|

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकाल थप दुई महिना थपिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले नेविसंघको म्याद थप दुई महिना थप्ने निर्णय गरेको हो। तर, उक्त निर्णयमा सभापति शेरबहादुर देउवाइतर समूहले असहमति जनाएको छ। यो निर्णय केन्द्रीय समितिले बहुमतबाट पारित गरेको हो।

यसअघि नेविसंघको विधानको भाग ९ को धारा २६ अनुसार आइतबार मध्य रातमा नेविसंघको थप गरिएको तीन महिनाको कार्यकाल सकिँदै थियो। उक्त धारालाई परिमार्जन गर्दै थप पाँच महिना थप्ने व्यवस्था गरेको हो।

यसअघि उक्त धाराअनुसार नेविसंघको तीन महिना मात्र कार्यकाल थप्न पाउने व्यवस्था थियो। पार्टीले भने अब दुई महिना थप गरेको छ। यसअघि तीन महिना र अहिलेको दुई महिना गरेर पार्टीले नेविसंघको म्याद पाँच महिना थप्ने निर्णय गरेको केन्द्रीय सदस्य गुरु घिमिरेले जानकारी दिए। 

सभापति समूहले बहुमतको बलमा उक्त निर्णय गरेको भन्दै सभापतिइतर समूहका नेताहरूले भने असहमति जनाएका छन्। सभापतिइतर समूहका नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र अर्जुनरसिंह केसीले असहमति जनाएका हुन्। ‘यो निर्णय सर्वसम्मत भएको होइन’, नेता प्रदीप पौडेलले भने,‘सभापति समूहले बहुमतको बलमा गरेको हो। महाधिवेशनका लागि दुई महिना पर्याप्त हुँदैन।’

बैठकको सुरुमै सभापति देउवाले दुई महिना कार्यकाल थप्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई सभापति समूहले बहुमतको आधारमा पारित गरेको हो। बैठकमा पौडेल समूहले नेविसंघ विघटन गरेर तदर्थ समिति बनाउन प्रस्ताव गरेका थिए भने सिटौला र केसी समूहले दुई महिना पर्याप्त नहुने भन्दै छ महिना थप गर्नुपर्ने प्रस्ताव राखेका थिए। दुई दिनको प्रयासपछि कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो। शनिबार पनि करिब ६ घण्टाको रस्साकस्सीपछि बसेको बैठक बसेको पाँच मिनेटमै स्थगित भएको थियो। आइतबार २ बजे बोलाइएको बैठक नेताहरूबीच चार घण्टा सहमतिको प्रायसपछि मात्र बस्न सफल भएको थियो। 

लामो रस्साकस्सीपछि भएको बैठकले पनि सर्वसम्मत निर्णय गर्न सकेन। खासगरी संस्थापनइतर समूहका नेताहरूबीच नै साझा धारणा नआउँदा देउवा समूहले बहुमतको आधारमा उक्त निर्णय गरेको हो। बैठकले नेविसंघमा ३२ वर्षको उमेर हदसमेत लगाउने निर्णय गरेको छ। बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, नवीन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, शंकर भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो धारणा राखेका थिए।

यसैबीच पार्टीको उक्त निर्णयप्रति नेविसंघका अध्यक्ष नैनसिंह महरले आपत्ति जनाएका छन्। उनले दुई महिनाको समयमा महाधिवेशन गर्न नसकिने बताएका छन्। यसअघि उनले दुई महिना मात्र कार्यकाल थपे राजीनामा दिने आफू निकटका विद्यार्थी नेता प्रेमराज जोशीलाई बताएका थिए।

बैठक सकिएपछि उनी मोबाइल अफ गरेर बसेका छन्। बैठक सकिने बितिकै उनलाई सम्पर्क गर्दा बुझेर प्रतिक्रिया दिने बताएका थिए। ' बैठक भर्खर सकिएको छ। म बुझेर फोन गर्छु', उनले थाहाखबरसँग भने। त्यसपछि केही समयमा उनलाई सम्पर्क गर्दा उनको मोबाइल अफ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.