सल्यान : मादल नेपाली मौलिक वाद्यवादन हो। मादलको तालले नाचुँनाचुँ बनाइदिन्छ। यसको तालले नेपाली गीत संगीतलाई जिवन्त राख्दै आइरहेको छ। मादलविनाको नेपाली गीत÷संगीतमा अँधुरो भएको महसुस हुन्छ।
मादलका धेरै ताल रहे पनि विशेषत झ्याउरे, समला, संगिनी र मारुनी गरी चार धुन बढी प्रयोगमा आउँछन्। तर, पछिल्लो समयमा बाद्यवादनका आधुनिक साधन बढेकाले मादलको प्रयोग बिस्तारै कम हुँदै गइरहेको छ। गाउँघरसम्मै आधुनिक बाजागाजा पुगेकाले मादल बनाउने व्यक्तिहरु पनि हराउँदै गएका छन्।
पुरानो पुस्ताबाट नयाँ पुस्तामा सिप हस्तान्तरण हुन नसक्दा नेपाली मौलिक बाजा मादल बनाउने व्यक्ति र यसको धुन कम सुनिन थालिएको छ। मौलिक संस्कृति र बाजाहरु लोप हुन थालेपछि सल्यानमा मादल, डम्फु, दमाहा आदि बाजाको संरक्षणका लागि उद्योग नै सञ्चालन गरिएको छ।
जिल्लाको श्रीनगरमा रहेको सल्यानी मादल उद्योगले अहिले दैनिक २० वटाभन्दा बढी मादल उत्पादन गरिरहेको छ। एक वर्षअघि स्थापना भएको यस मादल उद्योगले लोप हुँदै गएको मादलको संरक्षणका लागि कोशेढुंगा हुने उद्योग सञ्चालक शंकर नेपालीले बताए। साविकको राप्ती अञ्चलमानै आप्mनो उद्योग पहिलो रहेको बताउँदै उनले मादल बनाउन आवश्यक पर्ने घार, छालालगायतका सामान काठमाडौँबाट ल्याउनुपर्ने बाध्यता रहेको बताए।
यस उद्योगमा नयाँ मादल बनाउन, पुरानो मादलमा गोठी लगाउन र पुराना मादलको मर्मत गर्न चार जना कालीगढ छन्। हरेक दिन एक जनाले पाँचदेखि छ वटासम्म मादल बनाउने गरेको उद्योगमा कार्यरत कालीगढ छविलाल नेपालीले बताए। सल्यानी मादलको माग आँबुखैरेनी, मनकामनालगायतका बाहिरी ठाउँबाट बढी हुने गरेको छ। तर, जनशक्तिको अभाव र थोरै लगानी हुँदा मागअनुसार उत्पादन गर्न कठिन भएको उद्योग संचालक नेपालीको भनाइ छ।
उद्योग सञ्चालनबाट राम्रै आम्दानी भएको सञ्चालक नेपाली बताउँछन्। यसको व्यवसायिक उन्नतिका लागि भने स्थानीय सरकार र कला संस्कृतिको संरक्षणमा जुटेका संघसंस्थाहरुले सहयोग नगरेको सञ्चालकको दुखेसो छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।