|

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वनहराका थेग्रा रानाले पाँच कठ्ठा जग्गामा लगाइएको तरकारी खेतीबाटै तीन महिनामै रु ४० हजार रकम हात पारेका छन्। थोरै जग्गामा लगाइएको तरकारी खेतीबाट धेरै आम्दानी भएपछि उनले लिजमा लिएको १० कठ्ठा जग्गामा तरकारी खेतीलाई विस्तार गरेका छन्। वर्षको रु १० हजार रकम तिर्ने गरी उनले जग्गा लिजमा लिएका हुन्।

 गत वर्ष काउली बेचेर मात्रै रु ४० हजार आम्दानी भयो रानाले भने, ‘यस वर्ष बढी जग्गामा तरकारी खेती गरेकाले आम्दानी बढी हुन्छ।’ राना पूर्व-मुक्तकमैया समेत हुन्। खेतमा तरकारी उत्पादन गर्दै आएका रानाले फुसर्दको समयमा नजिकै रहेको वनहरा नदीको खेर गएको बगरमा लहरे तरकारी, काक्रा र तरभुजासमेत उत्पादन गरी आम्दानी लिने गरेका छन्।

यस वर्ष नदीको बगरबाट मात्रै तरकारी बिक्री गरेर रु एक लाख ५० हजार आम्दानी भएको रानाले बताए। खेतमा उनले काउली, टमाटर, खुर्सानी, बन्दागोभी र आलु रोपेका छन्। जसबाट यस वर्ष रु पाँच लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य रानाले लिएका छन्। रानाजस्तै बस्तीका शिवलाल रानाले समेत चार वर्षदेखि तरकारी खेती गर्दै आएका छन्। मुक्त कमैया पुन: स्थापनाबापत पाएको पाँच कठ्ठा जग्गामा रानाले तरकारी खेती गरी वार्षिक रूपमा रु एकलाख बढी आम्दानी लिने गरेका छन्।

गत वर्ष १० किलो आलु रोपेर दश बोरा उत्पादन भयो उनले भने, ‘यस वर्ष आलुलगायत अन्य तरकारी रोप्ने प्राविधिबारे जानकारी लिएकाले आम्दानी बढनेमा ढुक्क छु। तरकारीका बोटहरूसमेत सप्रिँदै गएकाले आम्दानी बढ्छ।’ धान, गहुँ लगायतको अन्न लगाउँदा मुस्किलले दुईदेखि चार बोरासम्म उत्पादन हुन्छ सहदेव रानाले भने, ‘बाह्रै महिना गरिने तरकारी खेतीको आम्दानीले वर्ष भरीको खर्च चल्ने गरेको छ।’

यहाँका दुई दर्जन बढी मुक्तकमैया परिवारले व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि मजदुरी गर्न जाने मुक्त कमैया परिवारका सदस्यहरू तरकारी खेतमै रमाउन थालेका छन्। खेतमा उत्पादित तरकारी नजिकैका झलारी, गुलरिया र अत्तरिया बजारमा सहज रूपमा बिक्री हुने गरेको छ। मुक्त कमैया परिवारलाई तरकारी खेतीबाटै आत्मनिर्भर बनाउनका लागि निड्स नामक गैरसरकारी संस्थाको अनुकूलन परियोजनाले प्राविधिमा सहयोग गरेको छ।

 तरकारी खेतीमा लागेका किसानले तरकारीमा जैविक बिषादी र स्मार्ट टेक्लोनोजीको प्रयोगमा जोड दिएका छन्। किरा नियन्त्रणका लागि घरमै तयार गरिएको जैविक विषादीको समेत यहाँका मुक्त कमैयाले प्रयोगमा ल्याउने गरेका छन्। साइकल चढने हैसियतसमेत नभएका मुक्त कमैया परिवारले तरकारी बेच्न थालेपछि मोटरसाइकल चढने भएका छन्। कच्ची घरहरू पक्की भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.