प्यूठान : सामान्यतः डाँडाको पखेरोमा घाँस रोपेर भैँसी पालिन्छ। गाई, बाख्रा, भेडालगायतका पशु पालिन्छ। पखेरोमा रोपेको अन्न आदि चरामुसालाई हुन्छ। केही बच्छ, तीन महिना पनि खान पुग्दैन। छोरा, छोरी वा युवा पुस्ता विदेशिनुपर्छ वा कुनै इलम गर्नुपर्ने तर प्युठानको प्युठान नगरपालिका- १० छेपानीका रविलाल रोकामगरले परिवार पाल्नुपरेन बरु पाखो डाँडाको सुन्तला कमलाले ३५ वर्षदेखि पाल्दै आए।
छेपानीमा रहेको पाखो जमिनमा लगाएको सुन्तला, कमलाबाट मनग्य आम्दानी भएपछि ५८ वर्षीय रविलाल रोकामगरले लामो समयदेखि आर्थिक संकट भोग्नुपरेन बरु सामाजिक क्षेत्रमा काम गर्ने अवसर मिल्यो। तीन भाइ छोरा र बुहारी, एक छोरी र उनको बच्चा गरी नौ जना परिवार रहेको उनको घरमा अहिले पाँच जना छन्। पाँच जना रहेको अहिलेको परिवार सुन्तला र कमलाको आम्दानीमा आश्रित रहेको उनी बताउँछन्। ६० वर्ष पहिले रविलालका स्वर्गीय बुबाले एक बोट सुन्तला रोपेका थिए। पछि २०४० सालतिरबाट सुन्तलाको बोट बढाइयो। ‘२०१४ सालदेखिको बाबाले लगाएको बाबाको चिनो अहिले व्यवसाय बनेको छ’, कृषक रविलाल रोकामगरले भने, ‘हाम्रो परिवार पाल्ने यही सुन्तला, कमला हो।’
रविलाल रोकामगरले अहिले आफ्नो नौ रोपनी पाखोमा ३४५ वटा सुन्तलाका बोट रोपेका छन्। करिव १५० बोटबाट राम्रो उत्पादन हुन्छ भने अन्य बोटबाट अर्को वर्षदेखि उत्पादन सुरु हुने उनले जानकारी दिए। रविलाललाई सुन्तलाको बजारको अभाव छैन। बरु प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतीले आफ्नो बोटमा फलेको सुन्तला बजारसम्म पुर्याउने ढुवानी भाडा नि:शुल्क पाएका छन्। रविलालले एक वर्षमा करिव तीन लाख २० हजार रुपैयाँको सुन्तला, कमला बिक्री गर्ने बताए। ‘बजारको त समस्या छैन, थुप्रै साथीहरू यहीँ आउँछन्, केही मेला पर्वमा आफैँ लैजान्छौँ’, रविलालले भने, ‘प्रमुखले ढुवानीको व्यवस्था गरेपछि नाफा राम्रो हुन थालेको छ।’
किसानले उत्पादन गरेको वस्तु गाउँघरमै सस्तो मूल्यमा बिक्री गर्नुपरेकाले अधिक मूल्य लिन प्रोत्साहन हुने नगर प्रमुख कक्षपतिले बताए। उनले बेमौसमी रूपमा बिक्री वितरण गर्न चिस्यान केन्द्र स्थापना गर्न पहल गरेको दाबी गरे। ढुवानीको बन्दोबस्त मिलाएपछि पोहर सालभन्दा तेब्बर फलफूल बिक्री गरी राम्रो आम्दानी लिन पाउने भएको नगर प्रमुख कक्षपतीको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।