|

जाजरकोट : नलगाड नगरपालिका ९ का रविन्द्र सिंह दुई वर्षपहिले एक पोटी लसुन किन्न रुकुमको राडी बजारमा पुग्ने गरेको सुनाउँछन्। खच्च्डमा लुसन र अन्य सामग्री लिएर त्रात्रगाउँमा पुगेको कथा उनीसँग छ। त्यस्तै भिरालो जमिन, सिँचाइको सुविधा नभएकोले आफ्नो जमिनमा केही उत्पादन नहुँने तर अरूले उपादन गरेको वस्तु मात्र किन्दा पैसा त्यसैमा सकिने गरेको अर्का त्रात्रका किसान तपबहादुर सिंहको भनाइ छ।

उत्पादनका लागि प्रयाप्त जमिन हुँदाहुँदै पनि अर्काको भर पर्नुपर्ने रहर नभई त्रात्र, घरंगा, रग्दा, दारिमपाटा, रोली लगायतका ठाउँका किसानको बाध्यता दुई वर्षसम्म रहेको किसान प्रेमबहादुर सिंहले बताए। दुई वर्षपछि अहिले यहाँका किसानहरु आफैँ लसुनखेती मात्र गरेका छैनन्, बिउसमेत बाहिर जिल्लाका स्थानीयलाई बिक्री गर्ने हैसियत राख्ने गरेका छन्। स्थानीय खोलाहरुबाट पाइपमा पानी ल्याई सिँचाइ सुविधा उपलव्ध भएपछि यहाँका ३ सय भन्दा बढी किसानहरू अहिले लसुनको व्यावसायिक खेतीतर्फ लम्किएका छन्।

अघिल्लो वर्ष एक करोड बराबरको लसुनको व्यापार भएको र अहिले त्योभन्दा बढी लसुनको बिउ नै उत्पादन हुने किसान नवीन रावतले बताए। मिहिनेत गरेमा बाँझो जमिनमा हिरा फलाउन सकिन्छ भन्ने उखान त सुनेको थिएँ, तर आफ्नै जीवनमा कृषि पेसाबाट यति राम्रो कमाइ हुन्छ भन्ने आफैँ उदाहरण भएको रावतको भनाइ छ। अहिले नलगाड नगरपालिका भित्रका वडा ८, ९ र १० लाई लसुनको पकेट क्षेत्र घोषणा गरी काम भइरहेको छ। अघिल्लो आर्थिक वर्षमा ९ लाख रुपैयाँ अनुदानस्वारूप यहाँका किसाननलाई नगरपालिकाले सहयोग गरेको थियो भने अहिले फेरि ३० लाख बराबरको रकम सहयोग गर्न लागेको नगरप्रमुख टेकबहादुर रावलले बताए।

 किसानको जीवनस्तर बदल्न नगरपालिकाले विभिन्न कृषिजन्य वस्तुको उत्पादन क्षेत्र हेरिरहेकोले, सम्भावित क्षेत्रमा लगानी गरिने उनले बताए। अहिले लसुनखेती राम्रो भएसँगै यहाँका किसानले छोरा, छोरीहरू राम्रो विद्यालयमा पढाउन थालेको किसान इश्वरी डिसीले बताए। गहुँ लगाउने किसानहरू अहिले पेसा बदल्दै सबै जग्गामा लसुनखेती गरेका छन्। नगरपालिकाले पनि लसुनखेती भइरहेको क्षेत्रमा पकेटक्षेत्र घोषणा गरी विशेष रूपमा सहयोग गरिरहेको छ। युद्धको वेला सबैभन्दा बढी थिलोथिलो भएको यो साबिकको रग्दा गाविस अहिले लसुन गाउँ भनेर परिचय फेर्न थालेको स्थानीय बुद्धिजीवी नवीन डिसीले बताए।

बिहान, बेलुकाको छाक टार्न सधैँ भारतका कुना कन्दरामा जाने यहाँका किसान अहिले आफ्नै बारीमा लसुन उत्पादन गरी राम्रो आम्दानीको स्रोत जुटाउन सफल भएका छन्। अहिले दुई वर्षका अन्तरालमा यहाँका ५ जनाभन्दा बढी किसानले आफ्नै जिप तथा ट्याक्टर किनेर सेवा प्रवाह गरिरहेका छन्। डोल्पा, रुकुम र सल्यानसम्म यहाँको लसुन पुग्ने गरेको किसानहरुले बताएका छन्। स्थानीय बिउ प्रयोग गरी लसुनखेती गरिरहेको किसान डम्बर रावतले बताए। लसुनका मागसमेत अत्यधिक बढेको उनले बताए। लसुन किन्न घरमा व्यापारीहरू पुग्ने गरेको उनको भनाइ छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.