|

संखुवासभा : ट्राफिक प्रहरीले टेम्पो चालकबाट मासिक रकम असुल्ने गरेको पाइएको छ। ट्राफिकले संखुवासभा जिल्लामा सञ्चालित रहेका टेम्पो चालकबाट मासिक रूपमा रकम लिने गरेको रहस्य खुलेको छ।

अहिले जिलामा ६०  भन्दा बढी टेम्पो सञ्चालनमा रहेका छन्। तर अधिकांश टेम्पो अनुमतिपत्र (लाइसेन्स) नभएका चालकहरूले चलाउने गरेका छन्।  साथमा अनुमति पत्र (लाइसेन्स) नभएकाले टेम्पो चालकले मासिक रूपमा ट्राफिक प्रहरीलाई रकम बुझाउने गरेको एक चालकले नाम नबताउने सर्तमा जानकारी दिए। उनले भने, 'मैले अग्रिम रूपमा तिन महिनाको भुक्तानी ३ हजार बुझाइसकेको छु  अब ट्राफिक प्रहरीले अनुमतिपत्र चेकिङमा परे पनि आफूलाई तीन महिना कुनै डर छैन', उनले थपे, 'रकम बुझाउने म मात्र होइन अनुमतिपत्र नभएका अन्य चालकले पनि ट्राफिकलाई रकम बुझाएर मात्र सवारी चलाउने  गरेका छन्।'

टेम्पो अहिले सदरमुकाम खाँदबारी, तुम्लिङटार, मानेभञ्याङ, चिचिला, खराङ, चैनपुर, सिद्धपोखरीका सडकमा सञ्चालित रहेका छन्। ट्राफिक प्रहरीले टेम्पो मात्र नभई जिल्ला सञ्चालित अनुमतिपत्र नभएका सवारीसाधनबाट समेत मासिक रूपमा रकम असुल्ने गरेको पाइएको छ।

संखुवासभामा यकिन तथ्यांक नभए पनि सदरमुकाम खाँदबारीमा ४० भन्दा बढी टेम्पो  सञ्चालनमा रहेका छन् भने चैनपुरमा  नगरपालिकामा २४ वटा टेम्पो रहेको छन्। यात्राका लागि सहज र सुविधाजनक  भए पनि अनुमति पत्र (लाइसेन्स) भएका चालकले टेम्पो चलाउँदा यात्रुको ज्यान भने जोखिममा परेको यात्रुको गुनासो छ। यसरी खुलेआम ट्राफिक प्रहरीले रकम असुल्दासमेत समन्धित निकाय बेखबरजस्तो बनेको यात्रुको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.