|

पर्सा : जिल्ला प्रहरी कार्यालय पर्साले साबिकको अलौ गाविस हालको वीरगन्ज महानगरपालिका-१७ अलौबाट ठूलो परिणाममा अवैध तरिकाले भारत लाँदै गरेको मटर (केराउ) बरामद गरेको छ। दुईवटा ट्याक्टरमा लोड गरी अवैध तरिकाले भारततर्फ लान थालेको अवस्थामा ट्याक्टरका चालकसहित १२० क्विन्टल मटर प्रहरीले नियन्त्रणमा लिएको हो।

ना१त २५८७ र ना२त ७९१९ नम्बरको दुईवटा ट्याक्टरमा २४० बोरा मटर लोडगरी अवैध बाटोबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा दुईवटा ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले बताए। प्रहरीले नियन्त्रणमा लिएको दुवै सवारीमा लोड गरी ल्याएको मटरको कुल परिणाम १२० क्विन्टल रहेको उनको भनाइ छ। पक्राउ परेका ट्याक्टरका चालक राजेश महतो र राम विनय राम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

प्रहरीले नियन्त्रणमा लिएको मटर मेरो भनी अहिलेसम्म कोही दाबी गर्न नआएकोले अझैसम्म यो सामान यसैको हो भनी यकिन भने भइनसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए। पक्राउ परेका मानिस सवारीका चालक मात्र भएकोले वास्तविक सामान धनी अरू नै रहेको प्रहरीको अनुमान छ।

प्रहरीले आफ्नो तर्फबाट गर्ने अनुसन्धान भने गरिरहेको छ। केही भरपर्दो सूचनाहरु प्रहरीलाई आइसकेको भए पनि प्रहरीले धेरै सयम सामान राखिराख्न नमिल्ने कानूनी प्रावधानले थप अनुसन्धान र कारबाहीका लागि सामान, सवारीसहित मानिसलाई सोमबार नै वीरगन्ज भंसार कार्यालय पठाउने तयारी भइरहेको उपरीक्षक राईले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.