|

पर्वत : फलेवास नगरपालिकाका कृषकहरुले आफूहरूले उत्पादन गरेको मकैको बिउको बजार व्यवस्था स्थानीय स्तरमै गरिदिन माग गरेका छन्।

प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना मकै जोनका कृषकहरूले बिउ बाहिरी जिल्लामा पठाउन भन्दा आफ्नै जिल्लामा बिक्री वितरण गर्ने व्यवस्था गर्न सरोकारवालाहरुलाई आग्रह गरेका हुन्।

मकै जोनका कृषकहरुले गत वर्ष बिक्री गरेको मूल्यमा फरक नपर्नेगरी यो पटक पनि मकैको बिउ बिक्री गर्ने व्यवस्था गरिदिन पनि माग गरेको मकैको बिउ उत्पादक धनप्रसाद शर्माले बताए। यस वर्ष २५ मेट्रिकटन बिउ उत्पादन भएको छ। २७ हेक्टर क्षेत्रफलमा मकैको बिउ उत्पादन हुने गरेको छ भने १२५ कृषकहरूले मकै उत्पादन गर्दै आएका छन्। गतवर्ष अरुण जातको मकैको बिउ प्रतिकिलो ६२ रुपैयाँ र मनकामना जातको मकै प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको थियो। 

बजारीकरणका लागि जोन कार्यालयले जुनसुकै दायित्व बहन गर्न पनि तयार रहेको मकै जोन कार्यक्रमका कर्मचारी महेन्द्र कौडालले बताए। फलेवास नगरपालिका ४ मुडिकुवाका वडाध्यक्ष एवं फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेल र फलेवास नगरपालिका ८ का वडाध्यक्ष एवं नगरपालिकाका आर्थिक समितिका संयोजक मनबहादुर कुँवरले नगरपालिकाले कृषिलाई प्राथमिकता दिएको बताए। 

कृषि ज्ञानकेन्द्रका प्रमुख वासुदेव रेग्मीले जिल्लाभित्र उत्पादन भएको मकैको बिउ स्थानीय स्तरमा बिक्री गर्न सके जिल्लाका कृषकहरूले राहत पनि पाउने र उत्पादन पनि बढ्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.