'अझै संघर्ष गर्नुछ'

|

कैलाली : दुवै हातमा मोबाइल छन्। दुवै मोबाइलमा फोन आइरहेको छ। एउटा फोनमा कुरा गर्दा अर्कोमा पनि फोन आइरहेको छ। कुरा गरिरहेको फोन राखिनसक्दै सोही मोबाइलमा फोन आइहाल्छ। बिहानैदेखि भ्याइनभ्याइ छ, फोन उठाउन। फोनमा लामो कुरा भइरहेको छैन। मात्रै, 'धन्यवाद हजुर' भनेर राख्न भ्याइरहेकी छन्।

उनी अर्थात्, उमादेवी वादी। मंगलबार बिहान सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा यस्तै व्यस्तताबीच भेटिइन्। उमादेवीको यो व्यस्तता सोमबार बेलायती प्रशारण संस्था बीबीसीले विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाहरूको सूचीमा उनको नाम समावेश गरेसँगै सुरु भएको हो। आज बिहानसम्म आइपुग्दा उनलाई फोनमार्फत देश र विदेशबाट आइरहेका बधाई थाप्न भ्याइनभ्याइ भएको थियो।

सुदूरपश्चिम प्रदेशको प्रदेशसभा सदस्यसमेत रहेकी उमादेवी वादीलाई वादी समुदायमा अधिकारका लागि सचेतना भएको र जातीय छुवाछुतविरुद्धको अभियानमा सक्रिय रहेको भन्दै बीबीसीले संसारभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूचीको १०औँ नम्बरमा राखेको छ।

पढ्नुस्ः

प्रदेशसभा सदस्य हुँदाको भन्दा बढी शुभकामना र बधाई

उमादेवी वादीको यहीँ व्यस्तताबीच विश्वको १०० महिलाको सूचीमा समावेश भएपछिको अनुभवबारे जान्न थाहाखबर उनलाई भेट्न पुगेको थियो। नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभामा समानुपातिक सांसद हुन् उनी। मुलुककै पहिलो वादी सांसद भएपछि पनि उनलाई शुभकामना र बधाइको ओइरो लागेको थियो। तर त्योभन्दा पनि बढी शुभकामना र बधाई अहिले आइरहेको उनले सुनाइन्। ‘अहिले फोन उठाउनै धौँ–धौँ भएको छ। बाटोमा देख्ने बित्तिकै पनि रोकेर बधाई दिइरहनु भएको छ’, उनले भनिन्, ‘त्योबेला भन्दा अहिले धेरैले सम्झिए जस्तो लागेको छ।’

बीबीसीको विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाहरूको सूचीमा आफू पनि समाबेश भएको खबर उनले सोमबार साँझ ६ बजेतिर थाहा पाएकी थिइन्। ‘मलाई बीबीसी नेपाली, काठमाडौंको एकजना बैनीले फोन गर्नुभएको थियो। शुभकामना र बधाई दिँदै 'तपाईं बीबीसीको १०० प्रभावशाली र प्रेरणादायी महिलाहरूको सूचीमा पर्नुभयो' भन्नुभयो। त्यो बेला मैले केही बुझिनँ’, उमाले भनिन्, ‘त्यसलगत्तै मलाई फोनको ओइरो सुरु भयो।’

उमादेवीले थाहाखबरसँगको कुराकानीमा बीबीसीको सूचीमा परेपछिको अवस्थाबारे थप व्याख्या गरिन्, ‘हिजो साँझ ६ बजेपछि फोन आउन थाल्यो। राति ११ बजेसम्म उठाएँ, फेरि बिहान ५ बजे देखि आउँदै छ, अहिले पनि उठाएर धन्यबाद हजुर भनिरहेकी छु।' उनी फेरि फोनमै लागिन्, 'हेर्नुहोस् त फेरी अर्को फोन आयो’ बाँया हातमा रहेको मोबाइल देखाउँदै उनले भनिन्।

सगरमाथाको चुचुरोमा पुगेझैँ लागेको छ’

‘मानिसहरू सगरमाथाको चुचुरोमा पुग्दा कति खुसी हुन्छन् होला? त्यो मलाई थाहा छैन तर, मलाई आज त्यो भन्दा बढी खुसी मिलेको छ।’ उमादेवीले भावुक हुँदै भनिन्, ‘एउटा दलित समुदाय, त्यसभित्र पनि वादीकी छोरीलाई संसारले चिन्ने भयो, योभन्दा ठूलो मेरा लागि के हुन सक्छ र!’

फिरन्ते जीवनबाट आएकी उनले यो सफलता कहिल्यै मिल्ला भन्ने कल्पना नगरेको बताइन्। आफूले गरेको संघर्ष व्यक्तिगत सफलताका लागि मात्रै होइन भन्छिन् उनी।

राजपरिवार कहाँ हुने उत्सव र चाँडबाँडमा नाचगान गर्ने। नाचगान गरेवापत जिन्सी र नगद लिने सोहीबमोजिम दैनिक गुजारा गर्ने समुदायकी एक महिला संसारको १० जनाभित्र पर्दा अहिलेसम्मकै बढी खुसीको क्षण भएको उमादेवीले बताइन्। ‘हाम्रो समयुदायको उत्थानका निम्ती हामीले लडेको लडाइको प्रतिफल हो’, उनले भनिन्, ‘यो सफलता मेरो होइन, त्यो लडाइमा साथ दिनुहुने सबै वादी दिदीबहिनीको हो।’

‘कतिपय वादी महिलाहरू बाध्यात्मक यौन पेसामार्फत जीविकोपार्जन गर्थे। त्यही क्रममा उनीहरूबाट बच्चा जन्मिन्थे। ती बच्चाहरूको बाबुको पहिचान हुँदैनथ्यो। बाबुको पहिचान नभएपछि बच्चाहरूले नागरिकता पाउन सक्दैनथे', यो खुसीको क्षणमा उमा विगतका पीडादायी दिन व्याख्या गर्नतिर लागिन्, 'नागरिकतामा बाबुको नाम उल्लेख हुनुपर्ने अनिवार्य कानुनी व्यवस्था थियो। वादी समुदायका अधिकांश व्यक्तिहरू नागरिकताविहीन थिए। उनीहरू नागरिकता नभएकै कारण शिक्षा–दीक्षा र रोजगारीबाट बञ्चित थिए। हामीले त्यसैको निम्ति संर्घष गर्‍यौँ।’

सम्मानले संघर्षका लागि प्रेरणा दिएको छ’

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले २०६५ पुस २३ गते यौन पेसामा लागेका वादी महिलालाई आत्मसम्मानका साथ पुनर्स्थापना गर्ने निर्णय गरेको थियो। तर, अहिलेसम्म ठूलो संख्यामा वादी महिलाहरूको पुनर्स्थापना हुन सकेको छैन। सरकारको लापर्बाही र ढिलासुस्तीले अझै पनि आफूहरूको समुदायका महिला कष्टपूर्ण जीवन बिताउन बाध्य रहेको उनी बताउँछिन्।

उनले भनिन्, ‘मलाई जुन सम्मान मिलेको छ। यसले हौसाउने भन्दा पनि प्रेरणा मिलेको छ। मेरा समुदायका महिलाहरूले भोग्नु परेको समस्यालाई निराकरण गर्न अझै संघर्ष गर्नुछ।’

२०६४ असार १७ गते आन्दोलनको नेतृत्व गरेर काठमाडौं पुगेकी उनी वादी महिलाहरूको मुक्तिका लागि सिंहदरबारको गेटमा झुण्डिएकी थिइन्। सरकारले आफूहरूको समुदायका विषयमा गम्भीर नभए फेरि पनि त्यस्तो अवस्था दोहोरिने उनले चेतावनी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.