|

शिक्षा व्यापारिक भयो, सानै उमेरमा भौतिकताको दौड सिकायो, नैतिकताबाट टाढै राख्यो, जीवन सिकाएन भन्ने गुनासो सुनिन्छ। प्रविधिका कारण विश्वमा अनेक किसिमका चामत्कारिक उपलब्धि हासिल भएको देखिए पनि शिक्षाको गुणस्तरमा ह्रास आइरहेको छ। वैज्ञानिक, चिकित्सक, अभियन्ता (इन्जिनियर), विमानचालक, आदिको संख्या बढ्नुलाई अध्येताहरू शिक्षामा प्रगति भएको मान्लान् तर उनीहरूमा मानवीय मूल्य–मान्यतामा ह्रास आउँदै गरेको पक्षलाई कसरी लिने?

एउटा चिकित्सक सरकारी अस्पतालका बिरामीलाई अछूतको व्यवहार गर्दै अधिकांश समय क्लिनिक धाउँछ। सामान्य उपचार गरेर निको हुने रोगलाई शल्यक्रिया गर्न लगाएर बिरामीलाई ‘मुर्गा’ बनाउँछ। इन्जिनियर आफ्नो सानो स्वार्थका लागि मुलुकको करोडौँ रुपैयाँ डुबाइदिन्छ। आफूलाई सुरक्षाको अनुभूति दिन बसेका सुरक्षाकर्मी र न्याय दिनुपर्ने न्यायकर्मीबाट डराउनुपर्ने स्थिति आउँछ। शिक्षक विद्यालयको नतिजा ध्वस्त पारेर राजनीतिक दलका नेताकहाँ चाकडी गर्न जान्छ। उमेर र हैसियत भुलेर छोरीसमान विद्यार्थीप्रति कुदृष्टि राख्छ।

विद्यार्थीहरूलाई शिक्षा र संस्कार दिने सद्गुण विकसित गराउने जिम्मा लिएका शिक्षक, प्राध्यापकहरू अनियमितता, भ्रष्टाचार र अनैतिकताको जालोमा जेलिएका समाचार अचेल नौला लाग्न छोडिसके। पढाइमा अब्बल बन्दै प्रशासनमा पुगेकाहरू भ्रष्ट भएको खबरले पत्रपत्रिका रंगिएका हुन्छन्। व्यापारी–व्यवसायी 'फोर्ब्स'मा नाम लेखाउने दौडमा छन्। पैसा कमाउन पनि न्युनतम आचारसंहिता पालना गर्नुपर्छ, सर्वसाधारण र सरकारलाई गुमराहमा पार्नुहुन्न भन्ने सायद उनीहरूको ‘शास्त्र’ले सिकाउँदैन।

 चिकित्सक सरकारी अस्पतालका बिरामीलाई अछूतको व्यवहार गर्दै अधिकांश समय क्लिनिक धाउँछ। सामान्य उपचार गरेर निको हुने रोगलाई शल्यक्रिया गर्न लगाएर बिरामीलाई ‘मुर्गा’ बनाउँछ। सुरक्षाको अनुभूति दिन बसेका सुरक्षाकर्मी र न्याय दिनुपर्ने न्यायकर्मीबाट डराउनुपर्ने स्थिति आउँछ। शिक्षक विद्यालयको नतिजा ध्वस्त पारेर राजनीतिक दलका नेताकहाँ चाकडी गर्न जान्छ। 

शिक्षाबाट नैतिकतालगायतको मानवीय पक्ष हराउँदै गएको छ भन्नका लागि। अहिलेको शिक्षाले ठूलालाई कस्तो व्यवहार गर्ने सानालाई कस्तो भन्ने सिकाउँदैन। जन्म दिने आमाबाबुप्रति गर्नुपर्ने कर्तव्यको बोध गराउँदैन। वर्षाैं पढाएको गुरुलाई चेलाले सम्मान गर्न आवश्यक ठान्दैन। आफू वा आफ्ना नातागोता (मनपरेका) बाहेक व्यक्तिलाई मान्छे नै नगन्ने वा उनीहरूको अस्तित्व नै स्वीकार गर्नै चाहँदैन। समाज वा देशका लागि कर्तव्यबोध त अचेलको शिक्षाले क गराओस्।

अचेल देश कति विकसित छ भन्ने देखाउन साक्षरता प्रतिशत पनि महत्त्वपूर्ण मानिन्छ। नेपालका कतिपय जिल्ला, नगरपालिका गाविसलाई पूर्ण साक्षरता घोषणा गर्ने लहर चलेको छ। साक्षरता अर्थात् शिक्षितहरूको संख्या बढ्दै गर्दा मानिसमा नैतिकताजस्ता सद्गुण विकास हुनुपर्ने हो। फलस्वरूप विश्वमा क्रमशः शान्तिको बाटोतर्फ अघि बढ्नुपर्ने हो तर किन दिन प्रतिदिन मानिस मानिसबीच मनमुटाव बढ्दो छ ? प्रश्न जटिल छ।     

आफूबाहेकका मानिसलाई कसरी पछाडि पार्ने केही सीप नलागे कुन उपायले पछार्ने, कसरी बढीभन्दा रुपैयाँ कमाउने र भौतिक सुखसुविधा प्राप्त गर्ने ? साँच्चै अचेलको शिक्षाको लक्ष्य यही हो भन्दा फरक पर्दैन। ‘करिअर’। ‘फ्युचर’। ‘सर्भाइभ’। यी शब्द अचेल माध्यमिक तह पढ्ने उमेर भएदेखि दिमागमा एकोहोरो भरिएको हुन्छ। 

भविष्यको चिन्ता गर्नु त नराम्रो होइन तर कुन तहसम्मको भन्ने कुरा महत्त्वपूर्ण हो। 'सर्भाइभ' अर्थात् बाँच्नु, टिक्नु। बाँच्नका लागि संघर्ष त ब्रह्माण्डका हरेक प्राणीका लागि आवश्यक हुन्छ। कुकुर र कागजस्ता जीवजन्तु अरुले दिएको जुठो खाएर पनि बाँचिरहेकै हुन्छन्। तर ईश्वरको सर्वोत्कृष्ट सृष्टि हामी मानिस बाँच्नुमात्र ठूलो कुरा हो र ! ऐश आरामको जीन्दगी बिताउनुमात्र मानिसका लागि उपलब्धि हो र !

सनातन धर्म भन्छ, मानिसको जन्मसँगै उलाई विभिन्न ऋण लागेको हुन्छ, जस्तै, पितृऋण, देवऋण, ऋषिऋण आदि। मातापिताप्रति गर्नु कर्तव्यको पालना गरेर पितृऋणबाट मुक्त हुन सकिन्छ। आफ्नो धर्मअनुसारको कर्म गरेर देवऋणबाट र विद्याआर्जन गरेर ऋषिऋणबाट मुक्ति पाउन सकिनछ। विद्याआर्जन जसबाट आफ्नो पनि मुक्ति होस् जसले समाज राष्ट्र वा विश्वको भलाइ गरोस् त्यसबाट मात्र ऋषिऋण पूरा हुने हो। हाम्रा ऋषिमुनिहरूले सामान्यकोटीको जीवनयापन गरेर शासकदेखि नागरिकसम्मका सन्तानलाई शिक्षा दिए। तपस्याको माध्यमबाट प्राप्त ज्ञानलाई विश्वलाई बाँडे। हामीले सत्कर्म गरेर आफूलाई मुक्त पार्नुपर्दैन अथवा अरुका लागि पनि केही दिएर जानुपदैन ?

जीवन जिउने सन्दर्भमा अचेल ‘देशमा भविष्य छैन। यहाँ बस्यो भने आफूले त दुःख पाइन्छ, सन्तान दरसन्तानले पनि कष्ट पाउँछन्’ भनेर विदेशको दास बन्न जाने चलन केही दशकयता बढेको छ। देशको माटोमा परिश्रम गर्न घिन वा लाज मान्नेहरू विदेशमा जस्तासुकै काम गर्न तत्पर भएको देखिन्छ। किनकि त्यहाँ कमाएको रुपैयाँ यहाँ ल्याउँदा कैयौं गुना बढी हुन्छ। आफूसहित सन्तानले सुखसुविधा भोग्न पाउँछन्। सुखसुविधाको कामनामा मातृभूमिलाई लत्याएर विदेशी नागरिक बन्नेहरू पनि कम छैनन्। सामाजिक सञ्जालमा जति गोहीको आँसु बगाएर बाध्यताको प्रष्टीकरण दिए पनि त्यसको के अर्थ रहन्छ र ! जसले परेको बेलामा आफूलाई परिवार, समाज वा देशलाई दिन सक्दैन भन्ने त्यसलाई कसरी शिक्षा भन्ने र त्यस्तो शिक्षा लिएकालाई कसरी शिक्षित भन्ने? 

पश्चिमाको निर्देशनानुसार नेपालमा नीति बन्दै आएका कारण पनि हाम्रो शिक्षाप्रणालीमा भएका मानवीय पक्षहरू हराएका हुन्। यसको सुरुआत तत्कालीन प्रधानमन्त्री युरोप भ्रमण गरेलगत्तै सुरु भएको हो। उनी बेलायत भ्रमण गरेर फर्केलगत्तै अंग्रजी शिक्षाको जग बसाइयो। जीवनपयोगी शिक्षा पढ्ने–पढाउने क्रम छायामा पर्न थाल्योे। २०११ सालमा संस्कृत शिक्षाको जग उखेल्न सुरु गरियो। यसलाई २८ सालको नयाँ शिक्षा योजनाले मलजल गर्‍यो। २०४६ सालपछि द्वन्द्वकालमा आएर माओवादीले पढ्न नदिएको बहानामा संस्कृत शिक्षालाई निर्मूल बनाइयो। हाल केही संस्कृत विद्यालय र विद्याश्रममा संस्कृत पढाइ हुन्छ। यस्तै व्यक्तिगत रूपमा खोलिएका गुरुकुलहरूले पनि संस्कृत पढाए पनि निश्चित व्यक्तिको अनुयायी बनाउने लक्ष्य देखिन्छ।

अहिले शासकहरूले संस्कृत शिक्षलाई पूजाकोठाको भाषा बनाएका छन्। संस्कृत भाषा कर्मकाण्डको मात्र भाषा हो, यो सीमित जातिले बाहेक अरुले पढ्नु हुँदैन भन्ने भ्रम फैलाइको छ। पाठ्यक्रम पनि सोहीअनुसारको बनाइएकाले पढ्नेले संस्कृतबाट लिन सक्ने फाइदा लिन सकेका छैनन्। संस्कृतका सर्वोपयोगी ज्ञानलाई मातृभाषामा अनुवाद गरी शिक्षा दिइएको भए पनि सबैले यसको मर्म ग्रहण गर्न सक्थे।

सनातन शिक्षाअन्तर्गत व्यक्तिको तहअनुसारको शिक्षा दिइन्थ्यो। जुन विधाको शिक्षा लिएपनि आफ्नो कर्तव्यबाट च्यूत नहुने शिक्षा पाउँथे। पितृदेवो भव, मातृदेवो भव, गुरुदेवो भव जस्ता वचनलाई जुनसुकै हालतमा पालना गर्थे। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी जस्ता भनाइले आमा र जन्मभूमिप्रति गर्नुपर्ने कर्तव्यको बोध गराउँथ्यो। वसुधैव कुटुम्बकम् अर्थात् विश्वका सबै प्राणी तिम्रा आफन्त हुन् तिनलाई यथायोग्य व्यवहार गर। अहिले लगाइने ‘ग्लोबलाइजेसन’ अर्थात् विश्वव्यापीकरणको रट हजारौं वर्षअघि समातन शिक्षाले बताइसकेको थियो। बरु आजको 'ग्लोबलाइजेसन'मा पश्चिमाहरूको एक भाषा एक संस्कृति लादेर उपभोगमुखी बनाउने षड्यन्त्र जोडिएको छ। 

आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् अर्थात् आफूलाई जुन कुराले पीडा हुन्छ, त्यो अरुलाई पनि नगर। परिवार, समाज, देश वा विश्व नै अशान्त भयो भन्ने सबैको चिन्ता छ बितेका केही दशकयता। जब मानिसलाई अरुलाई हुने पीडा अनुभूत गर्न सक्दैन कसरी आउँछ शान्ति ? सनातन शास्त्रीय शिक्षाको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, धर्मपालन अर्थात् कर्तव्यको पालन। आगोको धर्म डढाउनु वा पोल्नु नै हो। मानिस वा अरु प्राणीका लागि अप्रिय नै भएपनि आगोले जुनसुकै पदार्थलाई पोल्ने वा ढडाउनै पर्छ त्यसो गरेन भने धर्मनिर्वाह हुँदैन।

मानिस जवानी छउञ्जेल दुःख गर्छ। गर्न हुने नहुने काम गर्छ। खान हुने नहुने सबै खान्छ। जब जीवनको उत्तरार्ध हुन्छ। त्यतिबेला विभिन्न रोगले समात्छ। रुपैयाँ पैसा भएर पनि भनेजस्तो जीवनयापन गर्न सकिँदैन। छोराछोरीले उचित संस्कार सिकेका हुँदैनन्। उनीहरूबाट राम्रो आस गर्नु व्यर्थ हुन्छ।

सनातन शिक्षाप्रणालीमा शासकदेखि नागरिकसम्मका बालक निश्चित संस्कार पूरा गरी गुरुको आश्रममा गएर पढ्ने चलन थियो। राजाको छोरा नै भएपनि गुरुकुलमा रहेर गुरुको सेवा गरी पढ्नुपथ्र्यो। भगवान् विष्णुका सातौ अवतार मानिएका भगवान् राम र आठौँ अवतार कृष्ण पनि गुरुकुलमै गएर शिक्षाआर्जन गरेको। यस्तै महाभारतमा पाण्डव र कौरव कुमारहरू पनि गुरुकै आश्रममा बसेर पढेका थिए। वर्णाश्रम धर्म र कुलपरम्पराअनुसार निश्चित विद्या पढ्ने अधिकार कुमारहरूलाई हुन्थ्यो। शाखाअनुसारको वेदअध्ययन, जीवनोपयोगी सीप सिकी विशेषगरी नीति व्यावहारिक पक्षको पूर्ण ज्ञान लिई दीक्षान्त गरी गृहस्थाश्रममा फर्किने विधि थियो। 

हाम्रो समाजमा हिन्दू धर्मले मानिस मानिसबीच भेद गर्यो भन्ने भनाइ छ। सनातन शिक्षामा त अन्य प्राणीलाई पनि विनाकारण दुःख दिन नहुने उल्लेख छ। अचेल गाई पाल्नेहरूले बाछालाई जन्मनेबित्तिकै फ्याँक्ने गर्छन्। बाछो राखे माउको दूध दिनुपर्यो। बाछी भए काम लाग्छ भन्दै राखेकाले पनि दुधे बालखलाई आमाबाट छुटाएर निकृष्टताको प्रदर्शन गर्छन्, आफ्नो फाइदाका लागि। हो, मानिसले गाइको हेरविचार घाँसपानी गरेको छ उसको हक लाग्छ तर दुधे बालखको भाग नै काटेर पानी मिसाएर बेच्नु कत्तिको न्यायोचित हो। यस्ता शिक्षा कसले सुन्छ ? पैसा कमाउनु छ। छिमेकीको भन्दा उच्चशैलीको जीवनयापन गर्नुछ। केटाकेटीलाई विदेशमा वा नभए यहीँको महँगो स्कुल कलेजमा पढाउनु छ। 

मानिस जवानी छउञ्जेल दुःख गर्छ। गर्न हुने नहुने काम गर्छ। खान हुने नहुने सबै खान्छ। जब जीवनको उत्तरार्ध हुन्छ। त्यतिबेला विभिन्न रोगले समात्छ रुपैयाँ पैसा भएर पनि भनेजस्तो जीवनयापन गर्न सकिँदैन। छोराछोरीले उचित संस्कार सिकेका हुँदैनन्। उनीहरूबाट राम्रो आश गर्नु व्यर्थ हुन्छ। त्यसैले पनि शिक्षाको आवश्यकता अहिलेको पुस्तालाई नीतिपूर्ण शिक्षाको खाँचो छ। जसले मानिसलाई यन्त्र नभई मानिस नै बनाओस्। जीवन सिकाओस्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.