|

काठमाडौं : हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी। चार महिनासम्म पूजा गरिएको तुलसीको विवाह गर्ने पर्वको रूपमा यस दिनको महत्त्व छ। विशेषगरी वैष्णवहरूले यो पर्व धुमधामका साथ मनाउँछन्।

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोपी चार महिनासम्म पूजा गर्ने र यसै दिन विवाह गरी द्वादशीमा विसर्जन गर्ने परम्परा छ। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न) को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको पूजा विसर्जन गरिन्छ।

आषाढ शुक्ल एकादशीको दिन 'क्षीर' सागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पं.बालमुकुन्द देवकोटा बताउँछन्।विष्णुको अर्को नाम हरि हो। शयनी अर्थात् सुत्ने। बोधिनीको अर्थ हुन्छ उठ्ने। यसैले यी दुई एकादशीको महत्त्व विशेष छ।

भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने उल्लेख छ। भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन्।कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ।

यो अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्रमा मेला लाग्छ। भीष्मपञ्चकभरि भगवान् विष्णुको आराधना गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वासका साथ काठमाडौं उपत्यकाका चार नारायण (चाँगु, विशंखु, इचंगु र शेष) लगायत बुढानीलकण्ठमा  श्रद्धालुको मेला लाग्छ।

अहिले बृहस्पति अस्त भए पनि प्रत्येक वर्ष गरिने चतुर्मास व्रत समापन गर्न हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष धर्मशास्त्राचार्य प्राडा रामचन्द्र गौतमले बताए। तिथि टुटफुट नहुने अर्थात् अहाेरात्र रहने मान्यता रहेको वैदिक कालगणनाका अनुयायीले भने हिजै एकादशी मनाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.