|

सुर्खेत : आजभोली कर्णालि प्रदेशका अधिकांश युवा कालापहाड अथवा भारतको यात्रामा निस्किएका देखिन्छन्। बजारका होटल र गाउँबाट बजारतिर आउने गाडीहरू पनि टनाटन भरिएका देखिन्छन्।

ठूला चाड दशैँ र तिहारपछि गाउँघर सुनसान हुँदै गएका छन्। आकाशे पानीको भरमा खेतीपाती गर्ने कर्णालीवासी हिउँदको समयमा त्यत्तिक बस्नुभन्दा कुल्ली काम गर्नका लागि भारतका विभिन्न ठाउँमा जाने गर्दछन्। रोजगारीका लागि कालापहाड जानु कर्णालीवासीका लागि रहर नभएर बाध्यता हो। आर्थिक अवस्था कमजोर भएका कर्णालीवासी भारतको सिम्ला, कालापहाड, मुम्बई लगायतका क्षेत्रमा मजदुरी गर्न जाने गरेका छन्।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा न १६ का अर्जुन तिवारी तिहारलगत्तै मजदुरी गर्नका लागि भारततिर लाग्नका लागि घरबाट टीकाटालो गरेर हिँडिसकेका छन्। १२ कक्षा पास गरेका तिवारीले गाउँघरमा रोगारीको कुनै खालको अवसर नभएकाले मजदुरी गर्न भारत जानु परेको बताए। ‘जति पढे पनि के गर्नु?’ उनले पीडा पोखे ‘कि त खाडी जानुपर्‍यो, कि त उही इन्‍डिया त हो नि।’

वीरेन्द्रनगरनगर १६ कै २० वर्षीय युवा कृष्णप्रसाद कँडेल केही गरौँ र भविष्य सुरक्षित गरौँ भन्ने बेला विगत १ वर्षदेखि भारतमै बुबासँगै चौकीदार काम गर्दै आएका छन्। दशैँ तिहार मनाउन घर आएका कँडेल तिहार लगत्तै फेरि मजदुरी गर्न भारततिर हानिन घरबाट बिदा भएर हिँडेका छन्।

कृष्ण कँडेलजस्तै दशैतिहार मान्न घर आएका विरेन्द्रनगर १० कै यज्ञ खड्का पनि श्रीमतीसहित भारततिर जान तयार भएर घरबाट निस्किसकेका छन्। खेतीका लागि पर्याप्त जमिन नभएपछि १४ वर्षको उमेरदेखि भारतमा मजदुरी गर्दै आएका खड्का दम्पती छोरा छोरीलाई उनीहरूको बज्यैसँग छोडेर कालापहाडतिर लागेका छन्। ‘घरमा बसेर के खाने, छोरा छोरीको टालो केले फर्ने?’ खड्काले भने, ‘घरमा बसे त हाम्रो हातमुखको भेट नै हुँदैन।’

दैलेखको आठ बिसकोट नगरपालिका वडा १ का भगवती आचार्यले गाउँमा रोजगारीका अवसर नहुँदा परदेशी हुनुपरेको बताए। घर बसेर परिवारको पेट पाल्न र एकसरो लुगाफाटो फेर्न पनि धौधौ हुने भएकाले परदेशी बन्नुपरेको उनको भनाइ छ।

कर्णालीका युवाहरु भारतमा काम गर्न विशेष गरी गुवा, मनाली, गढवाल, हिमाञ्चल, सिम्ला, केदारनाथ लगायतका ठाउँमा होटेल, कुल्ली र चौकीदार जस्ता काम गर्न जाने गरेका छन्। त्यही मजदुरी गरेर कमाएको पैसाले उनीहरूको घर परिवारको लुगाफाटो फेर्दै आएका छन्। कोही वर्षमा एकपटक त कोही वर्षमा दुईपटकसम्म घर फर्कने गर्दछन्। भारतमा जस्तो पनि काम पाइने र आउजाउ गर्न सजिलो पनि भएकाले कर्णालीका युवादेखि प्रौढसम्मको रोजगारीको रोजाइ भारत हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.