|

हेटौँडा : प्रदेश ३ सरकारले दुईवटा महत्वपूर्ण शान्ति पार्क निर्माण गर्ने योजनाअनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकामा मजदुर शहीद स्मृति पार्क र मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रुद्र स्मृति पार्कको निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ।

शुक्रबार आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको छलफलमा सम्भाव्यता अध्ययन गरेर चालु आर्थिक वर्षबाट नै निर्माण अगाडि बढाइने जानकारी गराइएको थियो। अहिले पार्क निर्माण क्षेत्रमा गाउँपालिकाहरूको सीमित रकमबाट कार्यसमेत भइरहेको छ। दुईवटा पार्क निर्माणका लागि एक/एक करोड बजेटसमेत विनियोजन भइसकेको छ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले पार्क निर्माण गर्दा रोजगारी, आर्थिक गतिविधि, क्षेत्रगत विकास पनि प्रभाव पार्नुपर्ने बताएका थिए। यस्ता बृहत योजना सञ्चालन गर्दा क्रमागत योजना बनाउनुपर्ने उनको भनाइ छ। पार्कहरू बनाउँदा आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षण गर्ने वातावरण सिर्जना गनुपर्नेमा उननले जोड दिए। ‘पार्क निर्माण गर्न जति सजिलो छ त्यसलाई व्यवस्थापन तथा संरक्षण गर्न धेरै अप्ठ्यारो पनि रहेको छ’ उनले भने।

त्यस्तै कार्यक्रमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले विगतको महत्पूर्ण व्यक्तिहरूसँग गाँसिएको पार्क निर्माण गर्न प्रदेश सरकार अग्रसर भएको बताए। यी पार्कहरूको निर्माणमा प्रदेश सरकारले प्रमुख भूमिका निर्वाह गर्ने पनि जानकारी गराए।

धादिङमा निर्माण गरिने पार्कको अनुमानित लागत करिब १० करोड लागतमा चेपाङ संग्रालय, तालिम हल, भ्यूप्वाइन्ट, पिकनिक स्पोट, गेस्ट हाउस, वाकिङ स्ट्रिटलगायतका संरचना निर्माण गर्ने योजना रहेको छ। त्यसैगरी मकवानपुरमा निर्माण हुने पार्कको करिब साढे ६ करोडलागत रहेको छ। पार्कहरूमा पिकनिक स्पोट, बाल उद्यान, गोल घर, मन्दिर, व्यवसायिक सटर, स्विमिङ पुल, मैत्री बगैँचा, भ्यूप्वाइन्टलगायतका संरचना निर्माण हुने गाउँपालिकाले जानकारी दिएको छ।

कार्यक्रममा प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाल, प्रदेश सांसद कुमारी मोक्तान, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश शिवाकोटी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरू भीम परियार, हर्षबहादुर थापालगायत सहभागि थिए। कार्यक्रममा गाउँपालिकाका इन्जिनियरहरूले पार्कको बारेमा प्रस्तुतिकरणसमेत दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.