको पुल नजिकै ठूला ठूला ढुंगाहरू पल्टाएर पर्खाल लगाउँदै गरेका व्याँस गाउँपालिका ५ स्याँकुका जमन धामी भन्छन् ‘नेपाल सरकारले यो क्षेत्रमा काम गर्दैन भारत सरकारले नै हो गर्ने।’ 

कार्तिक सुरुदेखि नै तम्बाकु थिंसम्मको बाटो निर्माण कार्य थालनी गरेको भारतले बाटो निर्माण गर्न २०० जनासम्म नेपालीलाई कामदारका रुपमा प्रयोग गरेको र अहिलेसम्म सात-आठ जनाले दैनिक निर्माण कार्य गरिरहेको अर्का कामदार नरेशसिह धामीले बताए। कामका लागि बाहिर जानु पर्ने बाध्यता टुटेको छ, दैनिक साढे ४०० देखि ५०० भारतीय रुपैयाँमा काम गरिरहेको उनीहरू बताउँछन्। कामदारलाई दैनिक ५०० भारतीय रुपैयाँसम्म ज्याला दिने गरेको भारतीय निर्माण कम्पनीका प्रतिनिधि साजन बिष्ट पनि बताउँछन्।

यो क्षेत्रमा करिब साढे २ किलोमिटरको दूरीसम्म समान बोक्न प्रतिकिलो १० देखि १२ भारतीय रुपैयाँ पाइने भारी बोक्ने काम गर्दै गरेका जनकसिह कुँवरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.