|

बिर्तामोड : पूर्वका धेरैलाई थाहा छ, सन्थाल समुदायका एकमात्र सांसद् मोहन टुडुले फिल्म खेलेका छन्। सांसद् टुडुको अभिनय रहेको चलचित्र ‘बोनोदल’को विशेष च्यारिटीका लागि  झापा आएका सञ्चारमन्त्री सुरेन्द्र कार्कीलाई चाहिँ यो कुरा थाहा रहेनछ। 

सांसद् टुडुलाई देखाउँदै ठट्यौलो शैलीमा मन्त्री कार्कीले भने,‘हुँदा हुँदा हाम्रो सरोज (मोहन टुडु)ले पनि फिल्म खेलेको रहेछ, मलाई साह्रै खुशी लाग्यो।’ चलचित्र प्रदर्शनको शुभारम्भ कार्यक्रम पनि सन्थाल समुदायकै महिला तलु बास्केले सञ्चालन गरेकी थिइन्। तलुको कार्यक्रम सञ्चालन गर्ने शैली देखेर मन्त्री छक्कै परे। उनले भने, ‘म आज हर्षले गद्गद् भएँ, यी नानी त गहना हुन् समाजका लागि।’

मन्त्री कार्कीले चलचित्रका निर्देशक किरण खतिवडाको पनि प्रशंसा गरे। निर्देशक खतिवडालाई मन्त्रीले ‘प्रतिभाशाली युवा’ भन्न चाहे। देशका सबै भाषालाई ‘हाम्रो भाषा’ भन्न मन्त्रीले आग्रह गरे। आफूलाई सन्थालको धेरै कुरा थाहा भएको बताएका मन्त्री कार्कीले चलचित्र ‘बोनोदल’ समाजका लागि उपहार भएको टिप्पणी गरे। 

नेपालमै पहिलो पटक बनेको सन्थाल भाषाको चलचित्र ‘बोनोदल’ गाउँगाउँमा प्रदर्शनमा आएको छ। यस चलचित्रमा सन्थाल जातिका कलाकारहरुलाई अभिनय गराइएको छ। कुनै पनि कलाकारले यसअघि क्यामेरा फेस गरेका थिएनन्। 

भारतको झरखण्ड लगायत ७ वटा प्रान्तमा सन्थालको बसोबास छ। त्यसकारण भारतमा पनि चलचित्र प्रदर्शन गर्ने निर्माण पक्षको योजना छ। ९ वर्ष सन्थालको सम्पूर्ण कुरा अध्ययन गरिसकेपछि खतिवडाले चलचित्र बनाएका हुन्। झण्डै ४० लाख रुपैयाँमा चलचित्र निर्माण सकिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • यो चलचित्र वास्तवमा ब्यवसायिक उद्देश्यले वा सेवा गर्ने उद्देश्य ले निर्माण गरिएको हो?यदि ब्यवसायिक हो भने 'च्यारिटी' भन्ने शब्द किन प्रयोग गरिएको हो?यसको अर्थ त सेवा हो,यदि सेवा को उद्देश्य हो भने अति न्यून दरमा टिकट उपलब्ध गराईनू पर्छ र उठेको रकम लाई समाज सेवा लगाईनू पर्छ।लगानी सँग सरोकार हूनू हूँदैन यथार्थ रूपमा सेवा गर्ने हो भने र सेवा नै हो भने उठेको रकम कोष कून क्षेत्रमा सदूपयोग गरिनेछ?स्पष्ट पारिदिनू होला।धन्यवाद।