बहाना घुम्ने, काम धर्म परिवर्तन

|

काठमाडौं : घुम्ने बहानामा नेपाल आएर धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १६३ विदेशी नागरकि देश निकालामा परेका छन्। चार महिनाको अवधिमा मात्र यति धेरै संख्यामा विदेशी नागरिक देश निकालामा परेका हुन्।

राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार पर्यटक भिसामा नेपाल आएर धर्म प्रचारदेखि अवैध व्यपारसम्ममा संलग्नलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको छ। विभागले यस्तो धन्दा सञ्चालन गर्नेविरुद्ध ‘सर्च’ अभियान थालेपछि यो संख्या बढेको हो। 

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित 'धर्म परिवर्तन गराउने देश निकाला' शीर्षककाे समाचारमा भिसा दुरूपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई हालै  गृह मन्त्रालयले पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निष्कासन गरेको छ। मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाइ धर्म परिवर्तन गराउँदै आएका थिए।

गृहसचिव प्रेमकुमार राईको सचिवस्तरीय निर्णयबाट धर्म परिवर्तन गराउन संलग्न ती जापानीलाई बिहीबार निस्कासन गरिएको हो। उनीहरू पर्यटक भिसामा बस्दै आएका थिए। उनीहरूको भिसाको बाँकी अवधि रद्द गरिएको छ। अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले धर्म प्रचारमा संलग्न दुई जापानीलाई निस्कासन गर्ने निर्णय भएको बताए। उनले भने, ‘दुवैले जापान फर्कने टिकट पेश गरिसकेका छन्। तिनलाई तत्काल जापान फिर्ता गर्छौं।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.