|

भनिन्छ, कर्णाली प्रदेशमा अथाह संभावना रहेको प्रदेश हो। अथाह संभावना रहेको क्षेत्र हुदाँहुँदै पनि यहाँ लगानीमैत्री वातावरण बन्न सकेको छैन। लगानीमैत्री वातावरण नहुँदा यहाँ ठूलाठूला कलकारखाना र उद्योगधन्दा खुल्न सकेका छैनन्। ठूला उद्योगधन्दा र रोजगारीको व्यवस्था नहुँदा कामको खोजीमा विदेशमा भौँतारिनु यहाँका नागरिकको बाध्यता छ।

समस्यै समस्याले भरिएको कर्णाली प्रदेशमा अहिले उद्योगी, व्यापारीहरू संभावना खोजी गर्न थालेका छन्। व्यवसायीहरूले संभावना खोज्दै सानासाना उद्योग जडिबुटी प्रशोधन केन्द्र, कृषिमा नगदे बालीतर्फ आकर्षित भएका छन्।

एक दशकअघि सडकले नछोएको कर्णाली सडक संजालले छोएपछि केही साना ठूला लगानीमा यातायात व्यवसायमा र साना, ठूला उद्योग खुल्ने क्रम जारी छ। कर्णालीमा कसरी लगानीमैत्री वातावरण बनाउन सकिन्छ? लगानीकर्ताका कर्णालीमा आकर्षणका केन्द्र के हुन्? कर्णालीलाई सडक संजालले छोएपछि आएको परिवर्तन र कर्णालीका समस्याका विषयमा थाहाखबरकर्मी रमेश रावलले कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीसँग गरेको कुराकानी प्रस्तुत छ।

कर्णाली प्रदेशमा विगतमा र अहिले के फरकपन आएको छ?

विगतको कर्णाली र अहिलेको कर्णालीमा व्यापक भिन्नता छ। विगतमा कर्णाली एउटा अंचलका रूपमा रहेको थियो, अहिले प्रदेशका रूपमा रहेको छ। विगतमा कर्णाली अंचलमा यातायातका साधन चल्दैनथे। एक दशक भयो, अहिले कर्णालीमा यातायातका साधन चल्न थालेका छन्। अहिले पनि सबै ठाउँमा यातायातका साधन पुगका भने छैनन्। 

विगतभन्दा अहिले धेरै फेरबदल आएको छ। व्यापार, व्यवसाय, रहनसहन, खानापान, जीवनशैलीमा फरकपन आएको छ। सडक संजालले छोएपछि ठूलै परिवर्तन नआए पनि सानोतिनो परिवर्तन गाडी नै चढेर केही न केही त आउँदोरहेछ। तिनैभित्रका केही परिवर्तन आएका छन्। कर्णालीको समग्र जीवनशैलीलाई उथलपुथल ल्याउने परिवर्तन भने आएका छैनन्। 

विगतमा यहाँका स्थानीयबासी नुनतेल गर्नका लागिका २० दिनभन्दा बढी यहाँ उत्पादन हुने घ्यु, भेडाच्याङ्ग्रा, नुन बोकेर, भारी बोकेर कैलाली, बाँके र बर्दियाको सीमा जोडिएका भारतीय बजारमा लगेर बेच्ने र त्यहीँबाट लत्ताकपडा ल्याउने चलन थियो। नेपालबाट चामललगायतका खाद्यवस्तु लगेर चीनमा बेचेर नुन ल्याउने चलन थियो। आज भारतबाट एकै दिनमा कर्णाली पुगिन्छ। नेपालगंज, सुर्खेत नजिक शहर बनेका छन्। खाद्यवस्तुको व्यापारमा सजिलो भएको लत्ताकपडा गाउँगाउँमा नभएर नजिकै सडकमा पाइन थालेका छन्। विगतमा भारतको रोजगारीमा निर्भर रहेका यहाँमा मानिसहरू सडकका कारणले गाउँमा नै कृषि व्यापारबाट पनि आर्थिक आयआर्जन गर्न सकिन्छ भन्नेमा पुगेका छन्। 

विकासका केही पाटा पहिल्याउन नसक्दा केही समस्या भएर पनि आएका छन्। समस्या पहिल्याउन नसक्दा कर्णालीलाई अझै हामी सही ढंगले सदुपयोग गर्न सकेका छैनौँ। यहाँको उत्पादन, यहाँको भौतिक र प्राकृतिक सम्पतिको संरक्षण यिनै सम्पतिबाट समृद्धि खोज्ने कुरामा अझै पछाडि नै रहेको छ। 

कर्णालीमा रहेका अवसरहरूलाई किन सदुपयोग गर्न सकिएन?

कर्णाली चीन र भारतको ट्रान्जिट प्वाइन्ट बन्ने राम्रो संभावना भएको क्षेत्र हो। विगतमा चीन र भारतसँग हुने परंपरागत व्यापार टुटेको छ। विगतमा खच्चर, भेडा, च्याङ्ग्रालाई भारी बोकाएर नेपालको तराई क्षेत्रको र भारतको खाद्यान्न चीनमा ल्याएर बेच्ने र चीनबाट नुन र सुन ल्याएर भारत र नेपालको तराई क्षेत्रमा व्यापार हुन्थ्यो। त्यो व्यापारको कडी राणा शासनको अन्त्यपश्चात छुटेको छ। 

चीनसँग जोडिएका हिल्सा र नाक्चे लाक्ना नाका खुलेको भए चीन र भारतसँगको व्यापारले प्रमुखता पाउँथ्यो। तर त्यो अहिले पनि हुन सकेको छैन। अहिले चीन र भारतको व्यापारको ढोका बन्द भएको छ। चीन र भारतको व्यापारिक नाकाका रूपमा स्थापित गर्न नाक्चे लाक्ना र हिल्सा सडक चाँडो खोल्ने हो भने त्रिदेशीय व्यापारको ढोका खोल्छ। त्यसका लागि कर्णाली करिडोर खुल्यो भने कर्णालीको व्यापारको ढोका पनि खुल्नेछ। 

कर्णालीमा व्यापार व्यवसायका संभावना केके हुन्?

त्यो पनि डोजरले खनेको सडक मात्र विकास हो भन्ने सोचेका छन्। उद्योगधन्दा लगानीको कुरा छाडौँ। सानासाना कृषि, जडिबुटी, ढुंगा खानी र पर्यटनलगायतका क्षेत्रमा राम्रो संभावनाका क्षेत्रमा लगानीमा ध्यान दिएका छैनन्।

यहाँ संभावनाको अथाह भण्डार रहेको र यहीँ लगानी र मिहिनेत गरे आत्मनिर्भर हुन सकिन्छ भन्ने कुरा नसिकाउने, नदेखाउने, सबै कुरा आयातीत मात्र हुन सक्छन्। त्यसबाहेक यहाँ केही पनि छैन भन्नेमा केही सरकारी निकायको कमजोरी रहेको छ भने सबैभन्दा बढी गैरसरकारी संस्थाहरू रहेका छन्। यहाँ रहेको प्राकृतिक सुन्दर भूमि छ। यसको सदुपयोग गर्ने कुरा कसैले गरेका छैनन्। सधैँ गरिबी र अशिक्षा मात्र बाहिर ल्याउने काम गरेका छन्।

राज्य गरेको लगानीको सदुपयोग भएको छैन। गैससहरूले गरेको लगानी र अनुदान कता गएको छ? त्यो पत्तो छैन। गाउँका गरिब किसान उही हालतमा रहेका छन्। विकास बजेटदेखि अनुदानको बजेटसम्म चुहिने गरेको छ। चुहिने बजेट कति विकास गरोस् र यहाँको जनजीवन माथि उठोस्? जलबिद्युत, जडिबुटी, जंगललाई सदुपयोग गर्ने हो भने यस प्रदेश र यहाँका मानिसको आय वृद्धि हुनेछ। 

यहाँको उद्योग व्यापारमा लगानीको अवस्था कस्तो छ?

उद्योग व्यापारको लगानीले मात्र यहाँको आर्थिक अवस्थामा सुधार आउने हो। त्यस्तो लगानीले मात्र कर्णाली प्रदेश राज्यको मूलधारमा जानेको हो। उद्योग व्यापारमा लगानीका हिसाबले विगतको भन्दा निकै राम्रो र उत्साहप्रद नै मान्नुपर्छ। तर देशका अन्य भागका अवस्था हेर्‍यो भने यहाँ उद्योग व्यापारमा लगानीशून्य नै हो। यहाँ ठूलाठूला उद्योग र कर्पोरेट हाउसको स्थापना गर्न सकिने संभावना रहेको छ। तर ठूला लगानीकर्ता आकर्षित हुन सकेका छैनन्।

यहाँ विशेष गरेर अहिले सानो लगानीमा नै धेरै आम्दानी लिने भनेको जडिबुटीमा हो। त्यसमा लगानी गर्ने काम भएको छैन। केवल दोहन गर्ने काम भएको छ। दोहनले मात्र दीर्घकालीन फाइदा हुँदैन। त्यसका लागि लगानी गरेर उत्पादन वृद्धि गर्न र उद्योगका रूपमा नै संचालन गर्न आवश्यक छ। 

लगानीका क्षेत्र केके हुन सक्छन्?

यस क्षेत्रमा लगानीका क्षेत्र धेरै रहेका छन्। हाइड्रो, कृषि, जडिबुटी, ढुंगा खानी र पर्यटन लक्षित होटेलहरू यहाँका लगानीका लागि राम्रो संभावना रहेका क्षेत्र हुन् र छन्। सानासाना लगानीमा नै ठूलाठूला जलबिद्युत आयोजना बन्ने संभावना देखेका छौँ। कृषिमा यहाँका रैथाने बालीको राम्रो संभावना रहेको छ। कृषि क्षेत्रको विकासका लागि हुम्लामा स्याउ र जडिबुटी उत्पादनमा जोड दिने, जुम्ला र कालीकोटमा रातो चामल र स्याउमा जोड दिने र मुगुमा स्याउ र सिमी उत्पादन वृद्धि गर्ने लक्ष्य राखेर काम गर्‍यो भने विकास टाढाको विषय होइन। अहिले स्याउ कुहिएर जाने गरेको छ। यसको विषयमा कुनै चासो छैन। कसैले चासो नदिँदा हामी अहिले उत्पादन गर्ने र बिक्री कसरी गर्ने भन्नेमा समस्यामा परेका छौँ।

अहिले तीन तहका सरकार बनेका छन्। उद्योग व्यापारमा लगानीको अवस्था कस्तो छ?

तीन तहका सरकार बनेका छन्। तीनै तहका सरकारले विकास निर्माणको कार्यमा ध्यान दिएका छन्। विशेष गरेर अहिलेका सरकारहरूले विकास भनेको केवल सडक हो। त्यो पनि डोजरले खनेको सडक मात्र विकास हो भन्ने सोचेका छन्। उद्योगधन्दा लगानीको कुरा छाडौँ। सानासाना कृषि, जडिबुटी, ढुंगा खानी र पर्यटनलगायतका क्षेत्रमा राम्रो संभावनाका क्षेत्रमा लगानीमा ध्यान दिएका छैनन्। लगानी गर्न चाहनेलाई पनि करको दायरा बढाएर लगानी गर्न नसक्ने अवस्थामा पुर्‍याएका छन्। अहिले तीन तहका सरकारले उद्योगी व्यवसायीलाई करको दोहोरो मारमा पारेका छन्।

करको दोहोरो मार, कसरी?

स्थानीय तहलाई कर तिर्नुपरेको छ। विगतमा घरेलुलाई मात्र कर तिरे पुग्नेमा अहिले स्थानीय तह र कर कार्यालयलगायतका सबैलाई कर तिर्नुपरेको छ। विगतमा १५ सय रुपैयाँ कर तिरे पुग्ने ठाउँमा अहिले पाँच हजार रुपैयाँ तिर्नुपर्ने अवस्था आएको छ। यसले गर्दा अहिले करको दोहोरो मारमा उद्योगी व्यवसायी रहेका छन्। लगानी गर्ने वातावरण तयार नगरी करको दायरा मात्र बढाउनु उचित होइन। यसले उद्योगी व्यवसायीलाई लगानी गर्ने वातावरण तयार गरेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.