|

काठमाडौं : कर्णाली क्षेत्र नेपाली सभ्यता, खस (नेपाली) भाषाको पहिचान बोकेको क्षेत्र हो। त्यो क्षेत्र सांस्कृतिक रूपमा, धार्मिक तथा ‌ऐतिहासिक रूपमा सम्पन्न छ। नेपाली भाषाको विकास भएको क्षेत्र पनि कर्णाली हो।

त्यही कर्णालीको दैलेख जिल्ला धार्मिक, सांस्कृतिक उति नै सम्पन्न छ। त्यही दैलेख जिल्लामा मध्यपश्चिम साहित्य परिषद्को आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको विशेष सहयोगमा दैलेखमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएका छन्। काठमाडौंबाट गएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वउपकुलपति विष्णु विभु घिमिरे, सदस्यसचिव जगतप्रसाद उपाध्याय लगायतको टोलीले दैलेखका विभिन्न पर्यटकीय क्षेत्रहरूको अध्ययन अवलोकन तथा बहस गरेका छन्।

पर्यटकीय सम्भावनाबारे

काठमाडौंबाट कार्तिक २५ गते गएको टोलीले २६ गते दैलेख सदरमुकाम दैलेखमा 'दैलेखको पर्यटकीय संभावना र चुनौती' विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। परिषद्को आयोजना तथा जिल्ला समन्वय समिति दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको सहयोगमा सम्पन्न भएको कार्यक्रमका सहभागीहरूले दैलेखमा रहेको पर्यटकीय सम्भावनाहरूको विकास गरे थुप्रै पर्यटकीय सम्भावनाहरू रहने बताए।

दुल्लु सांस्कृतिक महोत्सव

दैलेख सदरमुकामबाट दुल्लु गएको टोलीले पहिलो दिन दुल्लुमा 'दुल्लु सांस्कृतिक महोत्सव तथा बृहत् वाङ्मय सङ्गोष्ठी' सम्पन्न गरेको छ। मध्यपश्चिम साहित्य परिषद्का अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायको अध्यक्षता एवं प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा दैलेखका मौलिक सांस्कृतिक नृत्य, गीतहरू धमारी, मागल, हुड्के नाच, शरम र ढाल, मारुणी, देउडा, फड्को, भइनी लगायतका गीत/नृत्य प्रस्तुत गरिएको थियो।

नेपाल प्रज्ञा प्रतिष्ठान, मध्यपश्चिम साहित्य परिषद्, जिल्ला समन्वय समिति दैलेख, दुल्लु नगरपालिका, नारायण नगरपालिका, चामुण्डा विन्द्राशैनी नगरपालिका, भैरवी गाउँपालिका, भेरी साहित्य समाजको संयुक्त आयोजना रहेको उक्त कार्यक्रममा प्राडा. दिनेशराज पन्त, कवि तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी श्यामल, दैलेख २ वाट निर्वाचित प्रतिनिधिसभाका सदस्य राजबहादुर बुढा लगायतले समग्र कर्णाली क्षेत्रमा पर्यटकीय, ऐतिहासिक, सांस्कृतिक विकासको आवश्यकता रहेको बताए।

कृतिखम्बमा काव्य बहस

दुल्लु कार्यक्रमको दोस्रो दिन दुल्लु क्षेत्रको ऐतिहासिक खम्ब स्थापना गरिएको क्षेत्र कृर्तिखम्बमा काव्य वहस गरिएको थियो। त्यस अवसरमा विभिन्न विषयमा चारवटा कार्यपत्र प्रस्तुत गरिए।

कार्यक्रममा प्राडा. डिल्लीराज शर्माले लेखेको 'कर्णाली भेगका सम्पदा र तिनीहरूमा विद्यमान धार्मिक समन्वयवाद' विषयको कार्यपत्र प्राडा.धनेश्वर नेपालले प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमाथि संस्कृतिविद् प्राडा. जगमान गुरुङले टिप्पणी गरे। यसैगरी उपप्राध्यापक डिल्लीप्रसाद पाण्डेयले 'दैलेख दुल्लु क्षेत्रका संस्कृत तथा नेपाली भाषाका ऐतिहासिक अभिलेखहरू' विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमाथि प्राडा. दिनेशराज पन्तले टिप्पणी गरेका गरे।

यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्यायले 'नेपाली कवितामा कर्णाली प्रदेशको स्थिति' विषयमा कार्यपत्र प्रस्तुत गरे। उक्त कार्यपत्रमाथी समालोचक डा. हेमनाथ पौड्यालले टिप्पणी गरेका थिए। डा. मधुसूदन गिरीले 'लोपोन्मुख कर्णाली प्रदेशका केही परम्परा' विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमाथी प्रा.डा.जिवेन्द्रदेव गिरीले कार्यपत्रमाथि टिप्पणी गरेका थिए।

नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरे, इतिहारविद् प्रा.डा. राजाराम सुवेदी,  नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकाल, राष्ट्रिय समाचार समितिका अध्यक्ष कवि हरिहर अधिकारी 'श्यामल', प्राडा. ज्ञानु पाण्डेले कर्णाली क्षेत्रको विषयवस्तुलाई समेटिएर बनाएको कार्यपत्रहरू उत्कृष्ट भएको भन्दै अझ यसलाई वृहत् बनाउनुपर्ने सुझाए। उनीहरूले कतिपय बाहिर आउन नसकेका ऐतिहासिक, धार्मिक कुरालाई बाहिर ल्याउनसमेत आग्रह गरे। उनीहरूले सबै विषय समेटिएको भन्दै तत्कालीन भाषाको अनुवाद गर्नसमेत आग्रह गरे।

त्यस अवसरमा विभिन्न कविहरूले कविता वाचन गरेर दुल्लुको चिसोमा न्यानो भर्ने काम गरेका थिए। जसअनुसार कविहरू डा.मधुसूदन गिरीले 'हुटिट्याउ र आकाश', जगत उपाध्याय प्रेक्षितले 'सुन्तला' लगायत केही कवितारहु, समीर शाहले 'बूढो रुख', हरिप्रसाद तिमिल्सिना 'पानी माग्दा दही दिन्थे धन्य दैलेखीको मन', डिल्लीप्रसाद पाण्डेले 'युगको आह्वान', ओम रिजालले 'एउटा कविको बकपत्र', हेम सुवेदीले 'साथी मलाई कविता लेख्नै आउदैन', चक्र अधिकारीले 'आफन्तको पीडा' र सुदन पौडेलले कविता वाचन गरेका थिए।

यसैगरी स्थानीय कविहरू चन्द्र रावत गुँरासले 'धोकेबाज चुनाव', गणेश रेग्मीले 'सुन्दैनन कविता कतै', शोभाकुमारी ज्ञवालीले 'लेख्छु भन्दाभन्दै कलम फेरि देउडामै चल्यो' शीर्षकको कविता वाचन गरेका थिए भने एकनारायण चापागाईंले गजल र मुक्तक वाचन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.