|

काठमाडौं : फिल्म 'रुद्र'बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी नायिका हुन्, सारा शिर्पाली। सुन्दरी सारालाई फिल्म क्षेत्रमा सम्भावना बोकेको नायिकाको रुपमा हेर्ने गरिन्छ। साराले 'रुद्र'पश्चात् दुई फिल्ममा काम गरिसकेकी छिन्। उनी अभिनित 'पिंजडा ब्याक अगेन' प्रदर्शन भइसकेको छ भने 'सुश्री सम्पत्ति' प्रदर्शनको तयारीमा छ।

सारालाई सानैदेखि फिल्ममा अभिनय गर्ने सोच थियो। मिस टिन २०१२ को फस्ट रनरअप भएसँगै यस क्षेत्रमा झनै रुचि बढ्दै गएको थियो। उनी भन्छिन्, 'मलाई डान्स एकदमै मन पर्थ्यो। त्यसैले पनि होला फिल्ममा विशेष रुचि थियो।'

साराले केही वर्ष लण्डनमा बिताइन्। लण्डनमा रहदाँ पनि उनले म्युजिक भिडियोहरु गरिरहेकी हुन्थिन्। 'लण्डनमा हुदाँ म्युजिक भिडियोहरू गरिरहेकाले पनि होला, नेपाल आएको बेला फिल्ममा 'ट्राइ' गर्छु भन्ने थियो।'

नेपाल आएपछि साराले चाहे जस्तै भयो। सारालाई 'रुद्र'को अफर लिएर वितरक गोपालकाजी कायस्थ उनी कहाँ पुगे। पारिवारिक चिनजानका कारण पनि गोपालले सारालाई फिल्मको प्रस्ताव गरेका थिए।

अडिसनको तेस्रो दिन सुटिङमा

फिल्मको अफर आएको केही दिनमा नै उनले रुद्र निर्देशक रामजी लामिछानेलाई भेटिन्। साराले त्यहाँ अडिसन दिनुपर्ने भयो। उनले अडिसन पनि दिइन्। अडिसन दिएको तेस्रो दिनमा नै सुटिङ सुरु भयो। 'अडिसन दिए। सेलेक्ट पनि भए। तर, केही तयारी बिना नै एडिसन दिएको भए पनि तेस्रो दिनबाट छायांकनमा जानुपर्‍यो।'

'रुद्र'मा एक्सन स्टार निखिल उप्रेती पनि मुख्य भूमिका रहेको थियो। फिल्ममा नाम चलेको स्टार रहदाँ सारामा खुसी र डर उत्तिकै थियो। अनुभवी र स्टार कहलिएको कलाकारसँग काम गर्न पाउँदा धेरै कुरा सिक्न पाइने खुसी उनीमा थियो। र डर यसअर्थमा थियो, निखिलले आफूलाई हेप्ने हुन् कि!

साराले निखिललाई सोचेको भन्दा ठीक उल्टो पाइन्। उनी भन्छिन्, 'निखिलजीबाट हेपिने डर थियो। तर, उहाँ त एकदमै इमानदार र मिहिनेती व्यक्तित्व, कसैसँग ठूलो स्वरमा कुरा नगर्ने। एक्सन स्टार भनेर जुन मेरो दिमागमा एउटा इमेज बनेको थियो त्योभन्दा एकदमै फरक पाएँ। काम गर्न एकदमै सजिलो भयो।'

मनाङमा तीन दिनसम्म दौडिने सीन

'रुद्र'को पहिलो सीन मनाङमा खिचिएको थियो। त्यहाँ सारा दौडिनु पर्ने सीन थियो। उनी सम्झिन्छिन्, 'फिल्मको पहिलो सट मनाङमा खिचिएको थियो। हामीलाई गुण्डाले लखेट्ने र म र विश्व दौडिनुपर्ने दृष्य थियो।' सारालाई दौडिन किनै गाह्रो भएको थियो। लोकेशनका कारण पनि उनलाई समस्या भइरहेको थियो। 'म दौडिँदा लडेकी पनि थिए', उनी सुनाउँछिन्।

साराले १ सातासम्म डाइलग बोल्न पाएकी थिइनन्। 'तीन दिन दौडिन लाग्यो', उनी भन्छिन्, 'मैले त एक साता पछि मात्र डाइलग बोल्न पाएकी थिएँ।' एक सातापछि डाइलग बोल्न पाउँदा पनि आफूलाई फाइदा नै भएको उनी बताउँछिन्। 'केही हदसम्म भए पनि 'युज टु' भइसकेकी थिएँ। त्यसैले एक सातापछि डाइलग बोल्दा राम्रो काम गर्न सकियो।'

'रुद्र'कै कारण फिल्ममा काम पाइरहेकी छु

रुद्र रिलिज भयो। तर, यस फिल्मले तहल्का पिट्न भने सकेन। फिल्मले सिंगल थिएटरमा दर्शक पाए पनि मल्टिप्लेक्समा दर्शक पाएन। तर, फिल्म हेरेका धेरैले साराको कामको प्रशंसा नै गरे। सारा भन्छिन्, 'फिल्म व्यापारिक रुपमा हिट नभए पनि मेरो कामको भने प्रशंसा नै गर्नुभएको थियो। त्यसमा खुसी थिए।'

तर, सारा रुद्रलाई विशेष मान्छिन्। कारण, फिल्म क्षेत्रमा डेब्यु गराएर अनुभव दिएको छ। उनी भन्छिन्, 'यसै फिल्ममा डेब्यु गर्नाले अरु फिल्ममा पनि काम गर्ने अवसर पाएको छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.