|

रुकुम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रममा पनि फोटो खिच्न नपाइने सूचना जारी गरेको छ। नगरपालिकाले शुक्रबार सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगसम्बन्धी सूचना जारी गर्दै नगरपालिका भित्रमा हुने कुनै पनि कार्यक्रममा सहभागीले आफ्नो मोबाइल फोन वा क्यामरामार्फत् फोटो खिच्न नपाइने बताएको हो।

चार पृष्ठ लामो उक्त सूचनाको एउटा बुँदामा लेखिएको छ, ‘कुनै पनि कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा सहभागीले मोबाइल फोन प्रयोग गरी अनावश्यक फोटो खिच्न पाइने छैन। फोटो खिच्नको लागि आयोजकले विशेष व्यवस्था गर्ने हुनाले आवश्यक परेमा आयोजकमार्फत् नै फोटो लिन सकिने छ।’

त्यस्तै कुनै कारणबस खिचिएका तर स्वीकृत नलिइकन फेसबुक, ट्वीटरलगायतका समाजिक सञ्जालहरूमा अपलोड गर्ने, टिप्पणी, लाइक तथा सेयर गर्नसमेत नपाइने जारी सूचनामा उल्लेख गरिएको छ। ‘बिनास्वीकृति अपलोड गर्ने, टिप्पणी गर्ने, लाइक र सेयर गर्ने कार्य गरेमा प्रतिलिपि तथा व्यक्तिको गोपिनियताको हकविरुद्धको कार्य गरेको भनी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने छ', नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ।

नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारीका साथै राजनीतिक व्यतित्व र निवृत्त कर्मचारीहरूले समेत सामाजिक संजालमा आएका नकारात्मक समाचार, कार्टुन, फोटो र अन्य सामग्रीमा लाइक सेयर तथा टिप्पणी पनि गर्न नपाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए। त्यतिमात्र नभएर नगरपालिकाको नीति र नियमविरुद्ध सार्वजनिक मिडिया र सञ्चार माध्यमममा लेख, रचना र अन्तर्वार्ता दिनसमेत रोक लगाएको छ। जारी सूचनाअनुसार नगरपालिकाको कामको शिलसिलामा फिल्ड तथा अन्य ठाउँमा गएको बेला कर्मचारीहरूले कुनै धार्मिक तथा पर्यटकीय स्थलहरूमा खिचेका फोटोसमेत फेसबुकमा पोष्ट पर्न पाउने छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.