|

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको आयोजनामा भइरहेको नेशन्स लिगमा रोनाल्डो बिनाको पोर्चुगलले सेमिफाइनल यात्रा तय गर्न सफल भएको छ।लिगको समूह चरणअन्तर्गत शनिबार भएको समूह ए थ्रीको खेलमा पोर्चुगलले इटालीलाई गोलरहित बराबरीमा रोक्दै सेमिफाइनल यात्रा तय गर्‍यो।

इटालीको घरेलु मैदानमा भएको स्पर्धामा इटालीले उत्कृष्ट प्रदर्शन गरे पनि पोर्चुगलविरुद्ध गोल गर्न असफल रह्यो। बराबरीपछि पोर्चुगल समूहको विजेता बन्ने पक्का भएको छ। उसको तीन खेलबाट सात अंक भएको छ भने आफ्ना सबै चार खेल खेलेको इटालीको पाँच अंक मात्रै छ । अब आउँदो मंगलबार पोर्चुगलले रेलिगेशनमा परेको पोल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। पोल्याण्ड तीन खेलबाट मात्रै एक अंक जोड्न सफल छ।

समूहको शीर्ष स्थानमा रहने टिमले सन् २०२० मा हुने युरोकप फुटबलका लागि छनोट चरणबाट छानिन नसकेमा नेशन्स लिगको शीर्ष स्थानमा रहेका टिमले प्ले–अफ खेल्न पाउनेछ। पोर्चुगल युरोकपको साविक च्याम्पियनसमेत हो। सन् २०१६ मा युरोकपमा उसले फ्रान्सलाई पराजित गर्दै उपाधि जितेको थियो। नेशन्स लिगमा पोर्चुगलले अन्तिमचरणका खेलहरू भने घरेलु मैदानमा खेल्नेछ। त्यसअघि समूह चरणको अन्तिम खेलमा पोल्याण्डसँग उसकै मैदानमा पोर्चुगल प्रतिष्पर्धामा उत्रने छ।

युइएफएले नेशन्स लिगका अन्तिम चरणका खेल सन् २०१९ को जुनको सुरुमा पोर्चुगलको मैदानमा गर्ने निर्णय भएको छ। फरनान्डो सान्तोसको टिममा फेरि पनि क्रिष्टियानो रोनाल्डो बिना मैदानमा उत्रिएको थियो। अन्तराष्ट्रिय फुटबलमा रोनाल्डोले सन्यास लिएका छैनन्, तर उनी रुसमा भएको विश्वकप पछि अन्तर्राष्ट्रिय खेलहरुमा देखिएका छैनन्।

विश्वकपपछि रोनाल्डो स्पेनिस क्लब रियल मड्रिड छोडेर इटालियन क्लब युभेन्टसबाट ब्यबसायिक फुटबल खेलीरहेका छन्। बर्नार्डो सिल्भा, रुबेन नवेस तथा आन्द्रे सिल्भासहितका राम्रा खेलाडी भए पनि रोनाल्डोको कमी महशुस भएको छ। यस्तै इटालीका डिफेन्डर जर्जो केलिनीले राष्ट्रिय टिमबाट १०० औँ खेलमा सहभागिता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.