|

दाङ : चाडपर्वलाई मध्येनजर गर्दै ल्याइएको सहुलियत मूल्यको ७९ क्विन्टलमात्रै चामल बिक्री भएको छ। नेपाल खाद्य संस्थान अञ्चल कार्यालय राप्तीले चाडपर्वलाई लक्षित गरेर ५०० क्विन्टल सहुलियत मूल्यको चामल बिक्री गर्न ल्याएको थियो।

चाडपर्वलाई मध्यनजर गरी संस्थानले गत असोज १७ गतेदेखि कात्तिक २८ गतेसम्म  जम्मा ७९ क्विन्टल मात्रै सहुलियत मूल्यको चामल बिक्री भएको संस्थानले जनाएको छ। ५०० क्विनटल चामलमध्ये ७९.३५ क्विन्टलमात्रै बिक्री भएको संस्थानका सूचना अधिकारी नहकुल चौधरीले जानकारी दिए। उनका अनुसार सोना मनसुली २० क्विन्टल १० किलो र जिरा मसिनो ५९ क्विन्टल २५ किलो बिक्री भएको हो।   ग्राहकलाई सस्तोमा चामल उपलब्ध गराउने उद्देश्यले सस्तोमा चामल बिक्री शुरु गरिएको भएता पनि ग्राहकले नै सहुलियत मूल्यको चामल किन्नेतर्फ चासो नदेखाएको उनले बताए।

दाङमा उल्लेख्य मात्रामा धान उत्पादन हुने, खाद्य संस्थानबाट ग्रामीण क्षेत्रमा लैजादा उत्तिकै मूल्य पर्न जाने भएकाले पनि संस्थानभन्दा स्थानीयस्तरबाटै नै उपभोक्ताले चामल खरिद गर्ने गरेको सूचना अधिकारी चौधरीले बताए। यसले गर्दा पनि खाद्य संस्थानको चामल बिक्री नभएको उनको भनाई छ। संस्थानले क्विन्टलमा ५०० रुपैयाँ सस्तोमा बिक्री गर्दै आइएको उनले बताए।

जिरा मसिना २५ केजीको प्रतिबोरा एक हजार २९५ रुपैयाँ र सोना मनसुली ३० केजीको प्रतिबोरा एक हजार २५० रुपैयाँमा बिक्री भइरहेको कार्यालयले जानकारी दिएको छ। अब भने संस्थानले बाँकी रहेको चामल पूरै मूल्यमा बिक्री गर्ने जनाएको छ। यस वर्षदेखि अञ्चल कार्यालय दाङले सहुलियत मूल्यमा चामल उपलब्ध बनाउन थालेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.