|

तनहुँ : भानु नगरपालिकामा पटक–पटक चितुवाले आक्रमण गर्दा स्थानीयवासी त्रसित बन्दै गएका छन्। चितुवाले आक्रमण गर्न थालेपछि भानु नगरपालिका वडा नम्बर १, २, ३ र ४ का वासिन्दा त्रसित भएका हुन्।

चितुवाको आक्रमणबाट भानु नगरपालिका–४ जोखानीका कृष्णबहादुर लम्सालको छोरी चार वर्षीया अस्मिता लम्सालको मृत्यु भएको एक दिनपछि पुनः आक्रमण गरेपछि स्थानीय झन् त्रसित भएका छन्। घर नजिकै खेल्ने क्रममा बिहीबार साँझ साढे ६ बजे चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको थियो।

शनिबार बिहान ६ बजे चितुवाको आक्रमणमा परी भानु नगरपालिका–२ थप्रेकका प्रकाश नेपालीको सात वर्षीय छोरा सन्जन नेपाली घाइते भएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख जगत ढकालले जानकारी दिए। शैक्षिक भ्रमणका लागि बिहान आमासँगै निस्किएर बजार आउँदै गर्दा बालकलाई चितुवाले आक्रमण गरेको बताइएको छ। उक्त समयमा आमा र छिमेकीले चितुवा धपाएको प्रहरीले जनाएको छ। घाइते बालकको स्थनीय मेडिकलमा उपचार गराइएको छ। चितुवाको आक्रमणले बालकको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। बालकले दुई वटा टोपी लगाएकाले टाउकोमा कम असर परेको प्रहरीले बताइएको छ।

चितुवाको आक्रमणबाट जोगाउन स्थानीय ओखले सामुदायिक वन आसपासको क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख ढकालले बताए।

चितुवाले फेरि पनि आक्रमण गर्न सक्ने डरले स्थानीय वासिन्दा त्रसित भएको भानु नगरपालिका–२ का मनोज श्रेष्ठले बताए। ‘पटक पटक यो चितुवाले मान्छेलाई आक्रमण गरेको छ, मान्छेको रगत खान पल्केको चितुवाले पटक पटक यसै गर्नेछ,’ उनले भने, ‘यसलाई मार्नुपर्छ, नत्र अझै कति जनाको ज्यान लिने हो यसले।’

गत बिहीबार भानु–४ जोखनीकी चार वर्षीय अस्मिता लम्साल र २०७४ फागुन १ मा पनि वडा नं. ३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाको आक्रमणबाट ज्यान भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.