|

पर्वत : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ एक्लेभट्टीमा तीन वर्षदेखि निर्माणाधीन एक्लेभट्टी–पाक्लिङ मोटरेबल पुल अलपत्र परेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा दबाब दिएका छन्। 

जेलिङ्गर कल्सन्टेन्सी कम्पनी मार्फत एलिट शंङ्करमाली जोईन भेन्चर काठमाडौंले २०७२ सालमा पुल निर्माणको लागि सम्झौता गरेको थियो। तर भूकम्पका कारण पुल निर्माण गर्न नसकिएको भन्दै काम रोकिएकोमा २०७३ वैशाख ३१ गते दोस्रो सम्झौता भएको थियो। दोस्रो पटक सम्झौता भएको २८ महिना पुग्दा पनि पुल निर्माणमा प्रगति नभएपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का स्थानीयले प्रमुख जिल्ला अधिकारीसमक्ष कि त पुलको काम हुनुपर्ने कि त ठेक्का लिएको कम्पनीलाई कारबाही गर्न माग गरेका छन्। ठूलो संख्यामा प्रशासन कार्यालयमा पुगेका स्थानीयले प्रजिअ गंगाबहादुर क्षेत्रीलाई भेटेर पुल निर्माणको काम सुचारु पनि नहुने र ठेकेदारलाई कारबाही पनि नगरिए सडक बन्द गरिदिने चेतावनी दिएका छन्।

पुल निर्माण कार्य सुरु भएपछि मुस्ताङमा चार जना प्रजिअ फेरिँदा समेत कसैले पनि पुलमा चासो नदिएका कारण पहिलो चरणमा प्रशासनमा दबाब दिएको र अब पनि नभए सडक नै बन्द गरिने वडाध्यक्ष राप्के गुरुङले बताए। ‘हामीले सिडिओलाई ज्ञापनपत्र पनि बुझाएका छौँ, निर्माण कम्पनीले पुल निर्माणमा बहाना गरिरहेको छ। छिट्टै काम सुरु नगरे जनता सबै उत्रिएर सडकनै ठप्प पार्ने हाम्रो योजना छ’, गुरुङले भने। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पाक्लिङ, फल्याक, धाकार्जुङ, शान्तालगायत छिमेकी जिल्ला डोल्पा जोड्ने महत्त्वपूर्ण स्थानको मोटरेबल पुल भएकाले यसलाई गम्भीर रूपमा लिन समेत उनीहरूले प्रशासनसमक्ष माग गरेका छन्।

प्रजिअ क्षेत्रीले जवाफदेही हुने निकायको अन्योलताले विकासका कार्यक्रमले गति लिन नसकेको प्रतिक्रिया दिएका छन्। उनले जनताले उठाएका समस्या यथार्थ भएको बताउँदै पुल निर्माणको लागि आफू संवेदनशील भएर लाग्ने प्रतिबद्धता जनाएका छन्। निर्माण कम्पनीका प्रतिनिधि सन्तोष थकालीले पुलको काममा विभिन्न प्राविधिक समस्या आएकाले काम स्थगन भएको बताए। उनले पुलको सर्भे नै गलत भएको र अवैज्ञानिक ढङ्गले पुलको सर्वे भएको दाबी पनि गरे।

चार ओटा पिल्लर निर्माण हुनुपर्नेमा अहिलेसम्मे तीनवटा पिल्लरको आधा भाग मात्र बनाइएको छ। अठार महिनामा सक्नुपर्ने काम सम्झौता अवधि सकिएको दोब्बर समय बितिसक्दा पनि काम भने २५ प्रतिशत मात्र पूरा भएको छ। १२० मिटर लामो पुल निर्माणको लागि साविकको जिल्ला विकास समितिसँग एक करोड ७५लाख ६७ हजारमा ठेक्का सम्झौता थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.