|

विश्व विजेता फ्रान्स यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए वान को खेलमा नेदरल्यान्डसँग स्तब्ध भएको छ। नेदरल्यान्डले विश्वकपमा छनोट हुन नसकेको तितो विगत भुलाउँदै विश्व विजेता फ्रान्स विरुद्ध २ गोल गर्‍यो।

युरोपियन फुटबलको प्रशासकीय निकाय यूईएफएले यो वर्षदेखि सुरु गरेको प्रतियोगिता यूईएफए नेसन्स लिगमा फ्रान्स अपराजित रहँदै आएको थियो। हारसँगै उसको १५ खेलको अपराजित यात्रा अन्त्य भएको छ।

घरेलु मैदानमा भएको खेलमा नेदरल्यान्डलाई जिताउन जर्जिनियो वाइनाल्डम र मेम्फिस डिपेयीले गोल गरे। ४४ औँ मिनेटमा वाइनाल्डमले गोल गर्दै पहिलो हाफमा नेदरल्याण्डसलाई १–० को अग्रता दिलाए। खेलको इन्जुरी समयको छैटौँ मिनेटमा डिपेयीले पेनाल्टीमार्फत गोल गरेपछि नेदरल्यान्ड २–० ले विजयी भयो।

जर्मनी रेलिगेशनमा

समूह ए वानमा रहेको जर्मनी भने प्रतियोगिताबाट रेलिगेसनमा परेको छ अर्थात् अब उसले  युईएफए नेसन्स लिग अन्तगर्तको बी क्याटगोरीमा खेल्नु पर्नेछ। यही सोमबार नेदरल्याण्डसले जर्मनीसँग खेल्दैछ। यो खेलमा जर्मनीका लागि प्रतिष्ठा तथा नेदरल्यान्डका लागि समूह विजेता बन्ने मौका हो। फ्रान्स सात अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्यान्डको ६ अंक छ।

यूईएफए नेसन्स लिगअन्तर्गत समूह विजेता बनेका टिम आउँदो वर्ष हुने छनोटमा असफल भएमा सन् २०२० को युरोकप प्लेअफका लागि छनोट हुनेछन्। अरु खेलमा अर्मेनियाले जिब्रालटारलाई ६-२, मेसेडोनियाले लिचेस्टाइनलाई २-०, स्लोभाकियाले युक्रेनलाई ४-१ तथा डेनमार्कले वेल्सलाई २-१ ले हरायो। यस्तै साइप्रस र बुल्गेरिया तथा स्लोभेनिया र नर्वेको १-१ को बराबरी भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.