|

कालीकोट : जिल्लाको चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजानी गरेको छ। शनिबार राति नगरपालिकाको पार्किङमा राखिएको क१झ १ नम्बरको गाडीमा आगजनी गरिएको हो।

अज्ञात समूहले राति करिब १ बजेको समयमा नगरपालिकाको गाडीमा आगजानी गरेको नगरपालिका सुरक्षागार्ड विष्णुप्रसाद न्यौपानेले बताए। ‘रातको समयमा गाडी आगजनी गरेको हो।’ उनले भने, ‘त्योवेला चिसोका कारणले आफू सुतेको थिएँ।’

बाहिर कसैले आवाज आएको सुन्दा आफूले थाहा पाएको र बाहिर हेर्दा गाडी जलिरहेको देखेपछि सबैलाई बोलाएको सुरक्षा गार्ड न्यौपानेले बताए। ‘बाहिर आवाज आएको सुनेपछि बाहिर निस्किएँ।’ उनले भने, ‘हेर्दा गाडी जलिरहेको थियो। सबैलाई बोलाएँ।’ राति जलाइएको गाडीलाई नेपाली सेना, नेपाल प्रहरीको राति नै घटनास्थल पुगेर आगो निभाएका थिए।

जलेको गाडीमा ४० लाख बराबर मूल्य पर्ने र त्यही बराबरको क्षति भएको नगरपालिका निमिक्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढाथापाले बताए। ‘नगरपालिका कोही नभएको बेला गाडी पार्किङमा राखिएको थियो।’ उनले भने, ‘नगरपालिकाको ४० लाख बराबरको क्षति भएको छ।’ अज्ञात समूहले नगरपालिकाको गाडीमा आगजानी गरेर भागेको र गाडीमा आगजनी गर्ने अज्ञात समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.