ऊर्जा, प्राविधिक शिक्षा र व्यापार वाणिज्य क्षेत्रमा सहकार्य गर्ने सहमति

|

पोखरा : गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच मितेरी साइनो कायम भएको छ। शुक्रबार गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एक कार्यक्रम गरी गण्डकी र हाइनानका प्रतिनिधिबीच सातबुँदे समझदारी गर्दै मितेरी साइनो गाँसिएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

गण्डकी सरकारका तर्फबाट सामाजिक विकास मन्त्री र चीनको हाइनान प्रान्तको तर्फबाट छु जुनले हस्ताक्षर गरे। गत असोज ९ गते गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चीन भ्रमण गर्दै चिनियाँ टोलीलाई पोखरामा आउन निम्तो दिएका थिए।

छु जुनकै नेतृत्वमा १५ सदस्यीय चिनियाँहरूको टोली पोखरामा आएको हो। उक्त टोलीमा समावेश ऊर्जा समूह भने शनिबार मुत्तिनाथ जाने र त्यहाँ ऊर्जाको सम्भाब्यता अध्ययन गर्ने मन्त्री बस्नेतले जानकारी दिए। नेपाली, अंग्रेजी र चाइनीज भाषामा तयार पारिएको एमओयू पत्र एक आपसमा साटासाट गरेपछि मितेरी सम्बन्ध कायम भएको हो।

त्यस्तै पाँच वर्षसम्म हरेक वर्ष चारजनाको दरले पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा अध्ययनका लागि गण्डकी प्रदेशबाट हाइनान पठाउने सहमति भएको उनको भनाई छ। प्राविधिक शिक्षा अध्ययनका लागि जाने विद्यार्थी छनोटका लागि भने प्रदेश सरकारले छिटै कार्यविधि बनाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लालमणि ओझाले जानकारी दिए। नेपाल संघीयतामा गएपछि दुई देशका प्रान्तहरूबीच भएको यो पहिलो मितेरी सम्बन्ध हो।

त्यस्तै पोखरा महानगर र हाइनानको हाइकाओ महानगरबीच पनि शुक्रबार नै भगिनी सम्बन्ध गाँसिएको छ। पोखरा महानगरको तर्फबाट उपप्रमुख मञ्जु गुरुङ र हाइकाओका उपप्रमुख फाङजोङ्लीले एक पत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध गाँसेका हुन्। चीनको टोलीले शुक्रबार पोखरामा रहेको शान्ति स्तुपालगायतको ठाउँको अबलोकनसमेत गरेको छ। शुक्रबार राति भने गण्डकी प्रदेश सरकारको तर्फबाट हाइनानको भ्रमण दलका सदस्यहरू बाराही होटलमा नेपाली सांस्कृतिक कार्यक्रम देखाइने कार्यक्रम छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.