|

कञ्चनपुर : बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको हत्यारा अझै पत्तो लाग्न सकेको छैन। निर्मलाको हत्या भएको एक सय १५ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसकेको हो।

हत्यारा पत्ता लगाउनका लागि गृह मन्त्रालय र प्रहरीले उच्चस्तरीय छानबिन टोली गठन गरी अनुसन्धान गरी प्रतिवेदन सरकारलाई बुझाए पनि हत्याराको पत्तो लाग्न सकेको छैन। अपराधी पहिचानका लागि आधा दर्जन बढी शंकास्पद व्यक्तिहरूको डिएनए परीक्षण गरिए पनि सबैको नमुना नकारात्मक आएको छ।

हत्या गरिएकी बालिका निर्मलाको प्रमाण नष्ट गरेको आरोपमा प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्तगी गरेको छ। अझै प्रहरीले ‘न्यारो डाउन’ तरिकाले हत्याकाण्डको छानबिन भइरहेको भन्दै आएको छ।

हत्या भएको चार महिना बित्नै लाग्दा निर्मलाका बुबा यज्ञराज पन्त र उनका धर्मपत्नी दुर्गादेवी पन्त धर्नामा बसेका छन्। कात्तिक २५ गतेदेखि धर्नामा बसेका निर्मलाका आमाबुबा मंसिरको कठयांग्रिदो चिसोका कारण बिरामी परेका छन्। ‘न्यायका लागि भौतारिँदै गृहमन्त्रीदेखि प्रधानमन्त्रीलाई गुहारेँ केही सीप चलेन। बाध्य भएर धर्नामा बसेको छु। न्याय नपाए यहीँ प्राण त्याग्छु। धर्ना छाडदिनँ’ यज्ञराजले भने, ‘धर्ना तुहाउनका लागि प्रशासनले काठमाडौं पठाउछौँ भनेर अश्वासन दिने गरेको छ। ठेला चलाएर गुजारा चलाउँदै आएका छौँ। अहिले मागेर गुजारा चलाउनुपरेको छ।’

हत्या गरिएकी छोरीको न्यायका लागि धर्नामा बसेकी दुर्गादेवी पन्तले न्याय पाउने एकदमै आशा मारिसकेको बताइन्। 'चिसोले स्वास्थ्य स्थिति कमजोर भएको छ' उनले भनिन्, ‘न्याय मिल्ने हो कि होइन निश्चित छैन।’

निर्मलाकै न्यायका लागि आन्दोलनमा सहभागी हुँदा घाइते भएका शुरेन्द्र देउवा उपचार खर्च नपाएको गुनासो गर्छन्। ‘आफ्नै खर्चमा अहिलेसम्म उपचार गरेँ। उपचार खर्च पाउँछ भन्छन् तर कहिले पाइने हो ठेगान छैन’ उनले भने। निर्मलाको न्यायका लागि भएको आन्दोलनका क्रममा घाइते भएका ३७ जनाको एउटै भनाइ छ, 'उपचार खर्च उपलब्ध गराइयोस्, सहज रूपमा उपचार गर्न पाइयोस्।'

निर्मलाका बुबा आमाले न्यायका लागि जारी राखेको धर्ना कार्यक्रममा एकबद्धता जनाउन आइपुगेका संविधानसभाका पूर्वसभासद बलदेव बोहराले सरकारले जानीजानी हत्यारालाई लुकाउन खोजेको आरोप लगाएका छन्। 'हत्यारा नसमात्ने नियत छ', उनले भने, ‘हत्यारा सरकारकै संरक्षणमा छ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले धर्नामा बसेका निर्मलाका आमा बुबाको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएकाले कुनै खतरा नरहेको बताए। 'महाकाली अञ्चल अस्पतालबाट चिकित्सक बोलाएर स्वास्थ्य चेकजाँच गराएका छौँ' उनले भने, ‘सबै ठीक छ भनेका छन्। आत्तिनुपर्ने अवस्था छैन। अपराधी पत्ता लगाउनका लागि गहिरो रूपमा अनुसन्धान भइरहेको छ।’ निर्मलाको न्यायका लागि धर्नामा बसेका सबै जनाको एउटै स्वर छ, 'हत्यारा पत्ता लगाइयोस्, कानुनी कारबाही गरी पीडित परिवारलाई न्याय दिइयोस्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.