|

दैलेख : नेपाल मजदुर किसान पार्टीबाट विद्यार्थी राजनीति गर्न सुरु गरेकी सावित्री मल्ल २०५३ सालमा नेकपा एमाले पार्टी संगठित सदस्य हुँदै एमालेका जनवर्गीय संगठन अखिल नेपाल महिला संघ जिल्ल्ला कमिटीमा राजनीति गर्दै २०५४ को स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भइन्। जिल्ला विकास समितिको मनोनीत क्षेत्रपाल सदस्य भएर पार्टी जिल्ला कमिटी सदस्य बन्दै पार्टीको सचिवालय सदस्य बनिन्। जननिर्वाचित उपप्रमुख बन्दै अहिले प्रदेश पार्टी कमिटी सदस्य बनेकी मल्ल २०६२/०६३ को जनआन्दोलनमा समेत सक्रिय थिइन्। 

अहिले नारायण नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएकी सावित्री मल्लसँग स्थानीय तहको निर्वाचनमा विजयी भएर डेढ वर्षको अवधिमा गरेका काम र निर्वाचनको समयमा जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न बनाएका योजना के कति सफल भए भन्ने विषयमा केन्द्रित भएर थाहाखबरकर्मी उदयराज अधिकारीले गरेको कुराकानी प्रस्तुत छ। 

कार्यकालको दुई वर्ष पुग्न केही महिना बाँकी छ, यस अवधिसम्म सम्झनलायक केके काम गर्नुभयो? 

हामीले थुप्रै कामहरू गर्‍यौँ, थुपै कामहरू भन्नाले बाटो, पानीका मात्र कुराहरू नभएर सबै आमनगरबासीहरूको हितमा हुने समृद्ध नगर र सुखी नगरबासीहरू स्वस्थ शहरबासीहरूलगायतका हामीले राम्राराम्रा सम्झनलायक कामहरू गरेका छौँ।

शिक्षामा पनि थुप्रै काम गरेका छौँ। नयाँ काम भनेको स्वास्थ्य क्षेत्रमा मेरो आफ्नै अध्यक्षतामा स्तनपान कक्षको स्थापना गरेकी छु। यो कर्णाली प्रदेशकै नमुना काम हो। अहिले बाहिरबाट आउने कर्मचारी सेवाग्रहीहरू कुनै अन्य महिलाहरू आउनुभयो भने स्तनपान कक्षमा बच्चाबच्चीहरूलाई स्तनपान गराउनुहुन्छ।

अर्को काम 'असल आमा' भन्ने एउटा कार्यक्रम जोडेर असल आमाहरूलाई पनि भेला गराएर पुरस्कार दिएर सम्मान गरेका थियौँ। वृद्धवृद्धाहरूलाई सम्मान गर्ने कार्यक्रम पनि गरेका थियौँ। सबै काम एकैचोटि नहुने भएकाले क्रमागत रूपमा गरिरहेकै छौँ। 

घोषणापत्रमा दैलेख जिल्ला अस्पतालाई सुविधा सम्पन्न अस्पताल बनाई १०० शैय्याको अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ भन्नुभएको रहेछ। त्यो काम सुरु भयो कि भएन?

घोषणापत्रमा सय शैय्या भनेर जुन कुरा बोलेका थियौँ, अहिले पचास शैय्यासम्म बनाउने काम अगाडि बढेको छ।

त्यो काम गर्न हामीलाई नगरको बजेटले मात्र नपुगने भएकाले नगरबाट विशेष गरेर सम्बोधन पनि गरेका छौँ। प्रदेश, संघ र तिनै तहका सरकारसँग यो काम गर्नलाई सहयोग मागेका छौँ। हामीले अहिलेको वर्ष पचास शैय्याको बनाउने भनेर प्रतिबद्धता जाहेर गरेका छौँ र काम पनि अगाडि बढाइरहेका छौँ। अहिले नै सय शैय्याको बनाउन नसके पनि पाँच वर्षभित्र त्यो काम पूरा गर्नेछौँ।

तपाईं अनुगमन समितिको संयोजकका हिसाबले नगरपालिकाले संचालन गरेका विभिन्न विकास निर्माणका काममा कति गुणस्तरीयता पाउनुभएको छ?

नगरबासीहरूले पनि भन्नुहुनेछ। म आफैँ उपप्रमुखको संयोजकत्वमा गरेका जुन अनुगमनका कामहरू छन्, जाली बुन्नेबाट स्टिमेटअनुसारका कामहरू भए भएनन् भनेर आफैँ गएर वडा वडामा अनुगमन गरेकी छु। नारायण नगरपालिकामा ११ वटा वडा छन्। ११ वडामा सबैभन्दा राम्रो नमुनायोग्य काम भएको छ भनेर म भन्दिनँ किनभने आफैँ अनुगमनको संयोजक आफैँले बजेट व्यवस्थापन गर्ने, आफैँले अनुगमन गरेर कहाँ राम्रो कहाँ नराम्रो भनेर भन्नुपर्छ भनेर जनताबाट पनि कुरा आइरहेको छ। राम्रो कामको मूल्यांकन भएको छ। नराम्रो काम रोक्नुहोस् भनेर रोकिराखेका छौँ। 

अहिलेसम्म नभएका कति कामहरूको भुक्तानी रोक्नुभयो? 

कोतगढी, पञ्चदेवल, बेलासपुरलगायतका पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेका छौँ। तत्कालै काम नदेखिए पनि चार वर्षभित्र यी सबै पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्नेछ। पर्यटकहरूको आवतजावतले नारायण नगरपालिकाको आर्थिक विकासमा ठूलो टेवा पुग्ने देखिन्छ र धार्मिक तथा पर्यटकीय स्थलहरूलाई अगाडि बढाएर काम गरेका छौँ। 

नभएका कामहरू हेर्नुपर्छ। स्टिमेटअनुसार काम भएको छ कि छैन? दिन मिल्ने बिल हो कि होइन? हामीले क्राइटेरिया तोकेका छौँ। हामीले अनुगमन गरेर यो काम ठीक भएको छ, भुक्तानी दिनुहोस् भनेका छौँ। ठीक भएको छैन भने भुक्तानी नदिनुहोस्, स्टिमेटमा जति काम भएको छ, त्यतिको मात्र भुक्तानी दिनुहोस् भन्छौँ। नभएका कामहरूको भुक्तानी रोकेका छौँ। काम सिध्याउनुहोस् र भुक्तानी लिन आउनुहोस् भनेर बेलाबेला भनी पनि रहेका छौँ। 

भनेपछि नारायण नगरपालिकाभित्र भएका विकास निर्माणका कामहरू सबै ठीक छन्?

सबै ठीक छन् भनेर भन्न मिल्दैन किनभने कतिपय बाटा अधुरै छन्। बर्खामा गिट्टी बालुवा ल्याउन गाह्रो भएका कारण सबै काम आधाआधा मात्र भएका छन्। ठीक छ पनि भन्न सकिँदैन, सबै काम गुणस्तरीय छन् पनि भन्न सकिँदैन। केही राम्रा कामहरू पनि छन्। राम्रा कामहरू मैले भनिसकेँ। हामीले बोलेका कुराहरू पूरा गर्ने हो। पाँच वर्षभित्र पूरा गर्ने तयारीमा छौँ। दोस्रो नगरसभाबाट हामीले हालेका योजनाहरू सबै सुचारु रूपमा भइरहेका छन्। 

घोषणापत्रमा दैलेखको कोटिलामा मानव निर्मित ताल बनाउँछौँ भन्नुभएको थियो। मानव निर्मित तालको डिपिआरकै काम सुरु गर्नुभएको छैन। कहाँ अड्किएको छ?

त्यो डिपिआरको काम सुरु हुनका लागि हामी दुल्लु नगरपालिकामा गएर दुल्लु नगरपालिकाको कार्यपालिका बोर्ड बैठकमा बसी एउटा समन्वय भएको छ। दुल्लु १० र ११ का वडा अध्यक्ष, यहाँ  १ र ९ का वडा अध्यक्ष, प्रमुख र उपप्रमुखको एउटा समिति गठन गरेका छौँ। अब पञ्चकोसी तालको डिपिआरको काम सुरु हुन्छ। पञ्चकोसी ताल निर्माणका लागि हामीलाई प्रदेशबाट ३५ लाख रुपैयाँ आएको छ। नारायण नगरपालिकाबाट २५ लाख रुपैयाँ विनियोजन भएको छ। छिट्टै काम अगाडि बढाउँछौँ।

तपाईं उपप्रमुख महिला, तपाईंको नगरपालिकाले महिलामैत्री केके कार्यक्रम संचालन गरेको छ?

म महिलाको मात्र उपप्रमुख नभई सबै नगरबासीको उपप्रमुख हुँ। सबै नगरबासीका कामहरूको जिम्मेवारी छ। मैले अघि पनि भनेँ, बाटो, बत्ती, पानी मात्र विकासका काम होइन।महिलाका लागि स्तनपान कक्ष सुरु भयो। असल आमाहरूलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम पनि अगाडि ल्यायौँ। अन्य सीपमूलक कार्यक्रम धेरै पहिलेबाट गर्दै आएका छौँ। टपरी बुन्ने, हाते हुजियारीका कामहरू, एकल महिलाका कामहरू अगाडि बढाइरहेका छौँ। सिलाइ बुनाइका कामहरू अगाडि बढाइरहेका छौँ। प्रत्येक वडामा ती कार्यक्रमहरू सुरु भइरहेका छन्। नीति तथा कार्यक्रमभित्र पनि उहाँहरूको बजेटलाई सम्बोधन गरेर बजेटको व्यवस्थापन पनि गरेका छौँ। 

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले बनाएका कानुनले न्याय सम्पादन गर्न कतिको गाह्रो भएको छ?

त्यति गाह्रोचाहिँ छैन। अधिकार भन्ने हो भने थुप्रै छन्। अहिलेको प्रदेश कानुन नबनिरहेको अवस्थामा उपप्रमुखलाई न्यायिक समितिको संयोजक तोकेर पठाएको छ। हामीलाई १२-१३ वटा मुद्दा मात्र हेर्ने अधिकार दिइएको छ। प्रदेश सरकारले अझै फेरि अर्को कानुन बनाउँदै छ। हाम्रो नारायण नगरपालिकामा कानुनी सल्लाहकार नराखिरहेको अवस्था छ। इजलास पनि छैन। यो न्यायिक समितिका अधिकारहरू केके हुन् भन्ने कुरा पनि मिलिरहेका छैनन्। न्यायिक समितिमा हामी तीन जना छौँ। म संयोजक, दुई जना वडा अध्यक्षहरू सदस्य हुनुहुन्छ। आएका मुद्दाहरू मेलमिलाप गर्दै पठाउँदै गरेका छौँ। कतिपय मुद्दाहरू हामीले लिखित गर्दै पठाउँदै गरेका छौँ। दिनमा चार-पाँचवटा मुद्दाहरू आइरहेका हुन्छन्। यहाँ मुद्दा जसले ल्याएर आउनुहुन्छ, दुवै पक्षलाई बोलाएर मिलापत्र गरेर पठाउने गरेका छौँ। जनतालाई खुसी बनाएर पठाउने काम गरेका छौँ। 

घोषणापत्रमा हरेक वडाका विधालयमा कम्तीमा एक नमुना सार्वजनिक शौचालय निर्माण गरिनेछ भन्नुभएको रहेछ। काम कहाँसम्म पुग्यो?

प्रत्येक विद्यालयमा सार्वजनिक शौचालय छ। अहिले हाम्रो छुट्टै अभियान के छ भने छात्रा र छात्रको छुट्टाछुट्टै शौचालय बनाउने भन्ने हो। हामी यस अभियानमा लागिरहेका छौँ। नगर प्रमुखको संयोजकत्वमा नगर शिक्षा समिति गठन भएको छ। विद्यालय अनुगमन हुन्छ। विद्यालयहरूमा ट्वाइलेट छैन भने हामीले ट्वाइलेट बनाउने बजेटको व्यवस्थापन गरेका छौँ। अब दुई वर्ष होइन, तेस्रो नगरसभाभित्र हामीले यहाँका सबै ११ वटा वडाहरूका विद्यालयमा नमुना सार्वजनिक शौचालय बनाउनेछौँ। 

कार्यकालको चार वर्षमा नारायण नगरपालिकालाई के दिएर जानुहुन्छ?

जनताका इच्छा, आकांक्षा जुन छन, जुन जनताले हामीलाई भोट दिएर जिताउनुभएको छ, उहाँहरूको इच्छाअनुसारका काम गर्न सक्छौँ। चार वर्षको अवधिमा यहाँहरूले देख्न सक्नुहुनेछ। हामीले समृद्ध नगर स्वच्छ नगरबासी बनाउनेछौँ। चक्रपथको अवधारणा छ। यो नारायण नगरपालिकामा चक्रपथको अवधारणा बनाएका छौँ। कोटिलाको पञ्चकोसी ताल बनाउने, कोतगढीहरूको संरक्षण गर्ने, भुर्तीमा रहेको पञ्चदेवललाई पर्यटकीय स्थल बनाउने योजनामा छौँ। पर्यटनका विज्ञहरू आउनुभएको छ, उहाँहरूबाट पनि अवलोकन भइरहेको छ। हामीले यिनै कुराहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। थप जनताका आवश्यकताअनुसार जुन बेला जनतालाई आवश्यकता पर्छ, त्यो कामको सम्बोधन गर्नेछौँ। बाँकी रहेको चार वर्षमा नमुना नगरपालिका बनाएर छाड्नेछौँ।

युवाहरूलाई रोजगार बनाउने, उद्यमशीलता विकास गर्ने भन्नुभएको छ। यसबारे के हुँदै छ?  

हामीले शिक्षाको क्षेत्रमा बजेट व्यवस्थापन गरेका छौँ। युवाहरूलाई विभिन्न तालिमहरू दिएर सर्भेक्षण गरेर के रुचि छ, कसरी युवाहरूलाई विदेश जानबाट रोक्न सकिन्छ, उहाँहरूको रुचिअनुसार के काम गर्न सक्नुहुन्छ बुझ्नेछौँ। कुनै वडामा भैँसीपालन, कुनैमा बाख्रापालन र कुनैमा कृषि खेती, हाउस वाइरिङ तालिम पनि दिएका छौँ। पहिले विकास निर्माणका काम गर्नलाई पनि बाहिरबाट मान्छे ल्याउनुपर्थ्यो। हामीले यहाँका युवाले यही ठाउँमा रोजगारी पाऊन् भन्ने उद्देश्यले विभिन्न रुचिअनुसारका तालिम दिएर रोजगारी दिइरहेका छौँ। 

दैलेख धार्मिक तथा पर्यटकीय हिसावले महत्त्वपूर्ण जिल्ला हो। नगरपालिकाभित्र रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाहरू अहिले ओझेलमा छन्। संरक्षणका लागि केके योजना बनाउनुभएको छ?

हामीले योजना मात्र नभई बजेटको विनियोजन पनि गरेका छौँ। कोतगढीका लागि १० लाख रुपैयाँ नगरपालिकाबाट छुट्याएका छौँ र कोटिला पञ्चकोसी तालका लागि रकम छुट्याएका छौँ। यस्ता कार्यक्रमहरू थुप्रै छन्। कोतगढी, पञ्चदेवल, बेलासपुरलगायतका पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेका छौँ। तत्कालै काम नदेखिए पनि चार वर्षभित्र यी सबै पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्नेछ। पर्यटकहरूको आवतजावतले नारायण नगरपालिकाको आर्थिक विकासमा ठूलो टेवा पुग्ने देखिन्छ र धार्मिक तथा पर्यटकीय स्थलहरूलाई अगाडि बढाएर काम गरेका छौँ। 

नारायण नगरपालिकाभित्र सबै वडाहरूमा खानेपानीको पहुँच पुर्‍याइनेछ भन्नुभएको रहेछ। सबै वडामा खानेपानीको पहुँच छ त? 

कुनै वडामा अहिले पनि खानेपानीको समस्या छ। हामीले दोस्रो नगरसभाबाट ती वडाहरूमा खानेपानीको पहुँच पुर्‍याउनलाई बजेट विनियोजन गरेका छौँ।  केही महिनाभित्र खानेपानीको समस्या समाधान गरी जनतालाई घरघरमा पानी पुर्‍याउनेछौँ। खासमा समस्या भनेको ४ र ५ वडामा छ। प्रदेशबाट पानीको पहुँचबाट छुटेका वडाहरूलाई सम्बोधन गर्नुपर्‍यो भनेका थियौँ। बजेट सम्बोधन भएको छ। छिट्टै काम सुरु गरेर घरघरमा पानी पुर्‍याउँछौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.