|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको अनुसन्धानबारे जानकारी दिन अश्वीकार गरेका छन्। प्रतिनिधिसभाकाे राज्यव्यवस्था तथा सुशासनसमितिमा सांसदहरूले निर्मला प्रकरणमा उठाएका विषयमा जानकारी दिन अश्वीकार गरेका हुन्।

इतबार बसेकाे समिति बैठकमा सांसद प्रेम सुवालले 'निर्मला पन्तको बलात्कार र हत्याबारे के भइरहेको छ?' भनेर ग‌ृहमन्त्रीलाई प्रश्न साेधेका थिए। सुवालले सुन तस्करी र कामचाेर ठेकेदारलाई कारबाही के भइरहेको छ भनेर पनि जिज्ञासा राखेका थिए।

त्यसैगरी, कांग्रेस सांसद एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले पनि निर्मला हत्याबारे के भइरहेको छ भनेर प्रश्न गरेका थिए। नागरिता विधेयकलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफलमा निर्मलाकाे विषयमा जानकारी दिन उपयुक्त नभएको भन्दै गृहमन्त्रीले थप जानकारी दिन अश्वीकार गरेका हुन्। गृहमन्त्रीले भने, 'निर्मला र सुन तथा ठेकेदारका विषयमा कुरा उठेको छ। यी आजका विषय हाेइनन्।

भविष्यमा यी विषयमा स्पष्ट पाराैँला।' समिति सभापति शशि श्रेष्ठले निर्मलाकाे प्रकरणमा अनुसन्धान कहाँ पुग्याे भन्ने जान्न पाउनुपर्ने र पीडकलाई के कारबाही हुन्छ भन्ने जवाफ मागिने बताइन्। उनले याे विषयमा छलफल र जवाफ माग्न अर्को दिन गृहमन्त्रीलाई बाेलाउन बैठक आव्हान हुने बताइन्। समितिमा गृहमन्त्री पदेन सदस्यका हैसियतमा उपस्थित थिए।

समितिमा सांसदहरूले नागरिकता विधेयकमा संशोधन हाल्ने सांसद, सराेकारवाला र विज्ञसँग छलफल गरेर अगाडि बढाउने सुझाव राखेका थिए। नागरिकता विधेयकमा विभिन्न २३ व्यक्ति/समूहमा रहेर ५५ सांसदहरूले संशोधन हालेका छन्। सांसदहरूले विधेयकका १०२ विषयमा संशोधन हालेका छन्।

निर्मला पन्तको साउन १० मा सामूहिक बलात्कारपछि हत्या भएको थियो। साउन ११ मा उनको शव उखुबारीमा भेटिएको थियो। यस घटनाको अनुसन्धान प्रक्रियामा लापरबाही गरेको अभियोगमा २ प्रहरी अधिकारीहरूलाई सरकारले जागिरबाट बर्खास्त गरिसकेको छ। पहिलो र दोस्रो चरणमा गरी ७ जनाको डिएनए परीक्षण गरिएको तर उनीहरू सबैको नेगेटिभ रिपोर्ट आएपछि  अनुसन्धानको पाटो थप जटिल मोडमा प्रवेश गरेको प्रहरीले जनाएको छ। यद्यपि, प्रहरीले विविध तरिकाले अनुसन्धान भने गरिरहेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.