|

सल्यान : जिल्ला अस्पताल सल्यानमा शल्यक्रिया गर्ने चिकित्सक नहुँदा शल्यक्रिया सेवा प्रभावित भएको छ। दुई साता यता चिकित्सक नहुँदा बिरामीहरु मर्कामा परेका छन्।

अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले पठाएका डाक्टरले शल्यक्रिया सेवा दिंदै आएकोमा कात्तिक १४ गते डाक्टरको समयावधि सकिएको र अर्को चिकित्सक नभएकाले सेवा प्रभावित भएको स्वास्थ्य कार्यालयका प्रमुख डा. अर्जुन बुढाले बताए। चिकित्सकको अभावमा यस अवधिमा शल्यक्रिया गर्नुपर्ने अवस्थाका २५ जना बिरामी दाङ रिफर गर्नु परेको डा. बुढाले जानकारी दिए।

शल्यक्रिया सेवा बन्द हुँदा सुत्केरी सेवा लिन आएकी २३ वर्षीया अमृता बुढाथोकी दाङ जान बाध्य भएकी छन्। गाउँ घरमै सहज रुपमा पाइने सेवा चिकित्सकको अभावमा लिन नपाउँदा दुखित भएको बुढाथोकीले बताइन्। सामान्य शल्यक्रियाका लागि पनि बाह्य जिल्ला जानु परेको उनको दुखेसो छ।

शल्यक्रिया गर्ने चिकित्सकको अभाव हुँदा बिरामीलाई सास्ती खेप्नु परिरहेका डा. बुढाले बताए। ‘पहिले हामीले यसै अस्पतालबाट शल्यक्रया सेवा दिने गरेका थियौं,’ उनले भने, ‘अहिले चिकित्सकको अभावमा सेवा दिन सकेका छैनौं, यहाँ आएका बिरामीलाई अन्य स्थानमा रेफर गर्नु पर्दा विरामीले दुःख पाउने गरेको देख्दा म दुःखी भएको छु।’

जिल्लाका बिभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थाहरुले शल्यक्रया गर्नुपर्ने बिरामीहरुलाई जिल्ला अस्पतालमा पठाउछँन्। तर जिल्लामा शल्यक्रिया गर्ने चिकित्सक नहुँदा महँगो शुल्क तिरेर जिल्लाबाहिर जान बाध्य भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.