|

ओखलढुंगा : ओखलढुंगाका किसानलाई धान भित्र्याउन धमाधम छ। जिल्लाका बेसी तथा खोलाखेतमा लगाइएको धान यतिवेला पाकेर पहेँलै भएको छ। जिल्लामा विशेष गरी मोलुङखोला, सुनकोशी, दूधकोशी, लिखुफाँटलगायत अन्य खोला आसपास र पाखाखेतमा धानखेती गरिँदै आएको पाइन्छ। यो वर्ष समयमै मौसमी वर्षा भए पनि पानीका मूल नउम्रेपछि साउनको अन्तिमसम्म रोपाइँ गर्नुपरेको लिखु ६ गाम्नाङटारका कृषक निलकमल भट्टराईले बताए। रोपाई ढिला भएकै कारण र धान गोडी सकेपछि आकासबाट पानी नपरेपछि धानको उत्पादनसमेत कमी हुने भट्टराईको भनाइ छ।

जिल्लाका बेसी खेतहरुमा तिहार अघिदेखि धान भित्र्याउन सुरु गरिएको भए पनि किसानहरू छठ पर्व सकिएलगत्तै खेतहरूमा देखिन थालेका छन्। ढिला रोपाइँ गरेकै कारण यो साल धान भित्र्याउन पनि ढिला भएको लिखु ८ का अगुवा किसान बेदबहादुर पौडेलको भनाइ छ। धान गोडेलगत्तै यो साल पानी नपरेकै कारण पाखा खेतहरूमा असोज १५ पछि धान सुकेको र आफूले लगाएको धान यो साल कम उत्पादन भएको सिद्धिचरण नगरपालिका ९ ज्यामिरेकी विष्णुकुमारी खड्काले बताइन्।

जिल्लाको रामपुरटार, हर्कपुर जरायोटार, सेराबेंसिु, सेर्नाबेंसी, देबीटार, भदौरे, सिल्खुबेसी, सिस्नेबेंसी, सत्लङ्गटार, साठीबेुं बलखुबेंसी, लगायतका दर्जनौँ बेंसीखेत तथा पाखाखेतहरुमा धान लगाइन्छ। ओखलढुंगा जिल्लाको २८ हजार ८ सय ४१ हेक्टर खेतीयोग्य जमिनका ८ हजार ४ सय हेक्टर जमिनमा धान खेती गरिँदै आएको कृषि प्रविधिक बिमला खड्काको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.