|

विराटनगर : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ध्यान कम्युनिष्ट सरकारविरुद्धमा भएको बेला आफ्नै पार्टीका नेताहरू आफूविरुद्धमा लागेको बताए। विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले कांग्रेसलाई विधानअनुसार सञ्चालन गरेका कारण अप्ठ्यारो परेको पनि बताए।

गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई सभापति भएको बेला विधान विपरीत पार्टी चलाउँदा चुइँक्क बोल्न नसक्ने नेताहरू अहिले विधानअनुसार गर्दा आफ्नाविरुद्धमा लागेको देउवाले बताए। ‘विधान अनुसार चलेकै कारण पार्टी बिग्रियो। गिरिजाबाबु भएको बेला विधान अनुसार कहाँ चलेको थियो?,’ देउवाले भने, ‘त्यस बेला गिरिजाबाबु र भट्टराईकाविरुद्धमा चुइँक्क कोही बोल्न सकेको अवस्था थिएन। अहिले पार्टीमा साँच्चै प्रजातन्त्र आएको छ। पार्टीमा विरोध गर्न पाइएको छ।’

कोइराला परिवारका तीन नेताले एउटै माला लगाउनु राम्रो भएको र कसैको विरोधमा वा पक्षमा मोर्चाबन्दी गर्न पाइने बताउँदै सभापति देउवाले अहिले सबैको ध्यान कम्युनिष्ट अधिनायकवादको दिशामा देशलाई लैजान खोजेको विरुद्धमा हुनुपर्ने पनि बताए। ‘तीनै जनाले माला लगाउनु भयो राम्रो भयो। मोर्चा बन्दी गर्न पाइन्छ नि,’ देउवाले भने, ‘प्रजातान्त्रिक पार्टी हो। मेरो खिलाफमा वा पक्षमा मोर्चाबन्दी गर्न पाइन्छ। तर मेरो लडाई एमालेसँग छ। अरुको लडाई मसँग छ के गर्नु मैले।’ 

देशलाई कम्युनिष्ट पार्टीले कब्जा गर्न खोजिरहेको अवस्था रहेको र देश अधिनायकवाद दिशामा गइरहेको बताउँदै उनले राज्यका सम्पूर्ण संयन्त्र आफ्नो हातमा लिने तिर कम्युनिष्टहरू गएको भन्दै यसका विरुद्धमा लड्नुपर्ने देउवाले बताए। ‘हाम्रो सम्पूर्णको ध्यान कम्युनिष्ट पार्टीको अधिनायकवादी र सर्वसत्तावादको ढाँचामा देश जाँदैछ। त्यसकाविरुद्धमा लड्नुपर्ने हो,’ सभापति देउवाको भनाइ थियो, ‘सरकारको खिलाफमा लड्नुपर्ने विचरा मेरा विरुद्ध मोर्चाबन्दी गर्छन्।’

नेविसंघमा काम नगर्ने तर म्याद मात्रै थप्ने गरिएको भन्दै उनले काम पनि गर्न आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.