|

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताएका छन्। त्यसका लागि कसरी, कति मात्रामा बढाउने भनेर अर्थमन्त्री डा. युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको मन्त्री खनालले बताए। १० जिल्लाबाट आएका केरा उत्पादक संघका अध्यक्षहरूको ज्ञापनपत्र बुझ्दै मन्त्री खनालले अर्थमन्त्रीसँग बिजकीकरणालाई हेरेर भारतबाट आयातित घ्यूमा जस्तै भन्सारको दर रेट समायोजन गर्ने गृहकार्य भइरहेको बताए।

अहिले भारतबाट केरा आयात गर्दा ५ प्रतिशत भन्सार दर लाग्ने गरेको छ। केरा व्यवसायीले त्यसलाई बढाएर ३० प्रतिशत पुर्‍याउनुपर्ने माग गरेका छन्। त्यसो गर्दा भारतबाट आयातित केरामा प्रतिस्‍पर्धा गर्न सकिने र नेपाली केरा डम्पिङ गर्नुपर्ने समस्या समाधान हुने उनीहरूको भनाइ छ। राज्यको नीति सही हुने र नेपाली उत्पादनलाई प्रवर्धन गर्ने हो भने नेपाल केरामा गुजारा चलाउने अवस्थामा रहेको मन्त्री खनालको भनाइ छ। भन्सार समायोजन गर्ने, महँगो भए पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र लागत मूल्य घटाउनेबारे स्पष्ट नीतिको आवश्यकता रहेको भन्दै आफूले त्यसका लागि पहल गर्ने खनालको भनाइ थियो।

व्यवशायीले कैलाली,  कंचनपुर र बारा लगायतका जिल्लाहरुमा केराको जोन बनाउनको लागि आवश्यक मापढण्ड पूरा भएकोले केराको जोन तथा सुपरजोन घोषणा गरी प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना लागू गरिनुपर्ने, कृषकलाई कृषि व्यवसायको लागि सहुलियत कृषि ऋणको व्यवस्था गरिनु पर्ने  र हाल केरा व्यवसायमा प्रयोग भएको थोपा सिचाई प्रविधिमा प्रयोग हुने पानीमा घुलनशील मलको व्यवस्था गरिनुपर्ने, भन्सारमा अन्डर बिल तथा अन्डर परिमाणको माध्यमबाट राजश्व छली भइरहेको र आलु, केरा तथा अन्य तरकारीको आयातमा अन्य अवैध वस्तु जस्तो मिठाई, कालो प्लाष्टिक व्याग, चिनी लगायतका वस्तुको आयात भइरहेकोले आयातित बस्तुको कडाइका साथ चेकजाँच तथा परिमाण यकिन गरी भन्सार छलीको अन्त्य गरिनुपर्नेलगायत ७ बुँदे माग मन्त्री खनाललाई बुझाएका छन्।

कैलाली कंचनपुर, बाँके बर्दिया, दाङ, रुपन्देही, नवलपरासी, चितवन, बारा, सर्लाही, मोरङ, सुनसरी लगायतका जिल्लामा करिब १८ हजार  हेक्टरमा २५ हजार कृषकले व्यवसायिक केराखेती भइरहेको छ भने ५० हजार युवाले रोजगारीको अवसर प्राप्त गरेको व्यवसायीको दाबी छ। उक्त केरा खेतीबाट झण्डै  ७ लाख मेट्रिकटन वार्षिक उत्पादन भइरहेको छ। अहिले झण्डै २५ हजार कृषकले व्यावसायिक केराखेती गरिरहेका चितवन केरा उत्पादक संघका अध्यक्ष यज्ञप्रसाद सुवेदीले बताए।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.