|

सुनसरी:  सुनसरीका छुट्टा–छुट्टै स्थानबाट शनिबार दिउँसो  तीनवटा पेस्तोलसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन भारतीय नागरिक रहेका छन्।

सुनसरीको सीमावर्ती क्षेत्र भाण्टाबारी र श्रीपुरबाट दुईवटा पेस्तोलसहित तीनजना भारतीय नागरिक पक्राउ परेका हुन्। सशस्त्र प्रहरीले श्रीपुर र भाण्टाबारीको नेपाल भारत सीमा क्षेत्रबाट हतियार सहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको हो।  भारतबाट नेपालभूमि तर्फ प्रवेश गर्दै गरेका सुपौल भवानीपुरका १८ वर्षीय विवेक यादव र सुमितकुमार गोइत श्रीपुर नाकामा पक्राउ परेका छन् भने सुनसरीको भाण्टाबारी नाकाबाट सशस्त्रले पेस्तोलसहित भारतीय नागरिक रञ्जितकुमार मुखियालाई नियन्त्रणमा लिएको जनाएको छ।

श्रीपुरबाट पक्राउ परेका यादव र गोइतलाई अनटेस्ट मोटरसाइकल सहित श्रीपुर बीओपीबाट खटिएको सुरक्षाकर्मीको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो भने  बिआर ५० एफ ३२०६ नम्बरको अपाच्चे मोटरसाइकलमा सवार मुखियालाई बीओपी भण्टाबारीको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका भारतीय नागरिकको साथबाट पेस्तोल बरामद भएपनि गोलीभने नभेटिएको सशस्त्र प्रहरीले जनाएको छ। भाण्टावारीको चारकुनेबाट पक्राउ परेका मुखिया हत्या आरोपमा भारतमा जेल सजाय भोगी २० दिनअघि मात्रै रिहा भएको बताइएको छ।

यस अघि अघिल्लो दिन हिजो साँझ धरानको तिनकुनेबाट नेपाल प्रहरीको चेकिङका क्रममा स्कुटरमा सवार साविक सुनसरी मधुवनका श्यामदेव मण्डल अटोमेटिक पेस्तोल र गोलीसहित पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.