|

भक्तपुर : मध्यपुर थिमि नगरपालिका–२, स्थित सानो ठिमी क्याम्पसको १३ रोपनी जग्गा क्याम्पस प्रमुखले मनोमानी ढंगले व्यापारिक प्रयोजनका लागि भाडामा दिएको खुलासा भएको छ। क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले शैक्षिक प्रयोजनका लागि उपयोग गर्नुपर्ने क्वाटर समेत पर्ने गरी गुपचुप रुपमा प्राणनाथ क्याफेलाई दिएको भन्दै क्याम्पसका प्राध्यापकहरुले विरोध जनाएका छन्।

क्याम्पस प्रमुख घिमिरेको संलग्नतामा क्याम्पस प्रशासनले गोप्यरुपमा टेण्डर आह्वान गरी जग्गा भाडामा दिएको भन्दै प्राध्यापकहरुले त्यसको विरोध गरेका हन्। यसविरुद्ध छानविनका लागि अख्तियार जाने तयारी समेत गरिसकेको क्याम्पसका प्राध्यापकहरु बताउँछन्।

क्याम्पस छात्रवासको पूर्वतर्फ काठमाडौं र भक्तपुर जाने सडकसँग जोडिएको र उत्तरतर्फ मगरगाउँ जाने पक्की सडकसँग जोडिएको १३ रोपनी जग्गा गुपचुप रुपमा टेन्डर गरी क्याम्पस प्रमुखले होटल सञ्चालन गर्न प्राणनाथ क्याफेलाई दिएको नेपाल राष्ट्रिय प्राध्यापक संगठनका प्रतिनिधि विष्णुहरि शर्माले दावी गरे। ‘त्यो १३ रोपनी जग्गा क्याम्पसको नाममा छैन, नेपाल सरकारको हो। त्यो जग्गा क्याम्पसको भोगाधिकार लागि भनी दिएको जग्गा हो,’ उनले भने, ‘त्यो जग्गा व्यापारिक प्रयोजनका लागि दिएपछि वातावरण दूषित बनाउँछ। आगामी दिनमा के हुन्छ भन्ने भन्न सक्ने अवस्था छैन, हाम्रो विरोध त्यसका लागि हो।’

क्याम्पस प्रमुख घिमिरेले जग्गा भाडासम्बन्धी टेण्डरको सूचना राष्ट्रिय दैनिकमा प्रकाशित नगरी गत भदौ २६ मा एक स्थानीय पत्रिकामा प्रकाशित गरेका थिए। बजारमा खासै नदेखिने उक्त पत्रिकामा प्रकाशित विज्ञापनको आधारमा टेण्डर हाली प्राणनाथ क्याफेले सो जग्गा भाडामा लिएको बताइएको छ।

क्याम्पस र क्याफेबीच गत असोज १० मा भएको सम्झौतामा प्रतिरोपनी वार्षिक सात हजार १७५ रुपैयाँमा १३ रोपनी जग्गा दिएको उल्लेख छ। सो भाडा रकमलाई मासिक रुपमा भाग गर्दा ५९७ रुपैयाँ ९१ पैसा हुन आउँछ। 

यता, क्याम्पस प्रमुख रामचन्द्र घिमिरे भने प्राध्यापकहरु मिलेर आफुलाई गलत आरोप लगाएको दावी गर्छन्। उनले जग्गा प्रक्रिया पुर्‍याएर प्रतिवर्ष प्रतिरोपनी सात हजार १७५ का दरले भाडामा दिएको बताए।

सानोथिमि क्षेत्रमा बाटोले नछोएको जग्गा तरकारी खेतीका लागि प्रख्यात ठाउँ हो। हाल सो क्षेत्रहरुमा तरकारी खेती गर्दा प्रतिरोपनी १० देखि १५ हजार रुपैयाँ प्रतिमहिनामा भाडा लाग्ने गरेको स्थानीय कृषक कृष्णप्रसाद प्रजापतिले बताउँछन्। अहिले पनि क्याम्पसको जग्गामा स्थानीयहरुले तरकारी खेती गर्दै आएका छन्।

क्याम्पसका तत्कालीन नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेससँग आवद्ध प्राध्यापकले संयुक्तरुपमा विरोधपत्र समेत बुझाइसकेका छन्। विरोधपत्रमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका तर्फबाट विष्णुहरि शर्मा, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघबाट ओमबहादुर रायमाझी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट अम्बरजङ लिम्बू र नेपाल प्रगतिशील प्राध्यापक संगठनका तर्फबाट सोमनाथ ढकालले हस्ताक्षर गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.