०५५ मा बासुदेव लुइँटेलको आँगनबाट सिस्‍नुपानीको पहिलो देउसी

|

काठमाडौं : हरेक वर्ष दसैँ  सकिएलगत्तै नेपालीहरूमा तिहारको रौनकताले छोपिहाल्छ। घरदेखि पँधेरोसम्म। गाउँदेखि सहरसम्म। तिहारको रमाइलो पक्ष भनेको देउसी भैलो हो। र‌गीविरंगी प्रकाश हो। यसको रमाइलो पक्षमा अर्को विशेषता पनि जोडिएको छ। तिहारमा सिस्‍नुपानी नेपालको देउसी पनि तिहार आउनुको अर्को रमाइलो पक्ष हो। सिस्‍नुपानीमा अभियानकर्ता तिहारमा नेपाली राजनीतिको घटनाक्रमलाई व्यंग्यात्मक तथा सन्देशमूलक रूपमा देउसी भैलोको तयारीमा लाग्छन्। देउसी भैलोमा व्यंग्यात्मक तथा सन्देशमूलक विषयवस्तु राख्नु सिस्‍नुपानी नेपालको विशेषता हो।

नेपालमा हास्यव्यंग्यको बजार पहिले पनि थियो, अहिले पनि छ र भोलि पनि रहनेछ। सिस्‍नुपानी नेपालको सुरुवात कहिलेदेखि भयो भन्ने आम जनमानसमा चासो रहन सक्छ। सिस्‍नुपानीले कसरी स्क्रिप्ट तयार गर्छ भन्ने आम चासो रहन सक्छ। यस विषयमा सिस्‍नुपानीका अभियानकर्ता मध्येका एक टंक आचार्य सिस्‍नुपानी नेपाल नेपाली साहित्य कला संरक्षण र प्रवर्द्धन गर्न खोलिएको संस्था रहेको बताउँछन्। 'उनी भन्छन्, 'पहिले पहिले मान्छेहरू गाईजात्रा कुरेर बस्थे। अहिले मान्छेहरू सिस्‍नुपानी नेपालको भैली कुरेर बस्छन्। हाम्रो उपलब्धि यही हो।'

सिस्‍नुपानीमा देउसीको स्क्रिप्ट लेखन सामूहिक रूपमा गरिने आचार्य बताउँछन्। स्क्रिप्ट लेखनमा अर्जुन पराजुली, चक्र दवाडी, सरोज घिमिरे, धीरेन्द्र प्रेमर्षि,  स्वयं आचार्य  लगायतले लेख्ने गर्छन्। देउसीको स्क्रिप्टको मुख्य स्रोत के हो भन्ने हाम्रो जिज्ञासामा उनी भन्छन्, 'वर्षभरी देशमा भएका राजनीतिक घटनाक्रम र त्यसले समाजमा कस्ता प्रभाव पारेका छन्। यसको महत्वलाई नै केलाएर नै हामीले स्क्रिप्ट तयार पार्छौं।'

सिस्‍नुपानी नेपालको स्थापना

०५४ तिर टंक आचार्य लगायतका साथीहरू रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्ययनरत थिए। जसले हास्यव्यंग्यकारहरू समेटेर कार्यक्रम गरेका थिए। त्यसमा बासुदेव लुइँटेल,श्याम गोतामे, रामकुमार पाँडे, रोचक घिमिरेको राम्रो मित्रता थियो। केही समयमा नै हास्यव्यंग्यकार श्याम गोतामेको मृत्यु भयो। पशुपति आर्यघाटमा उनलाई जलाएर फर्केर बाघबजारमा बसेका उनीहरू हास्यव्यंग्यकारहरूलाई एक्लाएक्लै भन्दा एकताबद्ध भएर समाजमा आफ्नो क्षमता प्रस्तुत गर्नुपर्छ भनेर कुराकानी भएको आचार्य सम्झन्छन्। देशमा सर्वाधिक रुचाइएको कलाको पाटो, साहित्यको पाटो, अभिनयको पाटोमा आफूहरू लाग्नुपर्छ भनेर सिस्‍नुपानीको स्थापना भएको उनी  आचार्य बताउँछन्। पछिल्लो क्रममा यो संस्था सामाजिक कार्यमा सक्रिय रहेको उनको दाबी छ।

सिस्‍नोपानी नेपालले तिहारमा व्यंग्यात्मक देउसी खेल्न थालेको आजको मितिसम्म आइपुग्दा २० वर्ष भइसकेको छ। ०५५ सालमा बासुदेव लुइँटेलको आँगनबाट सिस्‍नुपानी नेपालको देउसी कार्यक्रम सुरु गरिएको सम्झन्छन् आचार्य। लुइँटेलले सिस्‍नुपानीको हरेक सदस्यले फरक-फरक परिचय दिने गरेको पनि उनी सम्झिन्छन्। सुरुवाती चरण केही खास मान्छेहरूको घरमा गएर देउसी खेल्ने गरेको र पछि मिडिया हाउसहरूमा पनि देउसीको लागि अनुरोध आउने गरेको उनी सम्झन्छन्। जब राजाबाट नागरिकको अधिकार खोसियो तब सिस्‍नुपानीले सर्वोच्च अदालतको प्रांगणमा  गएर स्वर्गीय इन्द्र लोहनीको नेतृत्वमा नागरिक अधिकारको रक्षाको लागि बुलन्द देउसी खेलेको उनी बताउँछन्। हरेक जनताको हकहितका लागि आवाज उठाउँदै जाँदा यसको लोकप्रियता बढ्दै गएको उनको दाबी छ। संस्कृति रक्षाको खातिर, परम्परालाई जगेर्ना गर्नका खातिर, यसको शैली संस्कृति अनुकूल र काम गर्ने तरिका आधुनिक रहेको उनको भनाइ छ। 
'अब बलिराजाको स्तुतिगान गाएर यहाँ केही उपलब्धि हुनेवाला छैन्। यसकारण हामी आधुनिक शैलीले समाज परिवर्तन होस् भनेर लागिपरेका छौँ,' उनी भन्छन्, 'सामाजिक तथा राजनितिक विसंगतिविरुद्ध हामी स्थापनादेखि नै लागिपरेका छौँ। लागिरहन्छौँ।'सिस्‍नुपानी नेपाल कुनै राजनीतिक चर्चा गर्ने संस्था नभई राजनितिक दलका काम, सरकारका कारबाहीहरूको खराब पक्षको खबरदारी गर्ने संस्था रहेको आचार्यले स्पष्ट पारे।

पछिल्ला केही वर्षदेखि यसको लोकप्रियता बढ्दै गएको छ। सुरुवाती दिनमा विभिन्न व्यक्तिका घरमा डुलेर देउसी खेल्ने गर्थे सिस्‍नुपानीका सदस्यहरू। तर, विगत  ५ वर्षदेखि भने प्रज्ञा भवनमा देउसी कार्यक्रम आयोजना गर्न थालिएको  उनी बताउँछन्। त्यहाँ सहभागी सबै कलाकारहरूलाई पारिश्रमिकको व्यवस्था छैन। यद्यपि संस्थासँग केही रकम रह्यो भने खाजा खर्चको मात्र खर्च दिने गरेको सिस्‍नुपानी नेपालका वर्तमान अध्यक्ष लक्ष्मण गाम्नाङे बताउँछन्।

सिस्‍नुपानी नेपालले देउसी खेल्ने कार्यक्रम मात्र गर्दैन। यस संस्थाले विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ। भूकम्प जाँदा होस् वा अहिले समाजमा चलिरहेको महिला हिंसाकाविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.