|

बिर्तामोड : पौराणिक कथासँग जोडिएको झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा यसवर्ष पनि गौ कथा (गाईको कथा) महोत्सव आयोजना हुने भएको छ। बालाचर्तुदशीको अवसर पारेर मङ्सिर ६ गतेदेखि १३ गतेसम्म अष्टोत्तरसत श्रीमद् भागवत धेनु मानस सङ्गीतमय गौ कथा महोत्सव एवम् धान्याञ्चल महायज्ञ हुने भएको हो।

गोलोक गोवर्धन गौशाला सताक्षीधामले आयोजना गर्न लागेको महायज्ञको तयारी सुरु भएको समितिले जनाएको छ। समितिका अनुसार प्रचारप्रसारका क्रममा पूर्वका धार्मिकस्थल तथा संस्थाहरुमा पर्चा पम्लेटिङ कार्य भइरहेको छ। सताक्षीधाममा गौ कथा महोत्सव आयोजना भएको यो दोस्रो पटक हो। गतवर्ष पनि गोलोक गोवर्धन गौशालाले सताक्षीधाममा गौ कथा महोत्सवको आयोजना गरेको थियो।

आयोजक समितिका अध्यक्ष नन्दकिशोर भारद्वाजका अनुसार ४५ लाख अनुमानित लागतमा पुराणको आयोजना हुन लागेको हो। पुराण सञ्चालनका लागि ३ सय ५१ सदस्यीय मुल आयोजक समिति गठन भएको छ भने सञ्चार, आर्थिक, स्वागत, खानेपानी तथा सरसफाइ, पूर्वाधार निर्माण, आपूर्ति लगायतका विभागीय समिति पनि गठन भएको अध्यक्ष भारद्वाजले बताए।

पुराणमा वृन्दावनका व्यासाचार्य हरिप्रसाद शास्त्री र पिरपाडा भारतका घनश्याम खनालको प्रमुख कथा वाचकत्व रहने आयोजक समितिले जनाएको छ।

सताक्षीधाममा आयोजना हुने गौ कथा महोत्सवमा अनन्तश्री विभुषित जगतगुरु स्वामी श्री मोहनशरण देवाचार्य जी महाराज चतराधामबाट, अनन्तश्री विभुषित स्वामी भागवताचार्य महाराज माईधारबाट, वेदमूर्ति परमादरणीय आचार्य श्री मेदनीपति मिश्रा युकेबाट, अनन्तश्री विभुषित स्वामी श्री विष्णुवल्लभा नन्द हरिद्वार भारतबाट, अनन्तश्री विभुषित सद्गुरुदेव स्वामी श्री गोपालशरण देवाचार्यजी माहाराज दिल्लीबाट आउने आयोजक समितिले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.