|

काठमाडौं : सोमबार बिहान नौ बजे बस्ने भनिएको अर्थ समिति बैठक साढे नौ बजे स्थगित भयो एक बजेको लागि बोलाइएको अर्को बैठक दुई बजेसम्म सदस्य पर्खदा पनि कोरम पुगेन। 

बैठकमा राखिएको विषयबस्तु महत्वपूर्ण थियो। बिहान नौ बजेको लागि बोलाइएको बैठकमा सदस्यहरू बस्ने स्थलबाहेकमा अन्य आमन्त्रित सरकारी अधिकारी र पत्रकार बस्ने ठाउँसमेत पुगेन। सानोहल भएको कारण दिउसो लेखा समितिको हलमा अर्को बैठक बोलाइएको थियो। त्यहा पनि अवस्था त्यस्तै रह्यो।

तीन मन्त्री, सात सचिव, महालेखा परीक्षकसहित उच्चतहका कर्मचारीको उपस्थिति रहेको बैठकमा सदस्य नपुगेर बैठक संचालन गर्ने कि बसाल्ने? भन्ने स्थितिमा पुगे समिति सभापति कृष्णप्रसाद दाहाल। झण्डै तीन दर्जन पत्रकारको उपस्थितिसमेत रहेको अवस्थामा सदस्य कुरेर बैठक संचालननै गर्ने तयारी स्वरूत सदस्यहरूलाई फोन गर्न सुरु भयो।

समितिका सचिव सुरेन्द्र अर्याल, समिति सभापति कृष्णप्रसाद दाहाल, समितिसदस्य सत्या पहाडीलगायतले एकसाथ समितिका अन्य सदस्यहरूलाई फोन गरे। कोरम पुग्नै सकेन। बाटोमा आउने प्रतिवद्धता जनाएका सदस्यसमेत गर्दा १२ जना मात्रै पुग्यो। बिहानको बैठकमा नभनिए पनि सदस्य नपुगेकै कारण स्थगित गरिएको थियो।

बैठकका सुरूमा उपस्थित भएका पूर्वप्रधानमन्त्री तथा समितिसदस्य डा. बाबुराम भट्टराईले हाँसो गर्दै भने 'आफू आउदाँ एक जना लिएर आउनु पर्ने अनि ती सदस्यलाई पुरस्कार दिनु पर्ने व्यवस्था गर्नु पर्ने भयो।' हुनपनि बिहानको बैठकमा सातजना सदस्यको मात्रै उपस्थिती भएका कारण स्थगित भयो भने एक बजेको लागि बोलाइएको बैठकमा एक घण्टा पर्खदा समेत १० जना।

कोरम पुग्नको लागि १३ जना आवश्‍यक थियो तर बैठक १० जना पुगेपछि सुरु भयो भने बैठक सकिने बेलामा भने ९ जना सदस्य मात्रै थिए। मन्त्रीहरू पनि पालाे गरी गरी आउदै जादै गरे।

बिहान नौ बजेको लागि बोलाइएको बैठकमा समयमै उपस्थित भएका अर्थमन्त्री डा. युवराज खतिवडा बैठक बोलाइएको समयभन्दा साढे दुई घण्टा ढिला गरी आए फेरि आधाघण्टा बसेर गए।

बैठक सुरू भएपछि एकघण्टा ढिला गरी आएका भौतिक पूर्वधार मन्त्री र समयमै उपस्थित शहरी विकास मन्त्री आफ्नो धारणा राखेपछि बैठक कक्षबाट बाहिरिए। धेरै मन्त्रालयका अधिकारी बोलाइएको कारण प्रश्‍न सोध्ने र उत्तर दिने काम समेत भएन।

काेरम नपुगेको बैठकमा निर्देशन दिने कुरै भएन। तर बैठक संचालनमा समेत समस्या जस्तो देखियो।  बैठकमा सदस्यहरू बोलेको विषयलाई लिएर नेकपाका महासचिव तथा समिति सदस्य विष्णु पौडेललाई समाल्न केन्द्रित भए। बैठकमा समिति सदस्य सत्या पहाडी, रामकुमारी झाक्री र रामकुमार यादवले निकै आक्रोश व्यक्त गरे।

यादवले भने 'बजेट बनउने बेलामा मदिरा सेवन गरेर बनाइएको हो?'। झार्कीले 'बजेट माग्ने र दिनेमा समेतको नियतमै समस्या देखिन्छ' अनि पहाडीले भनिन् बौद्धिक विलासीताका कुरा गर्नको लागि डाकिने बैठकको काम छैन' यी विषयलाई समावेश गर्दै पौडेलले समितमा बोल्दा उचित शव्दको प्रयोग गर्न सभापति मार्फत ध्यानकर्षण गराउछुँ'।

महत्वपूर्ण कुरात सरकारको पुाजीगत खर्च, विकासका योजना गैर बजेटरी छलफल जस्तो महत्वपूर्ण बैठकमा सात मन्त्रालयका अधिकारी र महालेखा परीक्षकसमेत बोलाइदा प्रतिपक्षदल कांग्रेसका कुनै सांसदको उपस्थिती रहेन। महामन्त्री डा. शशांक कोइराला, पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका सात जना कांग्रेस तर्फका सदस्य रहेका छन् तर कसैको पनि उपस्थिति बैठकमा देखिएन। १० बैठक बसेपनि अर्थ समितिमा पटक–पटक यस्तो समस्या देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.