|

डडेल्धुरा : सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा आजभोलि धार्मिक शक्तिपीठको पूजाआजासँगै लाग्ने जात्राको रौनकता छाएको छ। धार्मिक परम्परासँगै मौलिक संस्कृतिका साथ जाँत हुने भएकाले गाउँघरामा रौनकता छाएको हो।

जाँतमा देवी–देवताको पूजा आजसँगै धामीको नाच, स्थानीय मौलिक बाँजागाजासँगै चौलो, देउडा हुने गरेकाले जाँतमा रौनकता थपिएको हो। यहाँका गाउँघरमा अहिले दैनिक रूपमा कुनै न कुनै देवी देवताको पूजाआज गरी जाँत भइरहेको छन्।

आइतबार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित जिल्लाकै ठूलो जाँत मध्येको ‘बडाल जाँत’सम्पन्न भएको छ। शनिबार बेलुकीदेखि पूजाआजासंगै धार्मिक विधिवत रपमा सुरु भएको जाँत आज बेलुकी सम्पन्न भएको हो।

धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा शनिबार बेलुकीदेखि विधिवत रुपमा देवताको पुजाआजा सुरु भएसँगै आइतबार बिहान भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मेला शुभारम्भ भएको थियो। शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहिआएको छ।

दाइन, दमाह, रुइसिंग, भोकर बाजागाँजाका साथ स्थानीय हातमा ढाल तरवार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्दछ। डडेल्धुराका विभिन्न क्षेत्र, डोटी, बैतडी र भारतको उत्तराञ्चल प्रदेशबाट समेत भक्तजनले मेला भरेको मेला व्यस्थापन समितिका अध्यक्ष पूर्णबहादुर देउवाले जानकारी दिए।

ढाल दरवार खेलाई नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ। यस मेलामा स्थानीयको उत्पादन पनि साटासाट हुने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.