|

बाँके: नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता प्रदान गरे पनि बाँकेमा सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अत्याधिक छ। यस्तै गर्भपतन गराउनेमा अविवाहित महिलाको सङ्ख्या बढी देखिएको छ।

जाजरकोट छेडागाड नगरपालिकाकी एक युवतीले आफ्नो तीन महीनाको गर्भपतन गराउन भारतको बहराइच पुगिन्। ती महिलाले नेपालमा गर्भपतन गराउँदा समाजले थाहा पाउने डरले आफन्तको साथमा भारत पुगेकी हुन्। भारतको एक निजी क्लिनिकमा गर्भपतन गराएर फर्किएपछि उनको स्वास्थ्यमा गम्भीर समस्या देखापर्‍यो।

अत्यधिक रक्तश्राव भएपछि उनी फेरि भारत गइन् बारम्बार उपचारका लागि भारत जाने आउने गर्दा समय र आर्थिक क्षति बेहोर्नुपयो। भारतमा स्वास्थ्य परीक्षणपछि कात्तिक २७ गते नेपालगञ्ज फर्किएकी ती महिलाले भनिन् 'यहाँ गर्भपतन गर्‍यो भने समाजले थाहा पाउला भन्ने डरले भारत गएकी हुँ।' उनको गर्भपतन गराउँदा भारतीय चिकित्सकले महङ्गो शुल्क लिए। उनले गर्भपतनका लागि मात्र १५ हजार खर्च गरेको बताइन्।

उनीजस्ता गाउँका थुप्रै महिला कानूनी अज्ञानता र समाजको डरका कारण समस्यामा पर्ने गरेका छन्। सुरक्षित गर्भपतनका लागि नेपालका अस्पतालमा एक हजारदेखि एक हजार ५०० सम्म मात्र खर्च लाग्छ भन्ने ती महिलालाई जानकारीसम्म भएन। आर्थिकरुपमा त क्षति बेहोरिन् नै अब उनको स्वास्थ्यसमेत कमजोर बन्न पुग्यो।

उनले भनिन्, “हाम्रै देशमा गर्भपतन हुन्छ, भन्ने मलाई थाहा छैन । गाउँमा घाँस दाउरा गर्छु, पढे लेखेको छैन । हामीजस्ता महिलालाई के थाहा ?” उनका श्रीमान् नरबहादुर भारतमा मजदूरी गर्नुहुन्छ । उनलाई पनि नेपालमै गर्भपतन गराउने व्यवस्था छ भन्ने जानकारी नहुँदा र छिमेकीले थाहा पाउलान् भन्ने डरले भारतीय बजारमा पुगेको नरबहादुर बताउनुहुन्छ ।

कानूनी अज्ञानता र चेतनाको अभावका कारण गर्भपतन गराउन भारतका शहर पुग्ने महिलाले त्यहाँ अमानवीय व्यवहारसमेत सहनुपर्छ। गर्भपतनपछि अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सल्लाह नपाउँदा कतिपय महिलाको स्वास्थ्य थप जोखिममा पर्ने गरेको छ। नेपालमै सुरक्षित र भरपर्दो गर्भपतनको सुविधा हुँदाहुँदै पनि त्यसको जानकारी नपाएकै कारण ग्रामीण समुदायका महिला खर्चिलो र जोखिमपूर्ण ढङ्गबाट गर्भपतन गराउन बाध्य भएका हुन्।

सरकारले २०६० सालमा सुरक्षित गर्भपतन सेवा गरेपछि देशका विभिन्न स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा दिइरहेको छ। कानूनमा १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन पाउने व्यवस्था छ। अशक्त महिला तथा विभिन्न कारणले गर्दा गर्भपतन गराउनुपर्ने भएमा सम्बन्धित निकायको सिफारिसमा गर्भपतन गराउन पाउने व्यवस्था पनि छ।

नेपालको प्रचलित कानूनअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानून विपरीत भनेको छ। पछिल्लो समयमा खुला सिमानाका कारण गर्भपतनको अवस्था निकै जटिलसमेत बन्दै गएको छ। असुरक्षित रुपमा गर्भ बोकेका महिला तथा छोरा जन्माउने आशमा लिङ्ग पहिचान गरी भारतीय बजार रुपैडिहा, बहराइच हुँदै लखनउसम्म पुगेर असुरक्षित गर्भपतन गराउने गरेका छन् ।

भारतीय बजारमा पुगेर गर्भपतन गराउने महिलाको सङ्ख्या यकिन नभए पनि बर्षैपिच्छे बढ्दो क्रममा रहेको जनाइएको छ। नेपालभित्र गर्भपतन गराउँदा सामाजिक रुपमा अपमान हुने र अरुले थाहा पाउने भन्दै नेपाली महिला भारतीय बजारमा पुगेर असुरक्षित गर्भपतन गराउने गरेका छन्।

बाँकेबाट मात्र नभई साबिक मध्यपश्चिमका जिल्लाबाट समेत गर्भपतनका लागि भारतीय बजारमा पुग्ने गरेका छन् । तीमध्ये खासगरी ग्रामीण क्षेत्रका महिला बढी गएको पाइन्छ।

लिङ्ग पहिचानपछि गर्भपतन गराउन कानूनले बन्देज लगाएपनि अधिकांश विवाहित महिलाले समेत छोराको आशमा गर्भपतन गराउँदै आएको भेरी अञ्चल अस्पतालका स्त्री रोग विशेषज्ञ कल्पना थापाले बताइन्। डा थापाका अनुसार धेरैपटक गर्भपतन गराउँदा महिलाको पाठेघर खस्ने खतरा पनि उत्तिकै हुने गरेको छ। उनले भनिन् 'छोटो अवधिमा धेरैपटक गर्भपतन गराउँदा स्वास्थ्य कमजोर बन्दै जान्छ र पाठेघर नै फाल्नुपर्ने अवस्था आउन सक्छ।'

डाक्टरलाई १२ हप्ते र नर्सलाई आठहप्ते विशेष तालीम दिएर मात्रै गर्भपतनको अनुमति दिइन्छ। कानूनतः तालीम प्राप्त जो कोहीबाट आठ सातासम्मको र विशेष परिस्थितिमा १८ सातासम्मको गर्भपतन गराउन पाइन्छ। यसका साथै १८ साताको गर्भपतन सेवा विशेष स्त्री रोग विशेषज्ञको सिफारिसमा निश्चित ठूला अस्पतालमा मात्रै उपलब्ध छ।

कतिपयले असुरक्षित गर्भपतन गराउँदा ज्यानसमेत गुमाउनु परेको छ। असुरक्षित गर्भपतनलाई रोक्न सुरक्षित गर्भपतनका बारेमा गाउँगाउँमा चेतना फैलाउन आवश्यक देखिन्छ।

जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या बढ्दो छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार वार्षिक करीब पाँच हजारको हाराहारीमा सुरक्षित गर्भपतन गरे पनि असुरक्षित गर्भपतन गर्नेको तथ्याङ्क भने भेटिदैन । कार्यालयका सामाजिक स्वास्थ्य प्रमुख सरिता चन्दले भनिन् 'असुरक्षित गर्भपतन गर्नेहरुको यकिन तथ्यांक हामीसँग हुँदैन । सीमापारि गएर लुकिछिपी औषधि सेवन गर्ने र निजी स्वास्थ्य संस्थामा असुरक्षित गर्भपतन गराउने पनि छन् यसको तथ्यांक हामीसँग हुँदैन।'

स्वास्थ्यकर्मीका अनुसार यही अवस्थामा गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भए छोराको सङ्ख्या बढ्ने र छोरीको सङ्ख्या घटेर वैवाहिक सम्बन्धमा समेत असर पर्ने देखिन्छ। बढ्दो आधुनिकीकरण,वैदेशिक रोजगारी,युवा अवस्थाको प्रेम,छोराको चाहनालगायत कारणले गर्भपतन गराउनेको सङ्ख्या बढेको उनले बताइन्।

 सामाजिक संस्कार,सेवा दिने संस्था महिलामैत्री नहुनु तथा निःशुल्क सेवा नपाएका कारणले यस क्षेत्रका अधिकांश महिला र युवतीले अझै पनि सीमापारि गएर असुरक्षित गर्भपतन गराउने गरेका छन्।

सुरक्षित गर्भपतन सेवा प्रभावकारी कार्यक्रमका रुपमा देखिए पनि यसका कारण परिवार नियोजन गर्ने दर यथावत् रहकोले दीर्घकालीन रुपमा असर पर्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ। सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालमा प्रतिबन्धित गर्भपतन गराउने औषधि नेपालगञ्जमा भित्रिरहेकाले समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ । नेपालमा प्रतिबन्धित यस्ता औषधिका कारण महिलाको ज्यान उच्च जोखिममा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.