|

सहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार भएको को दोस्रो खेलमा उपाधि दाबेदार थ्री स्टारले ब्रिगेड ब्वाइजमाथि सहज जित हासिल गरेको छ। प्रभावशाली जित निकाल्ने क्रममा थ्री स्टारले ब्रिगेड ब्वाइजलाई ५–१ ले पराजित गर्‍याे।

खेलको नवौं मिनेटमा थ्री स्टारले खेलमा अग्रता बनाएको थियो। पेनाल्टी क्षेत्रभित्र दीपेन सिंहले निराजन खड्कालाई लडाएपछि रेफ्रिले थ्री स्टारलाई पेनाल्टीको मौका दिएका थिए। जसमा थ्री स्टारका रञ्जित धिमालले सहज रुपमा गोल गर्दै अग्रता दिलाए।

पहिलो हाफमा निरन्तर गोलको प्रयास गरे पनि थ्री स्टार गोल गर्न चुक्दा पहिलो हाफमा १–० मानै चित बुझाउन बाध्य भयो। दोस्रो हाफमा थ्री स्टार थप आक्रामक बन्दा ४ गोल संभव बनायो। ५१ अौं मिनेटमा रञ्जन विष्टले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको आकर्षक पासलाई सुनील बलले आकर्षक गोलमा परिणत गरेका थिए। ७५ अौं मिनेटमा ब्रिगेड ब्वाइजले अग्रता घटाउँदै खेलमा फर्कन प्रयास गर्‍याे।

रजत तिवारीले लिगमा दोस्रो गोल गर्दा ब्वाइजलाई केही राहत भएको थियो। तर त्यसपछि पनि थ्रिस्टारको आक्रमण रोकिएन्। ८४ औं मिनेटमा डिफेन्सले गरेको गल्तीको फाइदा उठाउँदै खेलमा सहज गोल गरे। रञ्जनले वान भर्सेस वानमा गोल गर्दे खेललाई ३–१ को अवस्थामा पुर्‍याएका थिए। लगत्तै अन्तिम मिनेटमा निराजन खड्काले भलीमार्फत उत्कृष्ट गोल गरे।  डिफेन्सले क्लियर गर्न नसकेको बललाई निराजनले शक्तिशाली प्रहारमार्फत गोल गरेका थिए।

इन्ज्युरी समयको तेस्रो मिनेटमा विक्रम लामाले पाँचौ गोल गरे। उनले सुनील बलको क्रसमा उत्कृष्ट हेडमार्फत खेलमा सुखद पुनरागमन गरेका थिए। जितसँगै थ्री स्टारले लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। अंक तालिकामा २ खेलमा ६ अंक जोडेको थ्री स्टार मनाङलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। दुवै खेलमा पराजित ब्रिगेड ब्वाइज अंक तालिकाको पुछारमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.