|

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले सरकारले संविधान संशोधन नगरेका कारण आन्दोलनको विकल्प नरहेको बताएका छन्। उनले अब आन्दोलनमा जाँदा प्रदेश २ सरकारको पनि समर्थन रहने बताएका हुन्। 

काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका हुन्। झाले भने, ‘अब हुने हाम्रो आन्दोलनमा एउटा प्रदेश सरकार साथमा हुनेछ। यसले केन्द्रीय सरकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पार्छ।’

उनले अब छ दिनभित्र आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने दाबी गरे। ‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौँ। काउन्टडाउन सुरु भइसक्यो। हामीले छठ सकिए लगत्तै १० दिनको समय दिएका थियौ’, उनले भने,‘आज चार दिन बितिसक्यो। अब छ दिन बाँकी छ। हामी अहिले बाध्यकारी अवस्थामा छौँ। अब समर्थन फिर्ता लिएर अघि बढ्छौँ।’

नेता झाले आफूहरूले प्रधानमन्त्री ओलीलाई भेटेरै दशैँअघि समर्थन फिर्ता लिने ‘अल्टिमेटम’ दिएको स्मरण गराए। 

फरक प्रसंगमा उनले वर्तमान सरकारले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाए। संघीयताको सवालमा वर्तमान प्रधानमन्त्री ओली र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बुझाई एउटै रहेको पनि उनले बताए। ‘अहिलेको सरकारले संघीयता पचाएको छैन। त्यसैले कमजोर बनाउने काम भयो। यो सरकारको राष्ट्रघाती सोच हो’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.