|

बाग्लुङ : पहिरोले थुनिएर बडिगाड खोलामा बनेको कृतिम तालमा जलयात्रा सुरु गरिएको छ। ग्वालीचौरमा चलिरहेको प्रथम बडिगाड महोत्सवलाई लक्षित गरेर आइतबारदेखि जलयात्रा सञ्चालनमा ल्याइएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए।

‘महोत्सवलाई थप आकर्षण प्रदान गर्ने र महोत्सवमा आउने दर्शकलाई जलयात्राको सुविधा दिनेगरी जलयात्रा शुरु गरिएको हो,’ पाईजाले भने, ‘स्थानीयसँग भएको सहमतिअनुसार महोत्सवपछि कानुनी प्रक्रिया पूरा गरी जलयात्रालाई निरन्तरता दिइने छ।’

स्थानीय एक युवाले महोत्सवको अवसरमा तालमा जलयात्रा सञ्चालन गर्ने प्रस्ताव गरेपछि गाउँपालिकाले आइतबार प्रभावित क्षेत्रका स्थानीय र सरोकारवालासँग छलफल गरेको थियो। तत्कालका लागि स्थानीय युवा तमबहादुर बिसीले दुईवटा डुंगा भाडामा लिएर जलयात्रा सुरु गरेका छन्। स्थानीय र सारोकारवालाका बीचमा तालभन्दा तल्लो भागमा तटबन्ध निर्माण गर्ने, प्रभावित क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिको व्यवस्था गर्ने र नियमित रुपमा जलयात्रा सञ्चालन गर्ने सहमति भएको छ।

महोत्सव अवधिभर जलयात्राका लागि गाउँपालिकाले प्रतिव्यक्ति २५० रुपैयाँ शुल्क निर्धारण गरेको छ। तर, डुंगा सञ्चालकले ५०० रुपैयाँ प्रस्ताव गरेको छ। यात्रुलाई मार नपर्ने गरी शुल्क निर्धारण गरिने अध्यक्ष पाइजाले बताए।

गत भदौ २९ राति ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमाना पर्ने तुरतुरेमा खसेको पहिरोले बडिगाड खोला थुनिएर उक्त ताल बनेको हो। ताल १ हजार २० मिटर लामो रहेको छ। पछिल्लो समय ताल हेर्र्न आन्तरिक पर्यटकहरु बढ्दै गएपछि त्यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न गाउँपालिका तथा सरोकारवालाले पहल थालेका हुन्। सुरुमा ताल फुटाउनु पर्ने अडानमा रहेका प्रभावितहरुले समेत सहमति जनाएपछि स्थानीयलाई आयआर्जन हुने हिसाबले व्यवसायिक जलयात्रा गर्ने गरी प्रक्रिया थालिएको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.