|

जनकपुरधाम : भारतको बिहार राज्यअन्तर्गत जयनगरदेखि जनकपुरधामसम्म अगामी पुसबाट रेल्वे सञ्चालनका लागि नेपाल सरकारले तयारी थालेको छ। भारतीय कम्पनीसँग इन्जिन, डिब्बा (बोगी) र प्राविधिक वेटलिज कम्पनीसँग भाडामा लिएर जयनगर–जनकपुरधाम–कुर्था रेल्वे खण्ड सञ्चालनमा ल्याउने तयारी गरेको हो।

रेल्वे स्टेसन र प्लेटफर्मको निर्माणलाई अन्तिम चरणमा पुगेको र आगामी पुसबाट सञ्चालन गर्ने तयारी थालिएको रेल्वे विभागले जनाएको छ। भारतको निजी कम्पनीसँग इन्जिन र डिब्बा लिएर सञ्चालन गर्न लागिएको नेपालको यो दोस्रो रेल्वे लाइन हो। यसअघि भारतको रक्सौलदेखि वीरगन्जको सिर्सिया बन्दरगाहसम्म वेटलिजमै मालबाहक रेल गुडिरहेको छ।

भारतको कंकर गु्रपको साझेदारीमा नेपालको हिमालय ट्रमिनलले रक्सौलदेखि सिर्सियासम्मको ८ किमी दूरीमा मालबाहक रेल सञ्चालन गरेको १० वर्षभन्दा बढी पुगेको छ। भारत सरकारको लगानीमा जयनगरदेखि कुर्थासम्म ४७ किमीमा रेल्वेको ब्रोडगेज ट्रयाक निर्माण गरेको छ।

भारतमा ब्रिटिस (अंग्रेज) शासनको बेला जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म रेल्वेको न्यारोगेज ट्रयाक निर्माण गरिएको थियो। निरन्तर नोक्सानी र सञ्चालन खर्च बढेपछि नेपाल सरकारले सात वर्षअघि न्यारोगेज रेलको सञ्चालन रोकेको थियो। भारत सरकारले त्यही न्यारोगेज रुटमा ब्रोडगेजको निर्माण गरेको हो।

नेपाल रेल्वेका इन्जिनियर विनोद ओझाका अनुसार वेटलिजमा भारतीय कम्पनीसँत रेलको इन्जिन र डिब्बा लिने सहमति यसै साता हने भएको छ। केही सीमित समयका लागि भारतीय कम्पनीसँत वेटलिजमा इन्जिन, डिब्बा र प्राविधिक सहयोग लिने सम्झौता हुनेछ।

‘केही अवधिका लागि हामीले भारतसँग भाडामा लिएर चलाउँछौं, पछि आफ्नै म्यानपावर तयार पारेर कामलाई अघि बढाउँछौंं,’ उनले भने,  ‘हाम्रा जनशक्ति ट्रेन्ड भएपछि भारतीय कम्पनीको सम्झौता स्वतः टुट्ने गरी सम्झौता हुन्छ।’

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार विभागले भारतीय कम्पनीसँत एक सेट रेल्वे खरिद गर्दा पर्ने रकमको स्टिमेट समेत मागिएको छ। भारतीय कम्पनीले एक सेट रेल्वेको करिब ५० करोड भारतीय रुपैयाँ पर्ने स्टिमेट रेल विभागलाई बुझाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.