भन्छन्, जीवन सुन्दर उपहार हो, खुशीले काममा खट्नुपर्छ

|

पर्वत :जिल्लाका सफल कृषकहरूको नाम लिने हो भने अग्रपंक्तिमा आउने र चर्चा हुने नाम हो रुक्मांगत न्यौपाने अनि उनकी श्रीमती जुनुकुमारी न्यौपाने। जिल्लाको विकटमा रहेको पैयूँ गाउँपालिकाको टकलाकमा बसोबास गर्ने यो जोडीको चर्चा भने त्यसै भएको होइन। शारीरीक रूपमा अपांगता भएका यो जोडीले सञ्चालन गरिरहेको कृषि फर्मका कारण उनीहरू सबैका लागि उदाहरणका पात्र बनेका छन्।

दुवै घुँडाभन्दा तल्लो भाग नभएका रुक्मांगत ह्विलचियरको सहायताले घरदेखि खेतबारीसम्म पुगेर काममा खट्छन् भने बायाँ हात नभएकी उनकी पत्नी जुनुकुमारी आफ्ना पतिलाई सघाइरहेकी देखिन्छिन्। यी दम्पतीले गाउँमा कृषि फर्म सञ्चालन गरेका छन् जसमा उनीहरू बिहानदेखि बेलुकासम्म व्यस्त हुन्छन। अपांग भए पनि सांग व्यक्तिको भन्दा धेरै मिहिनेत र सफलताका कारण उनीहरू प्रेरणाको स्रोत बनेका छन्।

‘जीवन सुन्दर उपहार हो, खुशीले काममा खट्नुपर्छ। यो अझै सुन्दर हुन्छ।’ बारीमा तरकारी गोड्दै गरेका न्यौपानेले भने। अपांगता भयो भनेर सकेको काम पनि नगरी रुँदै हिँड्नु राम्रो नहुने उनको भनाइ छ।

बारी खन्ने, पोलिथिनमा माटो भर्ने लगायतका सक्नेजति सबै काम आफैँले गर्ने गरेका न्यौपाने अाफूले गर्नै नसक्ने खालका काम गर्नुपर्दा मात्र खेताला खोज्ने गरेका छन्। नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनलाई जागिर खाने सोच भने कहिल्यै पनि पलाएन। ‘जागिर खान्छु भने त मलाई कहिल्यै पनि सोच नै आएन।,’ उनी थप्छन, ‘सानै उमेरबाट केही ने केही व्यवसाय वा उद्यम गर्नुपर्छ भन्ने मेरो सोच थियो। त्यो सपना पूरा पनि गरेको छु।’ 

न्यौपाने दम्पतीले सञ्चालन गरेको कृषि फर्ममा अहिले झण्डै ३० हजार कफी, चार हजार कुरिलोका बिरुवा र विभिन्न मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ। चार ओटा टनेलमा गोलभेँडा, एउटा टनेलमा च्याउ खेती गरिरहेका उनीहरुले विभिन्न प्रजातिका डाले घाँस र भुइँ घाँस पनि रोपेका छन। अपांगता भएका व्यक्तिले तरकारी खेती गर्छौँ भन्दा सबैले उडाएको सम्झिँदै जुनुकुमारी भन्छिन, ‘ऊ बेलामा खेतीमा लाग्छौँ भन्दा कसैले पत्यार गरेन। अहिले तरकारी किन्न सबै हामीकहाँ आउने गरेका छन्, सबैले अपांगता भएकाले पनि यस्तो गर्न सक्दा रहेछन भनेर प्रंशसा गरिरहेका छन्। यसमा गर्व लाग्छ।’

उनीहरूले ०६८ सालबाट उनीहरूले बेमौसमी तरकारी खेती मार्फत कृषि क्षेत्रमा व्यवसायिक रूपमा लागेका न्यौपानेले तरकारी, कफी, च्याउखेती, कुरिलो र गड्यौँले मल बेचेर वार्षिक झण्डै पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। टकलाक सिचाइँको समस्या रहेको ठाउँ भएका कारण रुक्मांगतले सिचाइँका लागि आवश्यक पर्ने पानी जम्मा गर्नको लागि ५४ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेका छन्। 

‘ख’ वर्गको अपांगतामा सूचीकृत रुक्मांगत र ‘घ’ वर्गको अपांगतामा सूचीकृत जुनु दुवै जनाले राज्यले दिने सुविधा पनि नलिने बताए। आफैँले राज्यका लागि केही योगदान गर्न सक्छौँ भन्ने लागेका कारण राज्यले दिने सुविधा नलिएको उनीहरूको भनाइ छ। न्यौपाने दम्पतीले उत्पादन गरेको तरकारी उनीहरुकै गाउँसहित नजिकैको हुवास, सेतीबेनी तथा स्याङ्जा र पोखरासम्म पुग्ने गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.