|

विराटनगर : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको टिकट वितरणमा गल्ती भएको बताए।

विराटनगरमा मंगलबार आयोजित नेपाली कांग्रेस महासमितिको बैठक २०७५ का लागि प्रस्तुत हुने राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलन कार्यक्रममा बोल्दै देउवाले जिल्ला समितिबाटै स्थानीय तहका उम्मेदवार तय गर्ने भनिएको भए पनि पछि दबाब पर्दा समस्या भएको बताए।

स्थानीय तहको निर्वाचनमा जिल्लालाई टिकट वितरण गर्न दिने भन्ने विषयमा केन्द्रीय समतिले पास गरेको भए पनि प्रेसरका कारण अन्तिममा आफू पनि अडिन नसकेको देउवाले बताए। ‘पार्टीलाई अन्तरघातबाट मुक्त पार्टी बनाउनुपर्छ। टिकट वितरणमा समस्या भएको भए आन्तरिक हिसावले लड्न सकिन्छ,’ देउवाले भने, ‘स्थानीय तहको चुनावमा टिकट वितरणको जिम्मा जिल्लालाई दिने भन्ने विषयमा केन्द्रीय समतिले पास गरेकै हो। जिल्ला कार्यसमितिलाई कुन गाउँमा कसले जित्छ भन्ने कुरा थाहा हुन्छ। तर काठमाडौंलाई कहाँ थाहा हुन्छ र? तर पास गरेकै कुरामा म पनि अडिन सकिन। केही साथीहरूले प्रेसर गरेर हस्तक्षेप गर्नुपर्‍यो।’

स्थानीय तहको विषयमा केन्द्रमा बसेर निर्णय गर्दा समस्या भएको र आफ्नै जिल्लाको अवस्था पनि आफूलाई थाहा नहुँदा हार व्याेहोरेको देउवाले बताए। ‘कहाँ थाहा हुन्थ्यो र? मलाई मेरै जिल्लाको थाहा हुँदैन। थाहा नभएकै कारण कुन हालत भयो हेर्नुहोस् त,’ देउवाले भने। देउवाले कम्युनिष्ट अधिनायकवाद विरुद्धमा आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन पनि दिए। ‘कम्युनिष्ट सरकारले न्यायालय, प्रहरी, सेना सबैलाई कब्जा गर्न हस्तक्षेप गरिरहेको छ,’ सभापति देउवाले भने, ‘मैले पहिलेदेखि नै भन्दै आएको छु, देश अधिनायकवादको दिशामा गएको छ, त्यसका विरुद्धमा आन्दोलन गर्न तयार हुनुहोस्।’

सभापति तथा केन्द्रीय सदस्यहरूको कुरा सुनिसकेपछि आफ्ना कुरा राख्दै पार्टी सभापति देउवाले नेकपा एक भएको, निर्वाचनमा टिकट वितरणमा समस्या हुँदा पार्टीले पराजय व्याेहोरेको पनि बताए। पार्टीमा अनुशासन नभएको भन्दै यसअघि सम्पन्न निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने देउवाको भनाइ थियो। देउवाले महिला हिंसा अन्त्य नभएको, निर्मला पन्तको हत्यामा संलग्नलाई सरकार आफैंले जोगाउने प्रयास गरेको पनि देउवाको आरोप थियो। 

कार्यक्रमका अवसरमा जिल्लास्तरका नेताहरूले भने नेतृत्वको असक्षमताका कारण पार्टी कमजोर बनिरहेको भन्दै खबरदारी गरेका छन्। पार्टी सभापति देउवा उपस्थित कार्यक्रममा नेताहरूले गुटबन्दी अन्त्य गर्न पनि नेतृत्वलाई सुझाव दिए। मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बूले नेतृत्व एकलौटी ढंगले अगाडि बढ्नु नहुने बताए। उनले नेतृत्व सानो दायराबाट अगाडि बढ्न खोजेको आशंका बढेको भन्दै मस्यौदा समितिलाई नेतृत्वले कुन रुपमा लिन्छ भन्ने विषयमा आम कार्यकर्तामा जिज्ञासा र चासो रहेको बताए।

‘सभापति कुन रुपमा जानुहुन्छ। तल्लो स्तरका कार्यकर्ताको भावनालाई विधानमा समेट्नु हुन्छ कि हुँदैन भन्ने विषयमा तल्लो तहमा जिज्ञासा छ,’ लिम्बूले भने। यस्तै कांग्रेस भोजपुरका सभापति नन्दमणि राईले सभापतिले सही निर्णय लिनुपर्ने र गुट मात्रै ध्यान दिनु नहुने बताए। पार्टी सभापतिले अभिभावकको हिसावले काम गर्नुपर्ने र भएको अधिकारलाई सबैको मन र भावना समेटेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। 

कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की र शेखर कोइरालाले कांग्रेसले अब खेल्नुपर्ने भूमिका महत्वपूर्ण हुने भन्दै सोही अनुसार पार्टीको विधान निर्माण गर्नुपर्नेमा जोड दिए। पार्टी सभापतिको आलोचनामा नेताहरू लागिरहेको सन्दर्भ कोट्याउँदै नेता कार्कीले नेतृत्वको विषयमा महाधिवेशनमा लडाईं गर्न पनि अाग्रह गरे। तर उनले अहिले पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह  पनि गरे। डाक्टर कोइरालाले भने देश संघीयतामा गइसकेको परिस्थितिमा पार्टीको विधान कस्तो बनाउने भन्ने विषयमा सबैले सुझाव दिनुपर्ने बताए। 

कार्यक्रममा १ नम्बर प्रदेशभरिका नेपाली कांग्रेसका जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्यहरू, पार्टीका केन्द्रीय नेता  र स्थानीय तहका कांग्रेसबाट विजयी भएका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति थियो।

कार्यक्रमको बन्द सत्रबाट कांग्रेसको विधान मस्यौदा समितिले निर्माण गरेको राजनीतिक प्रस्तावमाथि छलफल गर्ने र आवश्यक सुझाव केन्द्रलाई पठाउने कांग्रेसले बताएको छ। ७ वटै प्रदेशका सुझावका आधारमा एउटै धारणा बनाएर मंसिर २८ गते बस्ने महासमितिको बैठकमा उक्त मस्यौदा पेश गर्ने कांग्रेसको तयारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.