|

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलको स‌ंयोजक अब राजेन्द्र महतो हुने भएका छन्। एकताताका भएको नेतृत्व चक्रीय प्रणालीअनुसार गर्ने सहमितका आधारमा संयोजकको जिम्मेवारी महतोले पाउने भएका छन्। 

राजपा अध्यक्ष मण्डलको मंगलबार बसेको बैठकले महतोलाई बुधबारबाट संयोजकको जिम्मेवारी दिइने निर्णय भएको पार्टी महासचिव तथा प्रवक्ता केशव झाले जानकारी दिए। ‘अध्यक्ष मण्डलको बैठकले पार्टी नेतृत्वको जिम्मेवारी अहिलेसम्म गर्नुभएकोमा महन्थ ठाकुरप्रति अभार प्रकट गर्ने निर्णय गरेको छ’, उनले भने, ‘अब भोलिबाट संयोजकको जिम्मेवारी राजेन्द्र महतोले सम्हाल्नुहुनेछ।’ 

पछिल्लो समय ठाकुरको जिम्मेवारीलाई लिएर पार्टीभित्र विवाद सुरु भएको थियो। ठाकुरले पार्टीभित्र कुनै ठोस निर्णय लिन नसकेको आरोप लाग्ने गरेको थियो। यसअघि छ पार्टी एक हुँदा चक्रीय प्रणालीअनुसार प्रत्येक दुई महिनामा संयोजक परिवर्तन हुने सहमति भएको थियो। तर उक्त निर्णय कार्यन्वयन नहुँदा ठाकुर करिब डेढ वर्ष अध्यक्ष मण्डलको संयोजक भए। 

महतोलाई संयोजक बनाउने निर्णय पनि राजपाले सर्वसम्मत गर्न सकेन। उक्त निर्णय राजपा अध्यक्ष मण्डलको बैठकमा बहुमतको अधारमा भएको बताइएको छ। चक्रीय प्रणाली लागू भएसँगै अध्यक्ष मण्डलमा रहेका छ नेता पालैपालो संयोजक हुनेछन्। अध्यक्ष मण्डलमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादव छन्।

पछिल्लो समय राजपाभित्र अध्यक्ष मण्डलका संयोजक ठाकुरले एकलौटी ढंगबाट पदाधिकारी थपेको भन्दै विवाद चुलिएको थियो। उक्त विवादका कारण पार्टी लामो समयदेखि अनिर्णयको बन्दी बन्दै आएको छ। मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले एकतापछि मनोनीत गरेको पदाधिकारी खारेज गर्ने निर्णय गरेको छ।

‘बैठकले एकता हुँदा निर्वाचन आयोगमा पठाइएको पदाधिकारी संख्यालाई अधिकारिक मनिने निर्णय गरेको छ’, महासचिव झाले भने। एकताका बेलामा राजपाले १३४ जना पदाधिकारीको नाम निर्वाचन आयोगमा पठाएको थियो। पछिल्लो समय ठाकुरले भने ५० जना पदाधिकारी र १०० बढी केन्द्रीय समितिमा मनोनीत गरेका थिए। उक्त पदाधिकारी र केन्द्रीय सदस्यको रेकर्ड नै नराखेको राजपा स्रोतले बताएको छ।

महतो अध्यक्ष मण्डलको संयोजक भएसँगै राजपा नेताहरूले अब सरकारका विषयमा पनि केही निर्णय लिनसक्ने अपेक्षा गरेका छन्। सरकारका विषयमा भने अब बस्ने अध्यक्ष मण्डलको बैठकले निर्णय गर्ने झाले बताए। ‘अहिलेको मुख्य काम भने पार्टीलाई चलायमान बनाउनु थियो’, उनले भने, ‘अब बस्ने बैठकले सरकारका बारेमा निर्णय लिन्छ।’

पार्टीको अध्यक्ष मण्डलले आफूखुसी निर्वाचन आयोगमा अध्यक्ष मण्डल रहने गरी विधान बुझाएको भन्दै दोस्रो तहका नेताहरू असन्तुष्ट छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.