|

हेटौंडा : सामुदायिक आँखा अस्पताल हेटौंडाले एकदर्जन आँखाको नानी संकलन गरेको छ। गतमाघ महिनाबाट आँखाको नानी संकलन सुरु गरेको अस्पतालले कात्तिक मसान्तसम्ममा एकदर्जन आँखाको नानी संकलन गरेको हो।

'हामीले मृत्युपश्चात् जलेर जाने आँखाको नानी दान गर्नका लागि अभियान चलाएका छौं। जसले गर्दा पछिल्लो समय आँखाको नानी दान गर्नेको संख्यामा बढिरहेको छ। कतिपयले आफ्नो निधनपश्चात् आँखाको नानी दान गर्छौ भनेर घोषणा समेत गरिरहेका छन्’, अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत सुधिर भद्रका अनुसार आँखाको नानी दान गर्न शुल्क लाग्ने छैन। उनका अनुसार हालसम्म हेटौंडा उपमहानगरपालिका ४ सरोज, रामकृष्ण श्रेष्ठ, हेटौंडा २ का सर्गलाल श्रेष्ठ, मंगलकृष्ण मानन्धर, भीमफेदी गाउँपालिका २ का तेजप्रसाद बर्तौला, हेटौंडा ९ का गोपाल सुनवार, हेटौंडा ५ का गोविन्द पुडासैनी, हेटौंडा ९ का श्याम कर्माचार्य, मकवानपुर गढीगाउँपालिकाका प्रेमबहादुर भुजेल, हेटौंडा १० का कृष्णप्रसाद नेपाल र सानुबाबु विष्टको नानी संकलन भइसकेको छ।

‘हामीले संकलन गरेको नानी हेटौंडामा राख्नका लागि आवश्यक व्यवस्था छैन। हामीले २४ घण्टाभित्र काठमाडौं पठाउने व्यवस्था मिलाएका छौं। हेटौंडामा आँखाको नानी प्रत्यारोपण नहुने भएकाले काठमाडौं पठाइएको हो’, उनले भने, उनका अनुसार आँखाको नानी काठमाडौंमा थप परीक्षण गरेपछि तिलगंगा आँखा केन्द्रको नेपाल आँखा बैंकले प्रत्यारोपण गर्नेछ।

२०६५ मंसिर ५ गते स्थापना भएको सामुदायिक आँखा अस्पतालले वार्षिक ७० हजारभन्दा बढीको आँखा परीक्षण गर्ने गरेको छ। दैनिक २५० भन्दा बढीले सेवा लिनेको गरेको बताउँदै उनले वर्षिक चार हजारको आँखाको शल्यक्रिया अस्पतालमा हुने गरेको जानकारी दिए। उनका अनुसार मकवानपुरबाहेक, छिमेकी जिल्ला बारा, पर्सा, रौतहट, चितवन, सिन्धुलीलगायत जिल्लाबाट आँखाको उपचारका लागि विरामीहरु हेटौंडा आउने गरेका छन्। ‘हामीले अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थासँग सहकार्य गरेर गाउँगाउँमा समेत निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरेका छौं’, उनले भने।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.