काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर उपचार गराएर बालुवाटार फर्किएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। कात्तिक १२ गते बिरामी भएर त्रिभुवन शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री पाँच दिन अस्पतालमा उपचार गराएर बालुवाटार फर्किएका थिए। त्यसपछि उनी बालुवाटार बाहिर सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिएनन्।
मन्त्रिपरिषद्का बैठकसमेत बालुवाटारमै डाँकेका प्रधानमन्त्री सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको एक वर्ष पुगेको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा पुगेका हुन्। अध्यक्ष प्रचण्ड निवास ललितपुरको खुमलटारमा प्रधानमन्त्री ओली श्रीमती राधिका शाक्यसहित उपस्थित भएका हुन्।
प्रधानमन्त्री यसअघि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिमा आयोजित सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए। बालुवाटारमा आयोजित उक्त कार्यक्रममा उनले मन्तव्यसमेत दिएका थिए।
कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदलगायत विभिन्न दलका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।